close

‘स्पिड वार’सँगै झुटो विवरण राखेर ग्राहक बढी देखाउने होडमा इन्टरनेट सेवाप्रदायक

टेकपाना टेकपाना

जेठ १९, २०७९ २१:५६

‘स्पिड वार’सँगै झुटो विवरण राखेर ग्राहक बढी देखाउने होडमा इन्टरनेट सेवाप्रदायक

काठमाडौं । नेपालको इन्टरनेट बजारमा पछिल्लो समय सेवाप्रदायकबीच तीब्र प्रतिस्पर्धा चुलिएको छ । यस्तो प्रतिस्पर्धा सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिनेमा मात्र सीमित छैन, सँगसँगै ग्राहक सङ्ख्या बढी देखाउने होडबाजी समेत चलेको छ ।

प्राधिकरणले गरेको छानविनका क्रममा केही इन्टरनेट सेवाप्रदायकले देखाउने ग्राहक सङ्ख्या वास्तविक भन्दा ग्राहक सङ्ख्यामा निकै ठूलो अन्तर पाइएको छ । यसअघि टेकपानाले दूरसञ्चार प्राधिकरणको एमआईएस (व्यवस्थापन सूचना प्रणाली) मा उल्लेखित सेवाप्रदायकहरूको ग्राहक सङ्ख्या वास्तविक भन्दा फरक रहेको भन्दै समाचार प्रकाशित गरेको थियो ।

सोही समाचारको विषयलाई लिएर नियामक नेपाल दूरसञ्चार प्राधिकरणले छानविनका लागि निर्देशक अर्जुन घिमिरेको संयोजकत्वमा तीन सदस्यीय कार्यटोली गठन गरेको थियो । उक्त कार्यटोलीले १५ ओटा इन्टरनेट सेवाप्रदायकको स्थलगत अनुगमन गरी ‘रेडियस सर्भर’/’बीएनजी’/’बीआरएएस तथा पीपीपीओई सर्भर’बाट ग्राहक सङ्ख्याको विवरण प्राप्त गरी अध्ययन गरेको छ । 

कार्यटोलीले मङ्सिरमा प्रकाशित एमआईएसमा रहेको तथ्याङ्कलाई आधार बनाएर उक्त छानविन गरेको छ । छानविनका क्रममा माघ अन्तिमदेखि फागुनबीचको अवधिमा ‘इन्स्पेक्सन’ गरिएको उल्लेख छ ।

एमआईएस प्रतिवेदन अनुसार मङ्सिरदेखि फागुनसम्म प्रायः सबैजसो कम्पनीको ग्राहक सङ्ख्या बढेको देखिन्छ । त्यसमा अपवादको रुपमा सुबिसु, वेब सर्फर र नेटम्याक्सको मात्रै ग्राहक सङ्ख्या घटेको देखिन्छ । 

तर फागुनमा गरिएको इन्स्पेक्सनको तुलनामा सेवाप्रदायकले त्यसअघि नै उपलब्ध गराएको ग्राहक सङ्ख्या अस्वभाविक रुपमा धेरै छ । जसमा क्लासिक टेक सबैभन्दा अगाडि छ ।

मङ्सिरमा एक लाख ९५ हजार ३८८ ग्राहक रहेको बताउने क्लासिक टेकको सक्रिय ग्राहक फागुनसम्म आइपुग्दा समेत केवल एक लाख १५१ मात्र देखिन्छ । यसरी उसले देखाएको ग्राहक सङ्ख्या वास्तविक ग्राहक सङ्ख्याको तुलनामा ९५ हजार २३७ भन्दा बढी छ ।

त्यसपछि क्रमशः सुबिसुको ग्राहक सङ्ख्या ४३ हजार ९३९, भायनेटको १५ हजार ९९३, टेकमाइन्ड्सको आठ हजार १९०, एरोनेट सात हजार २३०, वेबसर्फर पाँच हजार ३१० र नेटम्याक्सको एक हजार ७२ अन्तर छ ।

अर्कोतर्फ मङ्सिरको एमआईएसको तुलनामा त्यसको तीन महिनापछि गरिएको इन्स्पेक्सनमा वर्ल्डलिङ्कको ४४ हजार २२२, डिश मिडियाको २९ हजार ८९६, सिजीको आठ हजार ४४, कोननेक्ट नेपालको छ हजार ३७४, फाइबर वर्ल्डको पाँच हजार ४४१, फर्स्टलिङ्कको एक हजार ९३७ र मर्कन्टाइलको ३१४ ले ग्राहक सङ्ख्या बढी रहेको देखिन्छ ।

प्राधिकरणका एक अधिकारीले सेवाप्रदायकले आफ्नो ग्राहक सङ्ख्या वास्तविक भन्दा बढी देखाउनु पछाडिको कारण बजारमा आफूलाई अगाडि देखाउने होड रहेको बताए ।

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

“एमआईएसमा देखाइएको ग्राहक सङ्ख्या वास्तविक ग्राहक सङ्ख्यासँग कुनै पनि हिसाबले मेल खाएको देखिँदैन । यसबाट बजारमा आफ्नो ग्राहक र नेटवर्क अन्यको भन्दा ठूलो रहेको देखाउन खोजेको देखिन्छ,” ती अधिकारीले भने ।

“जसलाई उनीहरूले बैंकबाट ऋण लिन, टेन्डरमा छनौट हुने आधार बलियो पार्न उपयोग गरिरहेका हुनसक्छन् ।” केही सेवाप्रदायकले नयाँ ग्राहक सङ्ख्या थपिए पनि र पुराना छोडिसकेका ग्राहक नहटाउँदा एमआईएसमा यस्तो अवस्था देखिएको दाबी गरेका छन् ।  

कार्यटोलीले तयार पारेको प्रतिवेदनमार्फत सेवाप्रदायकले आफ्ना ग्राहकको वास्तविक अर्थात सक्रिय प्रयोगकर्ताको सङ्ख्या मासिक रुपमा प्राधिकरणलाई अनिवार्य उपलब्ध गराउन र त्यसो नगरेमा दूरसञ्चार ऐन अनुसार कारबाही गर्न सुझाव दिएको छ ।

यति मात्र होइन, ग्राहक सङ्ख्या विवरण अध्ययन गरेजस्तै सेवाप्रदायकहरूको कूल आम्दानीको विवरण सम्बन्धमा पनि अध्ययन हुनुपर्ने र सेवाप्रदायकको ग्राहक विवरण एपीआई मार्फत प्राधिकरणको वेबपोर्टलबाट हेर्न सकिने व्यवस्था मिलाउनुपर्ने राय समेत दिएको छ । 

प्राधिकरणले कात्तिक २०६० देखि एमआईए प्रतिवेदनमा दूरसञ्चार क्षेत्रका तथ्याङ्कीय विवरण समावेश गर्न थालेको हो । प्राधिकरणले प्रकाशित गर्ने यो प्रतिवेदनकै आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको दूरसञ्चार क्षत्रको अवस्था अवगत हुने गर्दछ । एमआईएस प्रतिवेदन दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएको दूरसञ्चार तथ्याङ्कहरू समावेश गरी समग्र दूरसञ्चार क्षेत्रको अवस्था चित्रण गर्ने अपेक्षा गरिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३