close

सरसफाइका लागि अनलाइनबाटै कामदार बोलाउन मिल्ने प्लेटफर्म

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ ३१, २०७९ १४:३८

सरसफाइका लागि अनलाइनबाटै कामदार बोलाउन मिल्ने प्लेटफर्म

काठमाडौं । समयको मागअनुसार हरेक कुरा डिजिटलाइज हुने सिलसिला जारी छ । विभिन्न क्षेत्रमा इन्टरनेटको विस्तार भएसँगै मानिसहरू आफूलाई आवश्यक पर्ने सेवा अनलाइनबाट लिन रुचाउन थालेका छन् ।

घरायसी कामका लागि आवश्यक प्राविधिक, मर्मत सम्भारमा काम गर्ने व्यक्ति कतै अन्त खोज्न सकस पर्छ । आफ्नो ठाउँमा भएका कोही एक/दुई जना पनि कतै गएका छन् भने अत्यावश्यक परेको बेला अर्को व्यक्ति पाउन झन्झट नै हुन्छ ।

त्यसैले प्राविधिक तथा मर्मत सम्भारका काम गर्ने व्यक्तिसँग अनलाइनबाटै सम्पर्क गरेर आफ्नो समस्या हल होस् भन्ने चाहना धेरैलाई हुनसक्छ ।

त्यसैलाई मध्यनजर गर्दै मानिसहरूले घरायसी सरसफाइका लागि लाग्ने शुल्क र कामदारको जानकारी सहजै पाउन् भन्ने उद्देश्यले नाै वर्षअघि कमल थापाले रोयल क्लिनिङ सर्भिस एण्ड सप्लायर्सको अवधारणा ल्याए ।

के हो त रोयल क्लिनिङ सर्भिस एण्ड सप्लायर्स ?

पछिल्लो एक दशकलाई आधार मान्ने हो भने नेपालमा पनि इन्टरनेट प्रयोगकर्ताको संख्या उकालो लागिरहेको छ । काठमाडौं उपत्यका र देशका मुख्य सहरमा इन्टरनेटको पहुँच विस्तार भइरहेको छ ।

यही सिलसिलामा इन्टरनेटमा आधारित नवीनतम सोच भएका व्यवसाय सुरु भइरहेका छन् । आफू अन्य कामकाजमा व्यस्त हुन थालेपछि कमललाई घरमा सरसफाइका गरिदिने कामदार चाहियाे ।

‘तर यताउता बुझ्दा सरसफाइमा काम गर्ने व्यक्ति सजिलाेगरी पाउन सकिएन ,’ उनले भने, ‘समस्याबाटै समाधानको उपाय निस्कन्छ भनेझैं मैले अनलाइनबाट सरसफाइजन्य कामदार कसरी मगाउन सकिन्छ भन्ने विषयबारे अध्ययन गर्न थालेँ ।’

सरसफाइमा काम गर्न चाहने व्यक्ति पनि रोजगार बन्ने र सेवाग्राहीले छिटो छरितो सेवा पाउने निष्कर्ष निकालेपछि कमलले ‘रोयल क्लिनिङ सर्भिस एण्ड सप्लायर्स’ नामकाे कम्पनी सुरू गरे ।

यसपछि कम्पनीमा भीम मगर निर्देशकका रूपमा जाेडिए ।

‘त्यसबेला पनि सरसफाइ सेवा दिने विभिन्न कम्पनी थिए । तर अनलाइनबाट यस्ताे अवधारणा ल्याउने हामी नै पहिलो हौं,’ निर्देशक भीम मगरले भने ।

उनले अगाडि भने, ‘मानिसहरूलाई आफ्नो घर/कार्यालयमा सरसफाइका लागि कामदार आवश्यक परेको पायाैं । अझै पनि धेरै ठाउँमा त्यस्तै अवस्था छ । मानिसहरूलाई के कुराको सरसफाइका लागि कामदार चाहिएको हो, त्यो उनीहरूले हाम्रो वेबसाइटमा गई जानकारी दिएपछि हामीले कामदार पठाउँछौं ।’

कसरी दिइरहेको छ सेवा ?

रोयल क्लिनिङ सर्भिस विशेषगरी सरसफाइका काममा केन्द्रित छ ।

‘सेवाग्राहीले आफूलाई के कुराको सरसफाइका लागि कामदार चाहिएकाे छ भनेर वेबसाइटमा भएको नम्बरमा जानकारी दिनुपर्ने हुन्छ,’ कम्पनीका अध्यक्षसमेत रहेका थापाले भने, ‘त्यसपछि कम्पनीले कति जना कर्मचारी आवश्यक पर्छ र सो काम सम्पन्न गर्न के-कस्ता सामग्री आवश्यक पर्छ भन्ने कुरा विश्लेषण गरी सोही अनुसारका कामदार र सामग्री पठाउने गर्छ ।’

यदि कसैलाई घरमा सरसफाइमा आवश्यक सामग्री (जस्तै; ग्रिन्डर मसिन, डिस्क मसिन, भ्याकुम क्लिनर, विभिन्न रसायनहरू, सेफ्टी बेल्ट, स्टाटिक रोप, सेफ्टी हेल्मेट आदि) पनि कम्पनीबाटै किन्नसक्ने उनले जानकारी दिए ।

त्यस्तै घर सरसफाइका विभिन्न सेवा जस्तै; हाउसमेड सर्भिस (लुगा धुने, बाथरुम पोलिस गर्ने, भाँडा सफा गर्ने, लुगा/कपडा मिलाउने, आइरन लगाउने र आवश्यकता अनुसार विभिन्न सरसफाइका काम), मासिक कार्यालय सरसफाइ गर्ने कामदार, सोफा सफा गर्ने, मार्बल पोलिस गर्ने, पेन्टिङ सेवा, गाडी सफा गर्ने, ग्लास सफा गर्ने, बगैँचा सफाइका सेवा लिन सकिने उनीहरू बताउँछन् ।

त्यसबाहेक पनि कम्पनीले विभिन्न विषयमा ट्युसन र वृद्ध-वृद्धाको मान्छेको हेरचाह सेवा उपलब्ध गराउन थालेकाे छ ।

‘ट्युसन एण्ड ट्युटर सर्भिस र बुढा मान्छेको सेवा गर्ने सुविधा उस्तै प्रकृतिका सेवा हुन् । ट्युसन एण्ड ट्युटरमा विद्यार्थीले आफूलाई आवश्यक परेका विषयका शिक्षकका लागि साइटमा गई दर्ता गर्नुपर्ने हुन्छ,’ मगरले भने, ‘उनीहरूले शिक्षक खोजी गरेबापत केही सेवा शुल्क तिर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीले उनीहरूको आवश्यकता अनुसारका शिक्षकहरूसँग भेट गराइदिन्छन् । भेटपछि शिक्षक र विद्यार्थीको सहमतिमा कसरी पढाउने भन्ने कुरा अघि बढ्छ ।’

त्यस्तै शिक्षकले पनि आफूले पढाउन चाहेको विषय र आफ्नो योग्यता उल्लेख गरी साइटमा दर्ता गर्नुपर्ने व्यवस्था ल्याइएकाे छ । त्यही अनुसार कम्पनीले कुन विद्यार्थीका लागि कुन शिक्षक उपयुक्त हुन्छ भन्ने कुरा विश्लेषण गरी शिक्षक र विद्यार्थीको भेट गराउने गर्छ ।

‘यसमा विद्यार्थीले एकपटक सेवा शुल्क तिरेपछि कम्पनीलाई कुनै शुल्क तिर्नुनपर्दैन,’ मगरले भने, ‘त्यस्तै वृद्ध वृद्धाको स्याहार गर्ने सन्दर्भमा पनि यही लागू हुन्छ । हामीले स्याहारकर्ता र सेवाग्राहीलाई जोडिदिने काम गर्छौं ।’

किन रोयल क्लिनिङ सर्भिस एण्ड सप्लायर्स नै ?

रोयल क्लिनिङ सर्भिसमा सेवाग्राहीले सरसफाइबाहेक थप अन्य सेवा जस्तै सरसफाइका सामग्री, स्याहारकर्ता, ट्युसन पढाउने शिक्षक आदि पाउन सकिन्छ ।

‘घर तथा कार्यालयमा कुनै पनि सरसफाइका कामदार आवश्यक पर्‍यो भने सेवाग्राहीले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । त्यसपछि उहाँहरूको कामका लागि आवश्यक सामग्रीसहित हामी कामदार पठाउँछौं,’ संस्थापक थापाले भने, ‘त्यसबाहेक पनि हामी सरसफाइका लागि जरुरी भएका सामग्रीहरू उचित मूल्यमा उपलब्ध गराउने गर्छौं ।’

विशेषगरी सरसफाइका कार्यमा केन्द्रित यो कम्पनीले घर तथा कार्यालयमा सरसफाइका सेवा उपलब्ध गराउँदै आएको छ ।

यदि कसैलाई सरसफाइ गर्ने कामदार आवश्यक परेका छन् भने उनीहरूले साइटमा गई फोन गरेर बुक गर्न सक्नेछन् । उनीहरूको आवश्यकता हेरी कम्पनीले आफ्ना कर्मचारीहरू पठाउने गर्छ ।

‘सरसफाइका लागि आफूलाई आवश्यक पर्ने कामदार कम्पनीले खोजी दिन्छ,’ थापाले भने, ‘हामीले पठाएका कामदारको जिम्मा हामीले नै लिने भएकाले केही गल्ती भए कम्पनी नै जिम्मेवार हुनेछ ।’

जनशक्तिलाई कामसँग जोड्दै

रोयल क्लिनिङ सर्भिसमा हाल ११० जनाभन्दा बढी जनशक्ति विभिन्न रूपमा कार्यरत छन् । त्यसबाहेक पनि कम्पनीले समय समयमा विभिन्न पदमा जनशक्तिलाई रोजगारका लागि आह्वान गरिरहेको हुन्छ ।

‘मानिसहरू आफूले जानेका सरसफाइका कामबाट आम्दानी गर्नसक्छन् । त्यस्तै कोही शिक्षकहरू, जसलाई ट्युसन पढाउन विद्यार्थी आवश्यक छ भने उनीहरूले पनि कम्पनीमार्फत विद्यार्थी पाउन सक्छन्,’ निर्देशक मगरले भने, ‘त्यसपछि विद्यार्थी र शिक्षकबीच सहमति भएर त्यही अनुसार पठनपाठन हुन्छ । यसरी कम्पनीले शिक्षक र विद्यार्थीलाई जोडेर शिक्षकलाई रोजगारीको अवसर सिर्जना गरिरहेको छ ।’

चुनौती र भावी योजना

हरेक क्षेत्रमा चुनौती त हुन्छन् नै । जसले ती चुनौतीलाई सामना गरी अवसरमा परिणत गर्छ, उसले नै आफूले थालेको काममा सफलता पाउँछ ।

‘बजारमा प्रतिस्पर्धा देखिएकाे छ । यस्ताे प्रकृतिकाे व्यवसायमा अरू कम्पनी पनि जाेडिएका छन् । उनीहरूभन्दा गुणस्तरीय सेवा दिने प्रयास जारी छ,’ संस्थापक थापाले सुनाए ।

उनी भन्छन्, ‘सरसफाइ गर्न उपयोगी हुने विभिन्न प्रविधि विदेशी बजारमा आइसकेका छन् । मानिसहरू त्यस्ता उन्नत प्रविधिबाट सेवा लिन खोज्छन्, जुन नेपालमा ल्याउन सकिएको छैन ।’

कम्पनीलाई अर्को चुनाैती पर्याप्त जनशक्ति नहुनुमा छ । ‘मानिसहरू क्लिनिङ कम्पनीमा लागिसकेको १/२ वर्षपछि विदेश जान रुचाउँछन् । तालिम दिएर तयार पारेका जनशक्ति केही समयमै बाहिर जाँने हुँदा हामीलाई दक्ष जनशक्ति आवश्यक भइरहन्छ,’ उनले भने ।

उनले थपे, ‘हाम्रा सेवाग्राहीले उन्नत प्रविधिबाट गुणस्तरीय सेवा लिन खाेज्छन् । हामीले उनीहरूको इच्छा पूरा गरिदिएका पनि हुन्छौं । तर, शुल्क तिर्ने बेला महँगो भएको गुनासो गर्छन् । यसमा सेवाग्राहीले हाम्रो परिस्थिति बुझिदिनुपर्छ ।’

भविष्यमा अहिलेको सेवालाई अझ विस्तार गर्दै जाने कम्पनीको योजना छ ।

‘हामीले अहिले उपत्यकासहित पोखरा र दाङमा सेवा दिइरहेका छौं । अन्य जिल्लामा पनि सेवा विस्तार गर्दै छाैं,’ संस्थापक थापाले भने, ‘भोलिका दिनमा यसलाई देशव्यापी रूपमा फैलाउने योजना छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३