close

अब मेटाभर्समै बच्चा जन्माएर हुर्काउन सकिने !

टेकपाना टेकपाना

जेठ १८, २०७९ १६:१४

अब मेटाभर्समै बच्चा जन्माएर हुर्काउन सकिने !

काठमाडौं । मानिसको जीवन प्रविधिमा यति धेरै अभ्यस्त भइसक्यो कि आउने दिनहरूमा प्रविधिमाथि हाम्राे निर्भरता थप बढेर जाने कुरामा दुई मत छैन । हामीले गर्ने धेरै काम आज प्रविधिले नै गरिरहेका छन् ।

मानिस प्रविधिमा कुन हदसम्म निर्भर हुने भन्ने प्रश्न आफैंमा महत्त्वपूर्ण छ । यसैबीच आर्टिफिसियल इन्टेलिजेन्स विज्ञ क्याट्रिओना क्याम्पबेलले हालै एक पुस्तक सार्वजनिक गरेकी छिन् ।

पुस्तकमा उनले अबको ५० वर्षमा मानिसहरूले मेटाभर्समा नै बच्चा जन्माएर मेटाभर्समा नै हुर्काउने, बढाउनेछन् भनेर दाबी गरेकी छन् ।

क्याम्पबेलले आफ्नो पुस्तक ‘एआई बाई डिजाइन; अ प्लान फर लिभिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स’ मा भर्चुअल बच्चाको बारेमा उल्लेख गरेकी छिन् ।

उनले आफ्नो किताबमा भर्चुअल बच्चालाई ‘तामागोची किड्स’ भनेर नाम दिइएकी छन् ।

‘तामागोची’ जापानी शब्द हो, जसले डिजिटल खेलौनालाई संकेत गर्छ । क्याम्बेलले अबको ५० वर्षमा मानिसहरूले शारीरिक रूपमा बच्चा नपाई मेटाभर्समा बच्चा पाउने र मेटाभर्समै उक्त बच्चालाई हुर्काउने भविष्यवाणी गरेकी छन् ।

यसपछि केही महिलाहरूले कहिले पनि गर्भवती नहुने निर्णय गर्नसक्ने उनले उल्लेख गरेकी छन् ।

मेटाभर्सको भर्चुअल बच्चाले पृथ्वीमा भएको वातावरणीय समस्या, जनसंख्या वृद्धि लगायतका समस्यालाई समाधान गर्ने बताउँदै उनले बच्चा जन्माएर हुर्काउन लाग्ने खर्च पनि कम हुने तर्क गरेकी छन् ।

जापानले सुरु गरेको डिजिटल खेलौना वा डिजिटल पेट (घरपालुवा जन्तु) पछि अब डिजिटल बच्चाको ट्रेन्ड सामान्य बन्दै जाने उनले बताएकी छन् ।

उनले भर्चुअल बच्चा भाैतिक बच्चाजस्तै हुने, आमाबाबुजस्तै देखिने र भर्चुअल माध्यमबाट अभिभावकले बोक्न, खेल्न र अंगालो हाल्न मिल्ने दाबी गरेकी छन् ।

‘भर्चुअल बच्चाहरूमा पनि भाैतिक बच्चाहरूको जस्तै मानवीय भावना हुन्छ भने उनीहरू बोल्न पनि सक्नेछन्,’ पुस्तकमा उनले लेखेकी छन्, ‘अभिभावकले उनीहरूलाई बोल्न सिकाउन सक्नेछन् । यदि बच्चा मन परेन भने अभिभावकले भर्चुअल बच्चालाई मेटाभर्समा ‘अफ’ गर्न सक्नेछन् ।’

याे पनि पढ्नुहाेस्: के हो ‘मेटाभर्स’ ? फेसबुकले किन गर्दैछ अर्बौं लगानी ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३