close

नछोएरै छोएको अनुभव दिने ह्याप्टिक प्रविधि

टेकपाना टेकपाना

जेठ २८, २०७९ १८:४३

नछोएरै छोएको अनुभव दिने ह्याप्टिक प्रविधि

काठमाडौं । ह्याप्टिक प्रविधिलाई किनेस्थेटिक कम्युनिकेसन वा थ्रीडी टच पनि भनिन्छ । सामान्य भाषामा बुझ्दा ह्याप्टिक प्रविधि भनेको नै स्पर्शको महसुस हुनु हो, अथवा स्पर्शबाट प्रवाह हुने सूचना नै ह्याप्टिक प्रविधि हो ।

यो प्रविधिले प्रयोगकर्तालाई कुनै बल, कम्पन, तरंग वा गतिमार्फत स्पर्शको अनुभव दिने काम गर्छ । मानवीय स्पर्शलाई विज्ञान तथा प्रविधिको प्रयोग गरी स्पर्शबिना नै स्पर्श गरेजस्तै गरी सूचना प्रवाह गर्ने प्रविधिलाई नै ह्याप्टिक प्रविधि भनिन्छ ।

यो प्रविधिको सबैभन्दा सजिलो उदाहरण हो, मोबाइलको भाइब्रेसन, अथवा कुनै एआर तथा भीआर प्रयोग गरि महसुस हुने स्पर्श । यसरी विभिन्न ठाउँमा ह्याप्टिक प्रविधि प्रयोग भइरहेको छ ।

ह्याप्टिक प्रविधि र ह्याप्टिक प्रतिक्रिया 

सुन्दा उही शब्द भएपनि यसका फरक-फरक परिभाषा छन् । ह्याप्टिक वा ह्याप्टिक्स एउटा बृहत् रुप हो, जसले फिजियोलोजी र न्यूरोसाइन्सको माध्यमबाट ह्याप्टिक टेक्नोलोजी र ह्याप्टिक प्रतिक्रिया दुवैलाई समेट्छ ।

प्रविधि र प्रतिक्रिया दुई फरक कुरा हुन् । ह्याप्टिक प्रविधिले स्पर्शको अनुभूतिलाई क्रियट गर्नको लागि प्रयोग हुने प्राविधिक प्रक्रियालाई जनाउँछ भने ह्याप्टिक प्रतिक्रियाले प्रयोगकर्तालाई स्पर्शको अनुभूति दिनको लागि समावेश गरिने सम्पूर्ण तरिका अथवा सुरुदेखि अन्त्यसम्मको प्रक्रियालाई जनाउँछ । 

ह्याप्टिकको प्रयोग 

ह्याप्टिक प्रविधिको प्रयोग मानिसहरूको दैनिकी सामान्य हुन सुरु भइसकेको छ । हामीले प्रयोग गर्ने प्रत्येक विद्युतीय डिभाइसमा ह्याप्टिक प्रविधि प्रयोग भएको हुन्छ ।

स्वास्थ्यको क्षेत्रदेखि लिएर औद्योगिक क्षेत्रमा, भर्चुअल तालिमहरूमा, खेलमा, शारीरिक रुपमा अशक्त भएको अवस्थामा लगायत टाढा बसेर रोबोटको प्रयोग गरेर गरिने कामहरू सबै ह्याप्टिकका कार्यक्षेत्रहरू हुन् ।

उदाहरणको लागि डक्टर बिना नै रोबोट प्रयोग गरेर शल्यक्रिया गर्नसक्नु, भर्चुअल खेलमा वास्तविक रुपमा छोएको जस्तै आभास हुनु, यी सबै ह्याप्टिकका कार्यक्षेत्रहरू हुन् । 

ह्याप्टिक र स्पर्शको अनुभूति 

सामान्तया हामीलाई स्पर्श अथवा छुवाईको काम धेरै ठूलोजस्तो लाग्दैन र हामी यसलाई वास्ता पनि गर्दैनौं । यद्यपि संसारमा अन्तरक्रिया गर्न, बुझ्न अथवा जान्न हामीले हेर्ने पछि छुने काम दोस्रो महत्त्वपूर्ण काम हो ।

देखिएका कुरा विश्वास गरे जस्तै छोइएका कुरामा मानिसहरू बढी विश्वास राख्ने बताइन्छ । यही कुरा आज प्रविधिको विकास सँगै हाम्रो जिवनमा थप महत्त्वपूर्ण बनेको छ । आजको दिनमा हरेक कम्पनीहरू आफ्नो विद्युतीय डिभाइसमा ह्याप्टिक प्रविधिका लागि धेरै लगानी गरिरहेका छन् । 

ह्याप्टिकको मोडालिटी तथा कार्यन्वयन 

अमेरिकाको इमर्सन कर्पोरेशनले पहिलो पटक ह्याप्टिक प्रविधिको विकास गरेको थियो । अहिले संसारका तीन अर्बभन्दा बढी डिभाइसमा इमर्सन कर्पोरेशनको ह्याप्टिक प्रविधि प्रयोग हुने गरेको छ ।

समयसँगै प्रयोगकर्ता बढ्दै जाँदा ह्याप्टिकको पनि दायरा बढ्दै गइरहेको छ । ह्याप्टिकका विशेषगरी चार प्रकारका मोडालिटी छन्; भाइब्रेसन, बटन सिमुलेसन, थर्मल र किनेस्थेटिक । 

१. भाइब्रेसन 

धेरैजसो ह्याप्टिक अनुभव भाइब्रेसनमा केन्द्रित हुन्छ । हामीले प्रयोग गर्ने मोबाइल, स्मार्टवाच, गेमिङ कन्ट्रोल लगायत अन्य वेयरेबल डिभाइसहरू भाइब्रेसन मोड्युलमा आधारित भएर तयार भएको ह्याप्टिक प्रविधि हो । 

बटन स्टिमुलेसन 

बटन स्टिमुलेसन कुनै डिभाइसको डेडिकेटेड बटन अथवा मेकानिकल बटन प्रयोग गरेर स्पर्शको अनुभव गर्न सकिने प्रविधि हो । याे माेडालिटीमा बटन थिचेको जस्तै महसुस हुने गर्छ ।

यसलाई क्लिक फिलिङ डिस्प्ले सिस्टम पनि भनिन्छ । हामीले प्रयोग गर्ने डिभाइसहरूमा उपलब्ध भर्चुअल बटन एउटा उदाहरण हो । 

थर्मल 

थर्मोइलेक्ट्रिक इफेक्ट तापक्रममा आधारित ह्याप्टिक अनुभव हो, जसमा इलेक्ट्रिक करेन्टको प्रवाहलाई प्रयोग गरेर डिभाइसमा एक प्रकारको सेन्सेसन उत्पन्न हुन्छ, जसले गर्दा प्रयोगकर्ताले डिभाइसमा भएको तातो वा चिसो महसुस गर्न सक्छ । 

किनेस्थेटिक 

यो प्रकारको ह्याप्टिक प्रविधि विशेषगरी वेयरेबल डिभाइसहरूमा प्रयोग हुनेगर्छ । यसमा प्रयोगकर्ताको शरीरमा स्पर्शको अनुभव पैदा गरिने गरिन्छ । यसको एउटा राम्रो उदाहरण भनेको ‘डेक्स्मो ह्याप्टिक ग्लब्स’ हो ।

यो विश्वको पहिलो व्यावसायिक लाइटवेट, वायरलेस, डुअल ह्यान्ड फोर्स फिडब्याक पञ्जा हो । यो पञ्जा प्रयोग गरेर भर्चुअल कुरालाई वास्तविकमा जस्तै गरी स्पर्श गर्न सकिन्छ । आँखाका लागि भीआर हेडसेटजस्तै यो पञ्जा स्पर्शको लागि बनाइएको हो, जसले भर्चुअल रुपमा स्पर्शको अनुभव दिन्छ । 

ह्याप्टिकको भविष्य 

ह्याप्टिकको सुरुवात वास्तवमा प्रयोगकर्ताको भर्चुअल अनुभवलाई सुधार गर्नका लागि गरिएको थियो । भर्चुअलको यो युगमा मानिसहरूलाई वास्तविक स्पर्शको महसुस गराउने गरी यसको डिजाइन गरिएको छ ।

मानिस र मसिनबीचको सम्बन्धलाई ह्याप्टिकले नयाँ आयाम दिएको छ । भोलिको दिनमा यसको दायरा कहाँसम्म पुग्नेछ र मानिसहरूले यसको प्रयोग कतिसम्म गर्नेछन् भनेर ठ्याक्कै यकिन गर्न सकिँदैन ।

तर स्पर्शको भाषालाई ह्याप्टिकले नयाँ रुपमा परिभाषित गरेको छ, जसप्रति मानिसहरू थप अभ्यस्त हुँदै जानेछन् ।

-एजेन्सीकाे सहयाेगमा                                

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६