close

स्टार्टअप फेस्ट आयोजना हुँदै, जुट्यो ५० करोड लगानी

टेकपाना टेकपाना

जेठ १८, २०७९ १४:४३

स्टार्टअप फेस्ट आयोजना हुँदै, जुट्यो ५० करोड लगानी

काठमाडौं । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप) को प्रवर्द्धनका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आयोजनामा नेपाल स्टार्टअप फेस्ट आयोजना हुने भएको छ । आगामी जुन २५ मा होटेल सोल्टीमा आयोजना हुने फेस्टमा करिब तीन हजार स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकार आदिको सहभागिता रहने बताइएको छ ।

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।  स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै सीएनआईवाईईएफले  त्यसको कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्ने इच्छा समेत व्यक्त गरेको छ ।

स्टार्टअप फेस्टमा स्टार्टअप्सले लगानीका लागि प्रस्ताव समेत पेश गर्ने व्यवस्था मिलाइएको छ । आयोजकका अनुसार फेस्टको वेबसाइट स्टार्टअप डट सीएनआईवाईईएफ  डट ओआरजीमा गएर अथवा यहाँ क्लिक गरेर आवेदन दिन सक्नेछन् । फोरमका अनुसार स्टार्टअपलाई  आवेदनका लाग २७ जेठसम्मको समय सीमा दिइएको छ ।

मञ्चका निवर्तमान अध्यक्ष चाङ अग्रवालका अनुसार अहिलेसम्म ४० लाख डलर बराबरको लगानीका लागि आशयपत्रमा हस्ताक्षर भइसकेको छ । यस्तो आशय दिनेमा टिम भेन्चर, ग्लोबल इक्विटी फन्ड, अध्यान्त फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनर प्रालि रहेका छन् ।

गत वैशाख २९ गते होटेल हिमालयमा भएको एक समारोहमा मञ्चले आशयपत्रमा हस्ताक्षर गरेको हो । साथै सोही समारोहमा नेपाल प्राइभेट इक्विटी एसोसियसन, इम्प्याक्ट हब, रोबोटिक्स नेपाल र आन्टरप्रेरनासँग पनि सहकार्यको सम्झौता गरिसकेको छ ।

स्टार्टअप फेस्टमा विभिन्न विधाका सात ओटा स्टार्टअपहरूलाई सम्मान्नित गरिनेछ । त्यस्तै ५० भन्दा धेरै स्टार्ट अपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने व्यवस्था समेत मिलाइएको छ । एकदिने यो कार्यक्रममा प्यानल छलफल, इन्भेस्टर्स डेटिङ, रोबोटिक फुटबल, ड्रोन गतिविधि, म्युजिकल कन्सर्ट लगायतका कार्यक्रम समेत आयोजना गरिनेछ । उक्त कार्यक्रममा सहभागी हुन फेस्टको आधिकारिक वेबसाइटमा आफ्नो नाम दर्ता गराउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३