close

रुस-युक्रेन युद्धका कारण ईभीमा प्रयोग हुने ब्याट्रीको मूल्य १५ प्रतिशतसम्म बढ्नसक्ने

टेकपाना टेकपाना

जेठ ११, २०७९ १८:१

रुस-युक्रेन युद्धका कारण ईभीमा प्रयोग हुने ब्याट्रीको मूल्य १५ प्रतिशतसम्म बढ्नसक्ने

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धले आपूर्ति श्रृङ्खलामा प्रभाव पारेपछि विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको मूल्य बढ्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । इन्टरनेसनल इनर्जी एजेन्सीले बजारमा आपूर्ति श्रृङ्खलामा युद्धले पारेको प्रभाव तथा कच्चा पदार्थमा भएको मूल्यवृद्धिका कारण विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको मूल्य १५ प्रतिशतसम्म बढ्नसक्ने बताएको छ । 

पेट्रोल तथा डिजेलबाट चल्ने गाडीहरूको विकल्पको रूपमा रहेको विद्युतीय सवारी प्रति प्रयोगकर्ताहरू आकर्षित भइरहेका छन् । प्रयोगकर्ताको सङ्ख्या बढ्ने क्रममा रहेकै बेला विद्युतीय गाडीहरू महँगिँदै गइरहेका छन् ।

यसले सवारीको बिक्रीमा असर पुर्‍याउन सक्ने टेलिग्राफले उल्लेख गरेको छ । रुस र युक्रेनबीचको युद्धले ब्याट्रीमा प्रयोग हुने निकल, कोबाल्ट लगायतका कच्चा पदार्थहरूको आपूर्तिमा प्रभाव पर्दा ब्याट्रीको मूल्यवृद्धि हुने अनुमान गरिएको हो ।

विश्व बजारमा ब्याट्रीमा प्रयोग हुने निकल धातुको उत्पादन तथा आपूर्तिमा २० प्रतिशत हिस्सा रुसको छ ।  यसका साथै ब्याट्रीको लागि आवश्यक आल्मुनियमको धेरै आपूर्ति पनि रुसले नै गर्छ । 

अर्कोतिर ब्याट्रीको लागि सबैभन्दा महत्त्वपूर्ण तत्त्व लिथियमको उच्च मागले यसको आपूर्तिमा कमी आइरहेको छ । यो माइनिङ गरेर निकाल्नुपर्ने एक प्रकारको धातु हो, जसको उत्खनन गर्न वर्षौ लाग्छ । यस्तोमा प्रत्येक दिन बढिरहेको लिथियमको मागलाई आपूर्तिले नधान्न पनि सक्छ । 

विश्वमा विद्युतीय गाडीको माग पनि त्यति नै बढेको छ । त्यस्तै सन् २०२१ मा विश्व बजारमा विद्युतीय कारको बिक्री १० प्रतिशतले बढेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२