close

होटेल-रेस्टुरेन्टमा सार्वजनिक शौचालय राख्दा मेयर बालेनले सम्झिनैपर्ने ‘एनी टाइम ट्वाइलेट’

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ २७, २०७९ १७:३३

होटेल-रेस्टुरेन्टमा सार्वजनिक शौचालय राख्दा मेयर बालेनले सम्झिनैपर्ने ‘एनी टाइम ट्वाइलेट’

काठमाडौं । बालेन्द्र शाह काठमाडौं महानगरको मेयर निर्वाचित भइसकेपछि काठमाडौंका धेरै समस्या बाहिरिएका छन् । देशको राजधानी नगरमा निर्वाचित भइसकेपछि बसेको कार्यपालिको पहिलो बैठकबाट उनले सार्वजनिक शौचालयको समस्या समाधान गर्न विभिन्न रेष्टुरेन्टसँग सहकार्य गर्ने निर्णय लिए ।

यो विषय अहिले राजधानीवासीहरूका लागि निकै आकर्षक बनेको छ । रेष्टुरेन्ट, बैंक, शोरूम आदिले मेयर बालेनको सार्वजनिक शौचालयको यो परियोजनालाई साथ दिएका छन् ।

तपाईंलाई यो तरिका एकदमै नयाँ र पृथक लाग्न सक्छ । तर, यो सोच सन् २०१८ मा आयोजना भएको ‘स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८’ मा सर्वोत्कृष्ट ठहरिएर ७ लाख जितिसकेको परियोजना हो । जुन प्रोजेक्टलाई ‘एनी टाइम ट्वाइलेट’ नाम दिइएको थियो ।

उक्त परियोजनामा नयाँ प्रविधि थपिएको थियो । जुन कुरा अहिले बालेनको सार्वजनिक शौचालयको अभियानमा भेटिँदैन । ‘एनी टाइम ट्वाइलेट’ एउटा एप हो ।

जसमा काठमाडौं महानगरपालिकाका कुन-कुन ठाउँमा सार्वजनिक शौचालय छन्, वा सार्वजनिक प्रयोगका लागि सञ्चालनमा आएका शौचालय कुन-कुन स्थानमा छन् भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

यो परियोजना सन् २०१९ सम्म साधारण तरिकाले सञ्चालन भइरहेको थियो । तर, दुखको कुरा अहिले यो एप पूर्ण रूपमा बन्द भएको छ । यसको परिकल्पना ‘सेन्ट जेभियर्स’मा ब्याचलर इन सोसल वर्क (बीएसडब्लू) पढ्दै गरेका युवाहरू  विनय महत, बबी थापा र स्मारिका नेपालले सन् २०१७ मै गरेका थिए ।

सुरुवाती दिन सम्झिँदै ‘एनी टाइम ट्वाइलेट’ सह-संस्थापक विनय महतले भन्छन्, “सेन्ट जेभियर्समा हामी पढ्दै गर्दा विभिन्न कार्यक्रममा आफ्ना विचारहरू लिएर सहभागी भइरहन्थ्यौँ । यो परियोजना लिएर हामी आइस्याक नेपालले आयोजना गरेको क्याम्पस स्तरीय व्यापार प्रतिस्पर्धा ‘एक्सन फर एसटीजी (Action for STG-Short Term Goal)’ मा सहभागी भएका थियौं । जसमा हाम्रो विचार उत्कृष्ट सावित भएर ७० हजार पुरस्कार पाएका थियौं ।”

पुरस्कार स्वरूप पाएको त्यही रकम उनीहरूले ‘एनी टाइम ट्वाइलेट’ एप बनाउन प्रयोग गरे । यही परियोजनामा काम गर्दै त्यसलाई विस्तार गर्ने कार्यमा उनीहरू लागिरहे । काठमाडौंका विभिन्न होटेलहरूसँग सहकार्य गरेर उनीहरूले ‘एनी टाइम ट्वाइलेट’ परियोजना मार्फत मानिसहरूलाई सेवा दिन थाले ।

यसैबीच काठमाडौं महानगरपालिकाले सन् २०१८ मा ‘स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज’ आयोजना गर्‍यो । त्यसमा सहभागी भएका उनीहरूको यो परियोजना उत्कृष्ट घोषित भयो ।

“हामीले त्यसबाट प्राप्त पुरस्कार रकम एपलाई अझ परिष्कृत बनाउने कार्यमा प्रयोग गर्‍यौँ । हामीले एप अनौपचारिक रूपमा सार्वजनिक गरिसकेका थियौं । ट्टर औपचारिक रूपमा एप सार्वजनिक गर्न हामी भ्रमण वर्ष २०२० को पर्खाइमा थियौं ।”

देशमा भएको नौलो परियोजनाका बारेमा घुम्न आएका सम्पूर्ण विदेशी पर्यटकले जानकारी पाउन् भन्ने उदिहरूको उद्देश्य थियो । त्यसअघि उनीहरू विभिन्न होटेल तथा रेस्टुरेन्टलाई विश्वस्त बनाउनतर्फ लागे ।

यसैबीच उनीहरूसँग अध्ययन अगाडि बढाउनु पर्ने भएपछि टिममा सहकार्य गरिरहेकी स्मारिका नेपाल परियोजनाबाट अलग भइन् । त्यसपछि सो परियोजनामा बबी र विनय मात्र बाँकी रहे । उनीहरूले आफ्नै शैलीमा त्यसलाई अगाडि बढाइरहेका थिए ।

तर दुर्भाग्य; औपचारिक रूपमा एप सार्वजनिक गर्ने समयमै विश्वव्यापी रूपमा कोभिड-१९ फैलियो ।

“हामीले विभिन्न निकायसँग सहकार्य गरेर सार्वजनिक शौचालयको सेवा सुरु गरिसकेका थियौं,’ निराशाको भावमा विनय भन्छन्, “कोभिड-१९ फैलिएपछि सबै मानिसहरू घरभित्र बस्नुपर्ने बाध्यता आइलाग्यो । लामो समयसम्म लकडाउन भएपछि हाम्रो परियोजना मारमा पर्‍यो । त्यसपछि हामी दुवैको उद्देश्य फरक-फरक भयो । परियोजनामा सबैको साथ हुँदाहुँदै पनि परिस्थितिले बीचैमा त्याग्नुपर्‍यो ।”

लकडाउन खुलिसकेपछि उनीहरूले पुनः त्यो परियोजना अगाडि बढाउन प्रयास नगरेका पनि होइनन् । उनी भन्छन्, “लकडाउन खुकुलो हुँदै जाँदा हामीले पहिले सहकार्य गरेका रेस्टुरेन्टमा बुझ्न गयौँ ।”

कोभिड-१९ ले पारेको आर्थिक समस्याले गर्दा प्रायः रेस्टुरेन्ट बिक्री भइसकेका थिए । उनीहरूले त्यो परिस्थितिमा नयाँ रेस्टुरेन्टका नयाँ साहुहरूलाई विश्वस्त बनाउन सकेनन् । त्यसपछि उनीहरूले नचाहँदा नचाहँदै यो परियोजनालाई सधैँका लागि बन्द गर्ने निर्णय लिए । 

यो परियोजना उपलब्धिमूलक ठानेर श्रीलङ्काको एक संस्थाले देशका विभिन्न सहरमा प्रयोगमा ल्याइसकेको थियो । बीचमा आएको कोभिड-१९ र राजनीतिक अस्थिरताले त्यहाँ पनि ‘एनी टापम ट्वाइलेट’ परियोजना बन्द हुन पुगेको महत बताउँछन् । 

काठमाडौंमा सार्वजनिक शौचालयको समस्या तत्काललाई समाधान गर्न ‘एनी टाइम ट्वाइलेट’ उपयुक्त हुने उनको दाबी छ । उनी भन्छन्, “सार्वजनिक शौचालयको समस्या तत्काललाई समाधान गर्न सबैभन्दा उपयुक्त विकल्प भनेको नै रेस्टुरेन्ट, होटल तथा बैङ्कहरूको शौचालय प्रयोग गर्नु नै हो ।

त्यसलाई डिजिटल रूपमा अगाडि बढाउँदा झनै उपयुक्त हुन्छ । जस्तो होटेलले कतै फेसबुकमा सार्वजनिक शौचालय सेवा उपलब्ध गराएको कुरा जानकारी दियो अथवा आफ्नो बोर्डमा त राख्यो ।

तर, कुनै मानिसहरूलाई कतै बीचमा शौचालय प्रयोग गर्नु पर्‍यो भने कसरी जानकारी थाहा पाउने ? त्यसका लागि मानिसहरूले सहजै एपमा कुन-कुन ठाउँमा सार्वजनिक शौचालय छ भन्ने कुराको जानकारी पाउन सके आपतकालीन अवस्थामा प्रयोग गर्न सहज हुनसक्छ ।

अहिले ‘एनी टाइम ट्वाइलेट’ एप बन्द भइसकेको भए पनि त्यसलाई आवश्यक परे पुनः प्रयोगमा ल्याउने कार्यमा आफूले साथ दिने विनयको भनाई छ । तत्काललाई सार्वजनिक शौचालयको समस्याबाट मुक्ति पाउन र दिगो रूपमा सहज किसिमले सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न ‘एनी टाइम ट्वाइलेट’ एपले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

“सार्वजनिक शौचालय कुन-कुन ठाउँमा उपलब्ध छन् भन्ने कुराको जानकारीका लागि मात्र नभइ ‘एनी टाइम ट्वाइलेट’ एप अन्य कामका लागि पनि उपयुक्त हुनसक्छ,” उनी भन्छन् ।

“अहिले कुनै पनि होटेल अथवा रेस्टुरेन्टले सार्वजनिक शौचालयको सुविधा दिने भने तापनि त्यो दिगो नहुन सक्छ । उनीहरूले प्रयोग गर्न दिएका छन् कि छैनन् भन्ने कुराको जानकारी बाहिर आउँदैन । यदि एपमा उनीहरूको शौचालय समावेश छ भने ती शौचालय प्रयोग गर्न कति मानिसहरू गए, कतिजनाले सेवा लिन पाए वा कति मानिसहरू त्यत्तिकै फर्किनु पर्‍यो भन्ने कुराको जानकारी हामीसँग हुन्छ ।” 

त्यसरी कुनै पनि रेस्टुरेन्टको शौचालय मानिसहरूले कत्तिको प्रयोग गरेका छन् भन्ने कुराले रेस्टुरेन्टहरूलाई उनीहरूको माग अनुसार वा सम्झौता अनुसारको सेवा दिन सकिन्छ । एपले शौचालय प्रयोगमा पारदर्शिता ल्याउन सघाउँछ ।

त्यस्तै कुनै ठाउँमा सार्वजनिक शौचालय पनि छैन र रेस्टुरेन्ट पनि छैनन् भने महानगरले त्यस्तो ठाउँबाट सार्वजनिक शौचालय निर्माण सुरु गर्न सक्छ । त्यस्तै कुन ठाउँमा शौचालयको माग बढी छ भन्ने कुराको जानकारी पाउन समेत सकिने भएकाले त्यस्तो ठाउँमा तत्कालै शौचालयहरू थप गर्न सकिन्छ ।

रेस्टुरेन्ट वा होटेलका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्नका लागि धेरै चुनौती हुने उनी बताउँछन् । “एपमा उनीहरूको ठाउँ समावेश गर्नु अघि हामीले उनीहरूलाई ठाउँको प्रवर्द्धन हुन्छ भनेर विश्वस्त बनाएका हुन्छौँ । तर, त्यस प्रकारको प्रवर्द्धन उनीहरूका लागि त्यति उपयुक्त नहुन सक्छ,” उनी भन्छन् ।

“त्यस्तै सार्वजनिक प्रयोजनका लागि दिइसकेपछि त्यसको व्यवस्थापनमा उनीहरूलाई धेरै समस्या भोग्नुपर्ने हुनसक्छ । त्यसैले पनि महानगरले उनीहरूको शौचालय प्रयोगमा ल्याउन खोजिरहँदा धेरै कुरामा ध्यान दिन जरुरी छ ।”

त्यस्तै काठमाडौं महानगरमा विभिन्न समस्याको दिगो समाधानका लागि विशेष अध्ययन गरेर अगाडि बढ्नु पर्ने उनको सुझाव छ । यो परियोजनालाई सामाजिक उद्यमशीलताको अवधारणा अथावा व्यवसायिक अवधारणाले अगाडि बढायो भने दिगो रूपमा सफल हुने महतको बुझाई छ ।  

‘एनी टाइम ट्वाइलेट’लाई कसैले अगाडि बढाउन चाहेको खण्डमा आफूले पूर्ण तवरले साथ दिने उनको वचन छ ।

“हामीलाई आर्थिक अभाव पनि थिएन, विचार पनि राम्रै थियो, साथ पनि थियो, इच्छा पनि थियो । तर, टिम अपरिपक्व भएकाले यसलाई अगाडि बढाउन सकेनौँ । त्यसैले यसलाई कार्यान्वयनमा ल्याउन हामी चुक्यौँ । एउटा राम्रो टिम बनाउन सकियो भने अझै पनि यसलाई प्रयोगमा ल्याउन सकिन्छ र यो सही समय पनि हो ।”

त्यस्तै कुनै पनि व्यक्ति वा संस्था ‘एनी टाइम ट्वाइलेट’को परियोजनामा जोडिएर त्यसलाई अगाडि बढाउन महतले आह्वान समेत गरेका छन् । “कुनै व्यक्ति यो परियोजनामा जोडिन चाहनुहुन्छ भने मलाई सम्पर्क (‌+६१ ४५२ ५४८ ५१७) गर्न सक्नुहुन्छ । यसमा कुनै पनि संस्था वा व्यक्तिले यो परियोजना सहकार्य वा आत्मसाथ  गर्न चाहनुहुन्छ भने म आफ्नो अनुभव बाँड्नुका साथै प्राविधिक रूपमा साथ दिन पनि तयार छु ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६