close

नेपाली बजारमा थपियो अर्को राइड शेयरिङ एप, राइडरसँग कमिसन नलिने

टेकपाना टेकपाना

जेठ २१, २०७९ २१:२९

नेपाली बजारमा थपियो अर्को राइड शेयरिङ एप, राइडरसँग कमिसन नलिने

काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ एप ‘सजिलो’ थपिएको छ । गत वैशाख १ गतेबाट बेटा भर्जनमा सार्वजनिक भएर सञ्चालनमा आइरहेको एप फुल भर्जनमा पनि उपलब्ध हुने तयारीमा छ ।

‘सजिलो साथी’ का प्रमुख कार्यकारी अधिकृत अमर लामाले एपमा संलग्न हुने राइडर र सेवाग्राहीलाई विभिन्न अफर प्रदान गरिने जानकारी दिए ।

‘राइडरका लागि पहिलो छ महिनासम्म शुन्य प्रतिशत कमिसन रहेको छ । छ महिनासम्म उनीहरूले राइड शेयर गरेपनि कम्पनीलाई कुनै शुल्क तिर्नुपर्दैन । राइडर निःशुल्क ‘सजिलो’मा जोडिन सक्नेछन्,’ टेकपानासँग उनले भने, ‘यात्रुले राइडरलाई रिक्वेस्ट पठाइसकेपछि क्यान्सिल गरेको खण्डमा उक्त राइडरले तय गरेको दूरीवापत केही शुल्क कम्पनीबाट समेत पाउनेछन् ।’

उनले अगाडि भने, ‘राइडरहरू कुनै पनि यात्रुलाई पिक गर्न गइसकेपछि उनीहरू त्यहाँ पुग्ने समयसम्म पेट्रोल खर्च भएको हुन्छ । यदि यात्रुले राइड क्यान्सिल गरे भने राइडरको पेट्रोल खपत भए वापत सेवा शुल्क पाउनेछन् । हामीले उनीहरूले कति दूरी तय गरेका छन् भन्ने कुरा मूल्याङ्कन गरी शुल्क बुझाउँछौँ ।’

त्यस्तै यात्रुका लागि पनि आकर्षक सेवा र सुविधा रहेको उनले जानकारी दिए ।

‘यात्रुले राइड रिक्वेस्ट गरेको साढे दुई मिनेटसम्म कुनै पनि प्रतिक्रिया आएन भने उनीहरूले एपमा उपलब्ध नम्बरमा सम्पर्क गरी एड्मिनलाई सम्पर्क गर्न सक्नेछन्,’ उनले भने, ‘यदि साढे दुई मिनेटसम्म पनि कुनै राइडरले अनुरोध स्वीकार गरेनन् भने हामी यहाँ ब्याकअपमा भएका राइडर उहाँको ठाउँमा पठाउँछौं । जुन हामी निःशुल्क उपलब्ध गराउँछौं । त्यसरी सेवाग्राहीसम्म पुग्न २० देखि २५ मिनेटसम्म समय लाग्न सक्छ ।’

त्यस्तै सेवाग्राहीको सुविधाका लागि विभिन्न क्याशब्याक र अफरहरू रहेका छन् । जुन नोटिफिकेसन मार्फत सेवाको जानकारी ग्राहकसम्म पुर्‍याउने लामाले बताए ।

उनका अनुसार एपमार्फत दुई पाङ्गे, कार र सामान बोक्नका लागि ठूला गाडीको सेवासमेत लिन सकिन्छ । एन्ड्रोइड प्रयोगकर्ताले सजिलो एप यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३