close

अब लुम्बिनी प्रदेशका सबै सरकारी निकायको सूचना एउटै एपमा

टेकपाना टेकपाना

असार १, २०७९ २१:१२

अब लुम्बिनी प्रदेशका सबै सरकारी निकायको सूचना एउटै एपमा

काठमाडौं । अब लुम्बिनी प्रदेश अन्तर्गतका सबै सरकारी निकायको सूचना एउटै मोबाइल एपमा उपलब्ध हुने भएको छ ।

बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सबै निकायका सूचना तथा अभिलेख एउटै मोबाइल एपमार्फत उपलब्ध गराउने योजना ल्याएका हुन् ।

मन्त्री खड्काले ‘डिजिटल प्रदेशको आधारः हात हातमा प्रदेश सरकार’ नाराका साथ यो परियोजना अघि बढाइएको बताए ।

प्रदेश सरकारका सबै निकायका सूचना तथा अभिलेखका लागि मोबाइल एप तयार गरी सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ । यसले नागरिकमाझ प्रदेश सरकारको पहुँच अभिवृद्धि गर्न मद्दत पुग्ने अपेक्षा प्रदेश सरकारले लिएको छ ।

यसका साथै प्रदेशलाई डिजिटल बनाउन सूचना प्रविधि नीति तथा डिजिटल प्रदेशको गुरुयोजना तयार गर्ने काम समेत अघि बढाइने मन्त्री खड्काले बताए । साथै प्रदेश अन्तर्गतका सम्पूर्ण डेटालाई व्यवस्थित गर्न डेटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम समेत बजेटमा समेटिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३