close

एप्पल डेभलपर कन्फ्रेन्स : के के भए घोषणा ?

टेकपाना टेकपाना

जेठ २४, २०७९ १५:२२

एप्पल डेभलपर कन्फ्रेन्स : के के भए घोषणा ?

काठमाडौं । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) मार्फत विभिन्न नयाँ उत्पादनको घोषणा गरेको छ ।

साेमबारदेखि सुरू भएकाे कन्फ्रेन्समा कम्पनीले आईओएसको नयाँ अपडेटदेखि एप्पल वाच, एमटु चिपसेट, नयाँ म्याकबुक, म्याकओएस लगायतका विवरण सार्वजनिक गरेको छ ।

आईओएस १६ 

एप्पलले कार्यक्रममा सबैभन्दा धेरै प्रतिक्षित आईओएस १६ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

आईओएस १६ को विषयमा विशेषगरी यसमा उपलब्ध हुने लक स्क्रिन फिचरको धेरै चर्चा भएको थियो । आईओएस १६ को अपडेटसँगै एप्पलले आईफोनको लक स्क्रिनमा धेरै परिवर्तन ल्याउँदैछ ।

आईओएस १६ को अपग्रेडसँगै अब प्रयोगकर्ताले आफ्नो लक स्क्रिनलाई थप आफू अनुकूल कस्टमाइज गर्न सक्नेछन् । साथै अब आईफोनको लिक स्क्रिनमा थर्ड पार्टी एपको विजेटहरू पनि थप गर्न मिल्नेछ भने विभिन्न कलरफुल थिमहरू पनि प्रयोग गर्न सकिनेछ ।

स्क्रिन लक हुँदा नोटिफिकेसनहरू स्क्रिनको तलबाट आउनेछन् । 

त्यसैगरी अब आईमेसेजबाट पठाएको मेसेजमा इडिट अथवा अनसेन्ड पनि गर्न सकिनेछ भने कुनै आईमेसेजलाई अनरिड अथवा नपढिएको भनेर मार्क पनि गर्न मिल्नेछ । शेयरप्ले फिचर अब फेसटाइममा मात्र नभई आईमेसेजमा पनि प्रयोग गर्न सकिनेछ ।

आईओएस १६ को अपडेटसँगै अब लाइभ टेक्स्ट फिचर फोटोमा मात्र नभई भिडिओमा पनि प्रयोग गर्न सकिनेछ । त्यसैगरी यसरी कपी गरिएको टेक्स्टलाई अर्को भाषामा ट्रान्सलेट पनि गर्न सकिनेछ ।

योसँगै एप्पलले पनि ‘बाई नाउ, पे लेटर’ फिचर सार्वजनिक गर्ने भएको छ । एप्पल पे लेटर अप्सनमा सहित अब एप्पल पेका प्रयोगकर्ताले पहिले सामान खरिद गरेर पछि भुक्तानी गर्न सक्नेछन् । 

एप्पल म्यापमा पनि नयाँ लोकेसनहरू थप गरिएको छ भने एप्पल न्युजमा आफ्नो रुचिअनुसारको विषयगत समाचार हेर्न तथा पढ्न सकिनेछ ।  त्यसैगरी अब आफ्नो फोटो तथा भिडिओको लाइब्रेरी अन्य प्रयोगकर्ताहरूसँग पनि शेयर गर्न सकिनेछ । 

एप्पल वाच 

२०२२ को डब्लूडब्लूडीसीमा एप्पलले एप्पल वाचमा आउने नयाँ फिचरको बारेमा पनि घोषणा गरेको छ ।

कम्पनीका अनुसार एप्पल वाचमा नयाँ वाचफेस थपिनेछन्, जसमा एस्ट्रोनोमी, लुनार, प्लेटाइम र मेट्रोपोलिटेन थिम थप हुनेछन् । त्यसैगरी वाचको ब्यानर नोटिफिकेसन पनि पुरै स्क्रिनमा नभई स्क्रिनको एक छेउमा मात्र देखिनेछ ।

साथै एप्पल वाच बाहेक अन्य स्मार्टवाचमा पनि एप्पलको फिटनेस एप प्रयोग गर्न सकिनेछ । आईफोनमा एप्पलको फिटनेस एप डाउनलोड गरेर अन्य जुनसुकै वाचमा पनि एप्पल वाचको जस्तै फिचर प्रयोग गर्न सकिनेछ । निद्रा ट्रयाकिङमा पनि नयाँ अपडेटहरू आएका छन् ।

एमटु

कार्यक्रममा एप्पलले आफ्नो नयाँ चिपसेट ‘एमटु’ को विषयमा पनि बताएको छ । कम्पनीको एमवान चिपसेट निकै नै लोकप्रिय भएको थियो ।

यसले ल्यापटपलाई छिटो र ब्याट्री कम खपत गर्न मद्दत गर्ने हुँदा यसको लोकप्रियता निकै बढेको थियो । एम वानको तुलनामा १८ प्रतिशतले बढि छिटो काम गर्न सक्ने विशेषता सहित एमटु चिपसेट सार्वजनिक हुँदैछ । 

 नयाँ म्याकबुक 

यस कार्यक्रममार्फत कम्पनीले नयाँ म्याकबुकहरू सार्वजनिक गर्ने घोषणा पनि गरेको छ ।

१०८० पिक्सेलको रेजुलाेसनन भएको बिल्ट-ईन क्यामेरासहित एप्पलले नयाँ म्याकबुक सार्वजनिक गर्ने बताएको छ । यूएसबीसी पोर्टसहित सार्वजनिक हुने नयाँ ल्यापटप एक घण्टामा फुल चार्ज हुने बताइएको छ ।

त्यसैगरी नयाँ १३ इन्चको म्याकबुक प्रोमा एमटु चिपसेट प्रयोग गरिने छ । कम्पनीले नयाँ म्याकबुकसँगै म्याकओएस पनि अपग्रेड गर्दैछ ।

‘म्याकओएस भेन्चुरा’ नाम दिएर कम्पनीले नयाँ म्याकबुक ओएस सार्वजनिक गर्न लागेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३