close

ह्वाट्सएपमा अपरिचित कल उठाउँदा अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्न थाले

रामहरि कोइराला रामहरि कोइराला

जेठ ३०, २०७९

ह्वाट्सएपमा अपरिचित कल उठाउँदा अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्न थाले

मैले सामाजिक सञ्जाल चलाउन थालेको १० वर्ष भयो । यतिका समयमा पहिलोपटक म यस्तो घटना र आपराधिक मानसिकताको शिकार बनेँ । म जस्ता अरु युवा शिकार नबनुन् भनेर यो ब्लग लेख्दैछु । 

सोमबार बिहान ११ बजेतिर म आफ्नो कार्यालयमा थिएँ । एकाएक नयाँ नम्बरबाट ह्वाट्सएपमा रिक्वेस्ट मेसेज आयो । सामान्य रुपमा हेर्दा ‘फेक प्रोफाइल’ जस्तो पनि लागेन । मैले सधैँ झैँ ‘मेसेज रिक्वेस्ट एसेप्ट’ गरेँ । 

केही मिनेट नबित्दै ह्वाट्सएपमा नयाँ नम्बरबाट कल आयो । मैले कल उठाएँ, भिडि‌‌ओ कल रहेछ । स्क्रिनमा देखिएकी अन्दाजी २१ वर्षकी ती युवती आफ्नो कपडा खोल्न थालिन् र हेर्दाहेर्दै निर्वस्त्र भइन् । एकछिन त मैले केही सोच्न, विचार गर्नै सकिनँ । जीवनमा पहिलो पटक यस्तो घटना ममाथि भइरहेको थियो ।

अप्रत्याशित रुपमा यस्तो घटना घटेपछि कसरी प्रतिक्रिया जनाउने भन्ने कुराको भेउ नपाइँदो रहेछ । कार्यालयमा सँगै रहेका साथीहरूको सल्लाहमा मैले भिडिओ अफ गरेँ र लगत्तै कल काटेँ । 

मैले कल काटेपछि केही मेसेजहरू आए जसमा मलाई फेरि कलमा जोडिन प्रस्ताव गरिएको थियो । मैले मानिनँ । यतिन्जेल मलाई यो कुनै उग्र यौन चाहना भएकी युवतीको हर्कत हो कि भन्ने लाग्यो । कहाँ फसियो भनेर दिमाग रन्थनियो । 

एकैछिनमा ह्वाट्सएपमा एउटा भिडिओ प्राप्त भयो । खोलेर हेरेँ । त्यसमा भर्खरै भएको करिब एक मिनेटको भिडिओ कल र नजाने कसको ५० सेकेन्ड जतिको हस्तमैथुन गरेको भिडिओ जोडेर, मेरो नाम, मोबाइल नम्बर सहित भिडिओ बनाइएको रहेछ ।

भिडिओ हेर्दाहेर्दै अर्को मेसेज आयो । भिडिओ डिलिट गर्न पैसा लाग्छ, पैसा नदिए भिडियो भाइरल गरिदिन्छु भनेर चेतावनीपूर्ण मेसेज आउन थाले । 

करिब १५ मिनेटभित्रै यो सम्पूर्ण घटना घट्यो । मलाई लगातार धम्कीपूर्ण मेसेजहरू आउन थाले । पाँच मिनेटभित्र पैसा नदिए भिडिओ भाइरल गरिदिने भन्दै झन्डै सय ओटा भिडिओ मेसेज आए । मैले ती भिडिओ नखोली हटाइदिएँ ।

अनि ह्वाटस एप अनइस्टल गरेँ । सार्वजनिक छवि भएका युवाहरूलाई लक्षित गर्दै यसरी ब्ल्याकमेल हुने गरेको जानकारी पाएपछि मैले आम जनचेतनाका लागि यो ब्लग लेखेको हुँ । 

सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा विधिको अवलम्बन गर्न चुकियो भने यस्ता आपराधिक गिरोहहरूको फन्दामा परिँदो रहेछ । अब नेपाल प्रहरीको साइबर ब्यूरो, सूचना प्रविधि तथा साइबर सुरक्षाका साथीहरू आदिको सहयोगमा यसमा संलग्न गिरोहलाई कानूनी दायरामा ल्याउनेतर्फ मेरो प्रयास रहनेछ ।   

ह्वाट्सएपमार्फत कल गरेर मेरो टाउको भएको भिडिओ खिचेर आपराधिक गिरोहले त्यसमा अश्लील भिडिओ जोडी मेरा आफन्त तथा साथीभाइहरूलाई मेसेज पठाउन थालेको छ । त्यसैले उक्त मेसेज बेवास्ता गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

साथै उक्त मेसेज खोलेर आफूलाई पनि यस्तै अर्को शिकार नबनाउनुहोला । मेरो फेसबुकको फ्रेन्ड्स लिस्ट र व्यक्तिगत विवरण सबैले हेर्न मिल्नेगरी खुल्ला रहँदा यस्तो आपत आइपरेको हो कि भन्ने पनि लागेको छ ।

यो घटनापछि मैले आफ्नो फेसबुकमा रहेका साथीहरूको सूची र व्यक्तिगत विवरण गोप्य तुल्याइसकेको छु । साइबर अपराध र ब्ल्याकमेलिङको दुनियाँ खतरनाक छ, सावधान ! तपाईँ भने सुरक्षित रहनुहोला !

पछिल्लो अध्यावधिक: असोज २, २०७९