close

विश्वकै कान्छा धनाढ्य, २५ वर्षमै यसरी बने अर्बपति

टेकपाना टेकपाना

जेठ २४, २०७९ १९:५८

विश्वकै कान्छा धनाढ्य, २५ वर्षमै यसरी बने अर्बपति

काठमाडौं । फोर्ब्सले हालै सार्वजनिक गरेको विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा एउटा नाम छ, एलेक्जेन्डा वाङ । स्केल एआई कम्पनीका सीईओ वाङ यो सूचीमा मात्र छैनन्, उनी विश्वकै कान्छा अर्बपतिको रुपमा समेत सूचित भएका छन्, जसलाई सेल्फ-मेड बिलिनियर अर्थात् आफ्नै पाैरखमा बनेका अर्बपति व्यक्तिको रुपमा चित्रित गरिएको छ ।

विज्ञान पृष्ठभूमिमा हुर्केको वाङको लक्ष्य यही क्षेत्रसँग जोडिनु कुनै नौलो कुरा होइन । तर उनले आफ्नो परिवारले भन्दा फरक बाटो रोजे, ‘सूचना प्रविधि’ ।

न्यू मेक्सिकोमा जन्मिएका वाङका आमाबाबु दुवै भौतिकशास्त्री हुन्, जसले अमेरिकी सेनाका लागि विभिन्न परियोजनामा काम गरेका थिए । उनको आमाबाबुको हतियारको भौतिशास्त्रमा विज्ञता थियो ।

चीनबाट प्रवासीको रुपमा अमेरिका आएका अभिभावकले अमेरिकी सेनालाई सहयोग गरेजस्तै वाङको कम्पनीले पनि अमेरिकी सेनाका लागि नै काम गरिरहेको छ, तर अलि फरक ढंगबाट ।

आमाबुवाबाट मान्छे भनेको मानसिक रुपमा सधैँ बलियो हुनुपर्छ भनेर सिकेका वाङलाई आफू के बन्छु भन्ने थाहा थिएन । उनी एक दिन आफू उद्यमी हुनेछु भन्ने कुरा पनि थाहा थिएन ।

व्यवसायमा रुचि नै नभएका व्यक्तिको यात्रा भने उद्यमतिर सुरु भइसकेको थियो । ‘सोसल नेटवर्क’ नामको चलचित्रबाट प्रभावित भएर आफ्नो उद्यम बन्नेतिर लागेको बताउने वाङको भविष्यको तयारी बाल्यकालमा उनले भाग लिएका कोडिङ तथा गणितीय प्रतिस्पर्धाहरूबाट नै भइसकेको थियो ।

उनको बाल्यकाल त्यति कठिन थिएन, तर आफ्नो खुट्टामा आफैं उभिन उनका लागि सहज पनि थिएन । गणित उनको प्रिय विषय थियो, अनि कोडिङ उनको रुचि ।

संसारमा प्रविधिको बढ्दो विकासलाई देखेर बाल्यकालमा उनी आफ्नो लक्ष्यप्रति भने स्पष्ट थिए । भविष्यमा गएर मसिन लर्निङ अथवा आर्टिफिसियल इन्टेलिजेन्समा नै काम गर्छु भन्ने कुरामा उनी ढुक्क थिए ।

केही व्यक्तिलाई आफ्नो रुचि वा आफूभित्र भएको प्रतिभालाई चिन्नको लागि धेरै समय लाग्छ भने केहीले चाँडै नै आफूले आफूलाई चिन्छन् । वाङलाई पनि आफ्नो रुचिबारे थाहा पाउन धेरै लामो समय लागेन ।

कक्षा ६ मा पढ्दै गर्दा म्याथकाउन्टस नामक एक प्रतिस्पर्धामा उनले भाग लिएका थिए । यो प्रतिस्पर्धामा भाग लिनु उनको गणित प्रतिको रुचि मात्र थिएन । डिज्नीवर्ल्ड घुम्न पाउने स्वार्थ पनि थियो । धेरै बालबालिकाको सपना हुन्छ, डिज्नीवल्ड घुम्न जाने ।

त्यही बालबालिकामध्ये वाङ पनि एक थिए । यही सपना पूरा गर्न वाङले उक्त प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । तर उनी प्रतिस्पर्धा जित्न सकेनन् । हरेक कुरा केही राम्रो लागी नै हुन्छ भन्ने भनाई जस्तै यो प्रतियोगिताबाट सुरु भएको वाङको यात्रा कोडिङतिर अगाडि बढ्न थाल्यो ।

एआईको क्षेत्रमा नै भविष्य बनाउने सोच बनाएका वाङले १७ वर्षको उमेरमा नै आफ्नो व्यावसायिक यात्रा सुरु गरिसकेका थिए । उनले अनलाइनमार्फत सञ्चालन भएका धेरै कोडिङ प्रतिस्पर्धाहरूमा सहभागिता जनाए । यही सिलसिलामा हाई स्कुल पढ्दै गरेका वाङलाई सिलिकन भ्यालीको चर्चित कम्पनी ‘एड्डपर’ (Addepar) ले उनलाई रोजगारी दिए ।

रोचक कुरा त कम्पनीले वाङलाई उनको सीप र प्रतिभा देखेर रोजगारी दिँदा उनी हाई स्कुलमा पढ्दै गरेका विद्यार्थी हुन् भनेर कम्पनीलाई अवगत नै थिएन ।

त्यहाँ केही समय काम गरेर उनले सन् २०१४ मा प्रश्न – उत्तरको लागि चर्चित वेबसाइट ‘क्वरा’ मा काम गर्न थाले । सन् २०१४ देखि २०१६ सम्म क्वरामा काम गर्दै गर्दा उनले कर्पोरेट कल्चर सिकिरहेका थिए ।

सन् २०१६ मा अल्गोरिदम डेभलपरको रुपमा हड्सन रिभर ट्रेडिङमा काम गर्न सुरु गरे । काम गर्दै गर्दा उनले एमआईटीमा स्नातक पनि गर्दै थिए । यसबीच वाङलाई धेरै कम्पनीहरूबाट कामको अफर पनि आएको थियो । यद्यपि वाङले भने स्नातकको पहिलो वर्ष सकिएपछि आफ्नै व्यवसाय सुरु गर्ने सोचे ।

विभिन्न कम्पनीहरूमा काम गर्दै गर्दा वाङलाई मसिन लर्निङको लागि आवश्यक डेटाबेस तयार गर्नुपर्ने कुराको आवश्यकता महसुस भयो । यहि कुरालाई लिएर उनले स्केल एआईको अवधारणा बनाए ।

स्केल एआईको मुख्य काम मसिन लर्निङमा आधारित कम्पनीहरूमा प्रयोग भएको प्रविधिलाई आवश्यक डेटाबेस तयार गर्ने गर्छ । 

मसिन लर्निङमा आधारित कम्पनीहरूमा आवश्यक डेटाबेस नै नभएको पाएपछि उनले यहि क्षेत्रमा काम गर्ने निधो गरेका थिए । सिलिकन भ्यालीलाई केन्द्रमा राखेर सुरु भएको यो कम्पनीको लागि बजार निकै ठूलो थियो, तर कार्यक्षेत्रको विषयमा भने स्केल आईले धेरै मेहनत गर्नुपर्‍यो ।

सुरुवाती दिनमा स्केल एआईले पनि गति लिन सकेको थिएन । कुन चाहिँ क्षेत्रलाई समातेर काम सुरु गर्ने भन्ने मेसो नपाउँदा वाङ र उनको टिमले उपलब्ध सबै क्षेत्रहरूमा काम गर्‍यो ।

ती दिनमा कम्पनीले कम्प्युटरको लागि तस्वीर तथा अन्य सबै प्रकारका सेन्सरी डेटासँग सम्बन्धित क्षेत्रमा काम गर्‍यो ।

तर कुनै पनि क्षेत्रमा राम्रो सफलता हात लाग्न सकेन । यसपछि भने कम्पनीले आफ्नो कार्यक्षेत्रलाई विशिष्टीकृत बनाउने सोचलाई लिएर अगाडि बढायाे ।

विभिन्न कार्यक्षेत्रमध्ये कम्पनीले इमेजरी, कम्प्युटर भिजन र अन्य सेन्सर डेटाको क्षेत्रमा मात्र काम गर्ने निधो गरेर अगाडि बढ्यो, जसले नयाँ उचाइ लिन थाल्याे ।

आजको दिनमा स्केल एआईले अमेरिकी सेनाका लागि पनि काम गरिरहेको छ । अमेरिकाको सान फ्रान्सिस्कोमा मुख्य कार्यालय रहेको यो कम्पनीले हाल ३०० भन्दा बढी क्लाइन्टलाई प्रत्यक्ष सेवा दिइरहेको छ ।

वाङ र कम्पनीका सह-संस्थापक लुसी गुओले ४७ लाख डलर लगानीबाट सुरु गरेको कम्पनीको हालको आम्दानी १० करोड डलर छ । करिब सात अर्ब ३० करोड डलर भ्यालुएसन भएको कम्पनीमा वाङको १५ प्रतिशत शेयर छ ।

फोर्ब्सका अनुसार वाङको हालको सम्पत्ति एक अर्ब डलर नाघेकाे छ । 

(फोर्ब्स म्यागजिनबाट साभार)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६