close

गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि खुसीयाली

टेकपाना टेकपाना

जेठ २१, २०७९ १६:११

गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि खुसीयाली

काठमाडाैं । म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानियबासी खुसी भएका छन् । नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो ।

भौगोलिक रुपमा विकट रहेको उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले माइक्रो वेभ रेडियो लिङ्कमार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

समुन्द्र सतहदेखि झन्डै दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित चिमखोलाको धुरीबाट सेवा प्रवाह गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

भौगोलिक विकटता र चुनौतिका बावजुद ग्रामीण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन मोबाइल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको उनको भनाइ छ ।

बस्तीबाट तीन घण्टाको पैदल यात्रापछि पुगिने उक्त डाँडामा केन्द्रीय विद्युतको लाइन विस्तार गरेर टावर सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिंखडाले जानकारी दिए ।

‘टेलिकमले अहिले अस्थायी टावर निर्माण गरी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नति गरी अत्याधुनिक प्रविधिको फोरजी सेवामार्फत भ्वाइस र उच्च गतिको इन्टरनेट (मोबाइल डेटा) सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ सिंखडाले भने ।

पहिले मोबाइल सेवा नहुँदा दुःख पाएका नागरिकले टेलिकमको टुजी र थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि रघुगंगा गाउँपालिका वडा नं ५ झिंइमा एक सय, वडा नं ६ पाखापानीमा एक सय, वडा नं ७ चिमखोलामा एक सय, वडा नं ८ कुईनेमंगलेमा दुई सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएको रघुगंगा गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष थक बहादुर पाइजाले जानकारी दिए ।

माेबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।

टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीयले बताएका छन् ।

विद्युतीकरण तथा पोल टावर निर्माण र जडानमा टुडे हाईड्रो पावर कम्पनीले सहयोग गरेको हाईड्रो पावरका ईन्जिनियर प्रकाश तिमिल्सिनाले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३