close

फेसबुकमा आएको गुनासो पछ्याउँदा समातिए भ्लगर

टेकपाना टेकपाना

असार १, २०७९ १४:८

फेसबुकमा आएको गुनासो पछ्याउँदा समातिए भ्लगर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालयको फेसबुक पेजमा आएको गुनासोको आधारमा युट्युबका कन्टेन्ट क्रियटर एवं भ्लगरलाई नियन्त्रणमा लिइएकाे छ ।

फुटपाथ लगायत सार्वजनिक स्थानमा साइकल चलाएर सर्वसाधारणलाई दु:ख दिएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक, ट्वीटर पेज लगायत अन्य विभिन्न माध्यममा गुनासो आएको थियो ।

साेही गुनासोको आधारमा प्रहरीले युट्युबमा आफ्नो साइक्लिङको भ्लग बनाउने राजकुमार थापा मगरलाई प्रहरी कार्यालयमा उपस्थित गराएको हो ।

मगरले केही दिनअगाडि आफ्नो युट्युब च्यानलमा एउटा भ्लग हालेका थिए, जहाँ पशुपतिमा उनी र उनका साथीले साइक्लिङ गर्दै गरेको देख्न सकिन्छ ।

साइक्लिङ गरेकै बेला अचानक उनका साथीले एकजना व्यक्तिलाई साइकलले हान्न पुग्छन् र स्थिति केही समयका लागि तनावपूर्ण हुन्छ ।

यो भिडिओ अहिले टिकटकमा पनि निकै नै भाइरल भइरहेको छ । यही विषयलाई लिएर नेपाल प्रहरीको सामाजिक सञ्जाल पेजमा केही व्यक्तिहरूले भ्लगको नाममा सर्वसाधारणलाई दुःख हुने काम गरिरहेको भन्दै गुनासो गरेका थिए ।

साथै भ्लगको नाममा ट्राफिक नियम उल्लंघन पनि गरेको आरोप लगाइएको छ । यही विषयलाई लिएर ट्राफिक प्रहरीले मगर र उनको साथीलाई कार्यालयमा उपस्थित गराई ‘उपयुक्त कारबाही’ गरेको जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३