close

विश्वमै पहिलो पटक महिलामा राखियो जीवित कोषिकाको थ्रीडी प्रिन्टेड कान

टेकपाना टेकपाना

जेठ २२, २०७९ २१:१०

विश्वमै पहिलो पटक महिलामा राखियो जीवित कोषिकाको थ्रीडी प्रिन्टेड कान

काठमाडौं । जन्मजात दुर्लभ किसिमले कान विहीन भएकी एक महिलामा मानव कोषबाट निर्मित थ्रीडी प्रिन्टेड कान प्रत्यारोपण गर्न डाक्टरहरू सफल भएका छन् । प्रत्यारोपण पछाडि रहेको पुनर्जीवित औषधोपचारको क्षेत्रमा काम गर्ने थ्रीडीबायो थेरापिउटिक्स नामक कम्पनीले प्रेस विज्ञप्ति मार्फत यसको जानकारी दिएको छ ।

यो प्रविधिको पहिलो ‘क्लिनिकल ट्रायल’को रूपमा उक्त प्रत्यारोपण गरिएको थियो, यसको सफलतालाई तन्तु इन्जिनियरिङतर्फको महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । “सबै चिज योजनाअनुरूप भएको खण्डमा यो तरिकाले क्रान्ति ल्याउनेछ,” प्रत्यारोपणमा संलग्न टिमको नेतृत्व गरेका कान पुनर्संरचना सर्जन अर्तुरो बोनिल्लाले न्युयोर्क टाइम्ससँग भनेका छन् ।

अमेरिकामा मात्रै हरेक वर्ष ‘माइक्रोसिया’ अर्थात एउटा अथवा दुई ओटा कान अल्प विकसित वा पूर्णतः गायब भएका १५०० बच्चाहरू जन्मिने गर्दछन् । थ्रीडीबायो थेराप्युटिक्सले जारी क्लिनिकल ट्रायलमा ११ जना सहभागीमा आफ्नो ‘औरिनोभो’ कानको परीक्षण गरिरहेको छ, यी बिरामीहरूको गायब भएको कानलाई निजीकृत तन्तुले प्रतिस्थापन गरिनेछ ।

माइक्रोसिया भएका बिरामीहरूको शरीरको कुनै तन्तु तथा सिन्थेटिक पदार्थबाट कान तयार पारिन्छ । यो प्रयोगात्मक परीक्षणको क्रममा बिरामीको विद्यमान कानबाट बायोप्सी लिइन्छ र कुर्कुरे कोषिकाहरू बाहिर निकालिन्छ । त्यस्ता कोषिकाहरूलाई हुर्काइन्छ र त्यसलाई बिरामीको कानको आकारमा थ्रीडी प्रिन्ट गरिन्छ ।

यस्तो कान बिरामीको जीवनभर पुनरुत्पन्न भइरहन्छ, किन कि यो उनीहरूको आफ्नै कोषबाट बनेको हुन्छ । शरीरले यसलाई अस्वीकार गर्ने सम्भावना एकदमै न्यून हुने कम्पनीले बताएको छ ।

प्रत्यारोपण प्रविधिको क्षेत्रमा यो वर्ष महत्वपूर्ण रह्यो । गत जनवरीमा डक्टरहरूले एक जना बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण गरे, यद्यपि केही महिनापछि ती बिरामीको मृत्यु भयो ।

अन्य अनुसन्धान समूहहरूले थ्रीडी प्रिन्टेड फोक्सो र थ्रीडी प्रिन्टेड रक्त नलीहरूका लागि काम गरिरहेका छन् । थ्रीडीबायो थेरापिउटिक्सका अधिकारीले भनेका छन् कि उनीहरूको प्रविधिले नाक, रोटेटर कफ्स जस्ता शरीरका अन्य भाग र अन्ततः आन्द्रा र मृगौला जस्ता जटिल अङ्गहरू प्रिन्ट गर्ने सोचाइ समेत रहेको छ ।

शरीरका अन्य अङ्गहरूको तुलनामा कान निकै सामान्य अङ्ग हो । आन्द्रा जस्तो मानिसलाई जीवित राख्न यो जरुरी हुँदैन । त्यसैले सम्भावित भविष्यतर्फ निकै लामो दुरी तय गर्नुपर्नेछ ।

“तपाईँले कान पाउनु भयो भनेपछि यो कुरा थप सत्य देखिएको छ,” कार्निज मेलोन युनिभर्सिटीका  बायोमेडिकल इन्जिनियरिङ एन्ड मटेरियल साइन्स एन्ड इन्जिनियरिङका प्रोफेसर आदम फेइङ्गबर्गले भनेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३