close

विद्युतीय सवारी व्यवसायमा छिर्‍यो चौधरी ग्रुप, ‘नेटा भी’ पछि के ल्याउँदै छ ?

टेकपाना टेकपाना

जेठ २६, २०७९ १७:१५

विद्युतीय सवारी व्यवसायमा छिर्‍यो चौधरी ग्रुप, ‘नेटा भी’ पछि के ल्याउँदै छ ?

काठमाडाैं । चर्चित व्यावसायिक घराना चौधरी ग्रुप विद्युतीय सवारी व्यवसायमा छिरेको छ । यसका लागि चौधरी ग्रुपले सीजी मोटर्समार्फत नेपाली बजारमा ‘नेटा’ ब्राण्डको पहिलो विद्युतीय कार भित्र्याएको छ ।

साे कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्‍याउन आफूहरूले विद्युतीय सवारीसाधन व्यवसायमा हात हालेकाे बताएका छन् ।

नेपालमा विद्युतीय सवारीकाे प्रवर्द्धनमा सीजीकाे दरिलाे साथ रहने प्रतिबद्धता समेत उनले जनाए ।

’सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा सीमित गर्ने योजना बनाएको छ,’ मंगलबार ‘नेटा भी’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘यही योजनालाई सहयोग गर्न हामी निजी र व्यावसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको विस्तारमा लागेका हौँ ।’

सीजी मोटर्सले ‘सीजी रिभोलुसन’ को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउन चाहेको उनकाे भनाइ थियाे ।

नेपाली बजारमा उपलब्ध ‘नेटा भी’ विभिन्न पाँच रङ्गमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

सीजी मोटर्सले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्रै नभई सार्वजनिक तथा कमर्सियल (व्यावसायिक) सवारी पनि ल्याउने जानकारी दिएकाे छ, जसअन्तर्गत १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअप समेत छिट्टै नेपाली बजारमा उपलब्ध हुनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीनम सोच सहितका सवारी ल्याइने बताए ।

‘सीजी मोटर्सले विद्युतीय सेगमेन्टमा निजी सवारीमात्र नभई सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ,’ उनी भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रो बसलाई विद्युतीय सवारीले विस्थापन गर्नेगरी हामीले काम गर्दैछौँ ।’

डिजेल, पेट्राेल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटर्सले विद्युतीय सवारीमात्र आयात गर्ने योजना बनाइएको उनको भनाइ छ ।

सीजी मोटर्सले ‘स्टेट अफ आर्टसँग’ मा आधारित वर्कशप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेको अग्रवालले बताए ।

‘हामी उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन तयार छौँ,’ उनले भने, ‘उत्कृष्ट शोरुम तथा वर्कशप र हाइवेहरूमा तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीव्रताका साथ अघि बढाइरहेका छौँ ।’

सीजी मोटर्सले आगामी योजना अन्तर्गत ‘नेटा एस’ र ‘नेटा यू’ नेपाली बजारमा ल्याउने जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६