close

शुद्ध शाकाहारी होटल-रेस्टुरेन्ट खोज्न मिल्ने मोबाइल एप ‘ह्याप्पी काउ’

टेकपाना टेकपाना

जेठ ३०, २०७९ १२:९

शुद्ध शाकाहारी होटल-रेस्टुरेन्ट खोज्न मिल्ने मोबाइल एप ‘ह्याप्पी काउ’

काठमाडौं । कतै घुम्न जाँदा होस् वा घर बाहिर खाना तथा खाजा जाँदा नै किन नहोस्, शाकाहारी खानाको परिकार पाउन प्रायः गाह्रै हुन्छ । त्यसमाथि झन् शुद्ध शाकाहारी खाना खानको लागि त अझै सकसपूर्ण हुने गर्छ । कहिले काहीँ त शाकाहारी खानाको नाममा मांसाहारी परिकार नै पकाएको भाँडामा पकाएको खाना खान बाध्य हुनुपर्छ ।

यो धेरैजसो शाकाहारीहरूले भोग्ने समस्या हो । यद्यपि यो समस्यालाई सम्बोधन गर्न एउटा मोबाइल एप तयार भएको छ; ‘ह्याप्पी काउ’ । यो विशेष गरी शाकाहारी व्यक्तिहरूका लागि तयार गरिएको एप हो ।

एपमा विश्वका विभिन्न देशहरूमा भएका शाकाहारी खाना उपलब्ध हुने होटेल तथा रेस्टुरेन्टहरूको बारेमा सम्पूर्ण विवरण राखिएको छ । नेपाल भित्र मात्र होइन, नेपाल बाहिर जाँदा पनि प्रयोगकर्ताले आफू वरपर भएका शाकाहारी भोजनालयहरू सहजै भेट्न सक्छन् । 

ह्याप्पी काउको अवधारणा सन् १९९७ मै आएको हो । यद्यपि यसको सुरुवात भने १९९९ मा मात्र भयो । त्यो एउटा यस्तो समय थियो, जतिखेर मानिसहरू अनलाइन सेवाहरूमा त्यति अभ्यस्त थिएनन् ।

एपका संस्थापक एरिक ब्रेन्ट आफैँ पनि भिगन (कुनै जनावरको मासु अथवा जनावरबाट उत्पादित सामग्री जस्तै दही, दूध तथा दूधबाट बनेका परिकार समेत नखाने व्यक्ति) हुन् । ५० भन्दा धेरै देश घुमसिकेका ब्रेन्टलाई घरबाट बाहिर जाने बित्तिकै शाकाहारी खाना कहाँ खानेहोला भनेर चिन्ता लिनुपर्ने हुन्थ्यो ।

त्यसपछि उनी आफैँले भोगिरहेको समस्याको समाधान गर्ने सोचलाई व्यवसायमा परिणत गर्ने विचार गरे । यसरी सन् १९९९ मा “ह्याप्पी काउ”को जन्म भयो । त्यसका लागि उनी आफैँले एचटीएमएल, वेब होस्टिङ लगायतका आवश्यक प्राविधिक सीपहरू सिके ।

“ह्याप्पी काउ”ले एरिकसँगै धेरै भेगनको जीवन सहज बनाइदियो । कुन ठाउँमा गएर खाने होला भन्ने शाकाहारी व्यक्तिहरूको चिन्ता यो एपले दूर गरिदिएको छ ।

प्रयोगकर्ताले आफ्नो वरपर भएका शाकाहारी भोजनालय र त्यहाँ केके परिकार पाइन्छ भन्ने लगायतका विवरणहरू सहजै ह्याप्पी काउ एप अथवा वेबपेजमा गएर हेर्न सक्छन् । साथै प्रयोगकर्ता आफैँले पनि कुनै नयाँ ठाउँ भएमा यो एपमा थप गर्न सक्छन् । 

एपमा के के छन् सुविधा 

विभिन्न स्थानमा रहेका शाकाहारी होटेल तथा रेस्टुरेन्टहरूको विवरणसँगै यो एपमा शाकाहारीहरूका लागि आवश्यक अन्य विभिन्न सेवाहरू पनि उपलब्ध छन् । जस्तो कि यो एपमार्फत प्रयोगकर्ताले विभिन्न शाकाहारी खानाहरू कसरी तयार गर्ने लगायतका जानकारीहरू पनि पाउन सक्छन् ।

साथै एपमा भएको ‘फोरम एन्ड च्याट बोर्ड’  मा गएर शाकाहारी खानाहरूको विषयमा विभिन्न छलफल तथा लेखहरू पढ्न, आफ्नो विचार व्यक्त गर्न, प्राणी अधिकारको विषयमा छलफल, स्वास्थ्यको विषयमा जानकारी, काचो खानामा कसरी निर्भर हुने लगायतका विविध विषयहरूमा जानकारी लिन तथा आफूसँग भएका जानकारीहरू शेयर गर्न सकिन्छ । 

साथै शाकाहारी व्यक्ति लामो यात्रामा निस्कँदा केके आवश्यक पर्छ, कसरी यात्रा गर्न सकिन्छ लगायतका विषयमा पनि जानकारी पाउन सकिन्छ । यो एपले शाकाहारीहरूको जीवन सहज बनाउन मद्दत गरेको एरिक बताउँछन् । 

ह्याप्पी काउ एपमा नेपाल 

हाल ह्याप्पी काउ एपमा विश्वभरका १८० देशका १ लाख ७६ हजार १०८ ओटा रेस्टुरेन्टहरूको विवरण उपलब्ध छ । जसमध्ये ५९ हजार ८८२ उत्तर अमेरिका, ७६ हजार ८८८ युरोप, १० हजार १४२ ओसियाना, २१ हजार २२७ एसिया तथा मध्य पूर्वी क्षेत्रको, ६ हजार ६२२ दक्षिण अमेरिका र  एक हजार ३४७ अफ्रिकाका रेस्टुरेन्टको विवरण एपमा छ । 

यो एपमा नेपालका भने १६५ ओटा रेस्टुरेन्टहरूको विवरण मात्रै उपलब्ध छ । जसअनुसार भरतपुर, विराटनगर, पोखरा, काठमाडौं, ललितपुर, लुम्बिनी लगायतका ठाउँहरूमा भएका रेस्टुरेन्टहरू फेला पार्न सकिन्छ । यी ठाउँहरूमा आफ्नो आवश्यकता अनुसारको विभिन्न रेस्टुरेन्ट खोज्न सकिन्छ ।

जस्तो कि पूर्ण शाकाहारी खाना कहाँ पाइन्छ (जहाँ कुने पनि जनावरको उत्पादनहरू प्रयोग गरिएको हुँदैन), मांसाहारी बाहेक शाकाहारी मात्रै खाना पाउने ठाउँ तथा मांसाहारीसँगै शाकाहारी पनि पाउने ठाउँहरू आफैँले छनौट गरेर फेला पार्न सकिन्छ । 

ह्याप्पी काउ वेबसाइटसँगै आईओएसएन्ड्रोइडमा पनि उपलब्ध छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६