close

फोन पे डिजिटल इकोनमी कन्क्लेभ आयोजना हुँदै, यस्ता छन् बहसका विषय

टेकपाना टेकपाना

जेठ १२, २०७९ २०:३८

फोन पे डिजिटल इकोनमी कन्क्लेभ आयोजना हुँदै, यस्ता छन् बहसका विषय

काठमाडौं । फोन पे डिजिटल इकोनमी कन्क्लेभको दोस्रो संस्करण आउँदो जेठ २० गते शुक्रबार आयोजना हुने भएको छ । मुलुकको अर्थतन्त्र तीव्र रूपमा डिजिटाइजेसन तर्फ गइरहेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।

ब्राण्डवर्थ प्रालिको आयोजनामा हुने कार्यक्रममा डिजिटलाइजेसनले पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरूका विषयमा सरोकारवालाहरूसँग छलफल हुनेछ । कोभिड १९ महामारीले विश्वलाई दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीको अवस्थामा पुर्‍याइदिएको ।

सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८/०९ को आर्थिक सङ्कटको भन्दा दुई गुणा बढी संकुचित भएको छ । तर विश्वको डिजिटल अर्थतन्त्र भने कोभिड सङ्कटकै बीच उच्च दरले फस्टाएको छ । कोभिड महामारीकै बीच खर्बौं डलरको कारोबारले डिजिटल माध्यमबाट भएको थियो ।

डिजिटल अर्थतन्त्रले इन्टरनेट, फिक्स्ड र मोबाइल ब्रोडब्याण्ड इन्फ्रास्ट्रक्चर, क्लाउड कम्प्युटिङ, डिजिटल प्लेटफर्म लगायतका माध्यमबाट आफ्नो व्यवसाय गर्ने उत्पादक र उपभोक्तालाई जनाउँछ । कुनैपनि राष्ट्रको यो उद्योगमा प्रविधि, टेलिकम, मिडिया क्षेत्रका साथै नयाँ सेवाहरू, ई-कमर्स र डिजिटल बैंकिङ जस्ता गतिविधिहरू समेत समावेश भएका हुन्छन् ।

कृषि, यातायात, स्वास्थ्य, पर्यटन, शिक्षा जस्ता धेरै परम्परागत व्यवसायले समेत प्रविधिलाई आत्मसाथ गरिरहेको छ । जसको प्रभाव नेपालमा पनि देखिएको छ ।  कोभिड १९ पश्चात नेपालीहरूमा समेत डिजिटल प्रविधिको आत्मसाथ गर्ने क्रम बढ्दै भएको छ । ई-कमर्स, डिजिटल भुक्तानी, अनलाइन शिक्षा जस्ता विषय सामान्य हुँदै गएका छन् । 

परम्परागत रुपमा व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रूपान्तरण गर्दै लगिरहेका छन् । नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय भुक्तानी प्राथमिकतामा राख्न बाध्य बनाएको छ । जसको प्रतिफल डिजिटलाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अङ्गको रुपमा स्थापित हुँदैछ ।

त्यसैले कोभिड १९ प्रभावबाट सामान्य हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटलाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि सहयोग पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले यो कन्क्लेभ आयोजना गर्न लागिएको हो । 

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपालः सानो बजार कि असीमित सम्भावना ?’ तथा ‘ नेपाली युनिकर्न पहिचान कहिले होला ?’ भन्ने विषयमा विभिन्न चार ओटा शत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ ।

यी शत्रहरूमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू,  नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधिहरूको ब्यापक सहभागिता रहनेछ । कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोष र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुख्य प्रस्तुति रहने छ ।

साथै नेपालको डिजिटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको छुट्टै शत्र समेत सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२