close

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नै नआउने समस्या 

टेकपाना टेकपाना

जेठ १७, २०७९ ११:५३

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा ओटीपी कोड नै नआउने समस्या 

काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनमा पुनः समस्या आएको छ । पछिल्लो पटक सोमबारदेखि खुलेको अनलाइन आवेदनका क्रममा ओटीपी कोड नै नआउने अथवा आए पनि धेरै समय पछि मात्र आउने समस्या देखिएको हो ।

चैत १ गते देखि बन्द रहेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि सुरु भएपनि धेरै सेवाग्राहीहरूले ओटीपी कोड नै नआएको गुनासो गरेका छन् । सोमबारदेखि सुरु भएको अनलाइन आवेदन प्रणालीमा आवेदन प्रकृया पनि नयाँ छ ।

पहिलेको प्रणालीमा सेवाग्राहीले सोझै आवेदन फाराम भर्न सक्ने अवस्था रहेको थियो भने अहिले नयाँ प्रणालीमा सेवाग्राहीले सुरुमा आफ्नो व्यक्तिगत विवरण सहित विस्तृत प्रोफाइल नै बनाउनु पर्ने हुन्छ ।

यसका लागि आफ्नो सामान्य विवरण राखेपछि प्रणालीबाट सेवाग्राहीको युजरनेम र पासवर्ड क्रियट गर्नु अघि प्रमाणीकरण स्वरूप उपलब्ध गराइएको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ। उक्त ओटीपी कोड बिना आवेदन प्रणालीमा अगाडिको प्रकृया थाल्न सकिँदैन ।

सेवाग्राहीलाई भने यही ओटीपी कोड पाउन सास्ती भइरहेको छ । विभागले भने नयाँ प्रणाली सुरुवाती चरणमा रहेको र धेरै आवेदन एकैपटक आउँदा यस्तो समस्या आएको बताएको छ । “धेरै सेवाग्राही लामो समयदेखि यसको पर्खाइमा छन् । खुल्ने बित्तिकै धेरै आवेदन एकैचोटी पर्दा ट्राफिक बढी भएर कोड जान ढिलाई भएको हुनसक्छ । यसमा हाम्रो प्राविधिक टिमले काम गरिरहेको छ,” टेकपानासँगको कुराकानीमा विभागका प्रवक्ता इश्वरी दत्त पनेरूले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४