close

सीएनसी प्रोग्रामिङ ल्याङ्ग्वेज के हो अनि तपाईँका लागि कति आवश्यक छ ?

टेकपाना टेकपाना

असार ३, २०७९ १५:४५

सीएनसी प्रोग्रामिङ ल्याङ्ग्वेज के हो अनि तपाईँका लागि कति आवश्यक छ ?

काठमाडौं । तपाईं प्रोग्रामिङ शब्दसँग परिचित हुनुहुन्छ भने एचटीएमएल, सीएसएस, सी प्लस प्लस जस्ता प्रोग्रामिङिङ ल्याङ्वेजको बारेमा पनि सुन्नु भएकै होला । प्रोग्रामिङको संसारमा यस्ता थुप्रै ल्याङ्ग्वेज रहेका छन्, जसले सूचना तथा प्रविधिको भविष्य निर्धारण गर्दछन् ।

प्रोग्रामिङ ल्याङ्वेजलाई विशेषगरि तीन क्षेत्रमा विभाजन गरिएको छ । जसमा प्रोसिजरल प्रोग्रामिङ ल्याङ्वेज, फङ्सनल प्रोग्रामिङ ल्याङ्ग्वेज र स्क्रिप्टिङ प्रोग्रामिङ ल्याङ्वेज रहेका छन् । आज हामी प्रोसिजरल मध्येको एक सीएनसी (कम्प्युटर न्युमेरिकल कन्ट्रोल प्रोग्रामिङ) को बारेमा चर्चा गर्दै छौँ ।

उत्पादकले मसिनलाई नियन्त्रण गर्न कम्प्युटर इन्स्ट्रक्सनका लागि प्रोग्राम कोडिङ गर्दा सीएनसी प्रोग्रामिङ ल्याङ्वेज प्रयोग गर्छन् । सीएनसी प्रोग्रामिङ ल्याङ्वेज उत्पादन प्रक्रियामा निकै समावेश हुने गर्छ ।

यो त्यस्ता मसिनमा प्रयोग हुने गर्छ, जसलाई एउटा निश्चित नापमा काम गर्नुपर्ने हुन्छ । सीएनसी मसिनले एक डिजिटल फाइललाई कम्प्युटर इन्स्ट्रक्सनलाई एउटा सिक्वाइन्समा परिणत गर्दछ ।

जसमार्फत पछि मोटराइज टुल जस्तै मिल राउटर ग्राइन्डर पठाइन्छ र उक्त टुलले विभिन्न प्रकारका सामग्रीलाई सही तरिकाले काट्ने काम गर्दछ । यसको प्रयोग गरी विभिन्न आकारका सामग्री निर्माण गर्न सकिन्छ ।

यस्ता थुप्रै सीएनसी मसिन छन्, जसको उपयोग मसिनका विभिन्न भाग बनाउन र थ्रीडी प्रिन्टेड सामग्री बनाउनमा प्रयोग गर्ने गरिन्छ । त्यस्तै केही सीएनसी मसिनहरूका बारेमा तल उल्लेख गरिएको छ ।

१. राउटर मसिन

राउटर विभिन्न सामग्री जस्तै काठ, प्लास्टिक वा धातु जस्ता सामग्री निश्चित आकारमा काट्न प्रयोग गर्ने गरिन्छ । जसरी प्रयोगकर्ताले राउटरमा सूचना राख्छन्, त्यसै आधारमा मसिनले निश्चित आकारमा काट्ने काम गर्छ ।

२. लेजर मसिन

लेजर पनि धातु, प्लास्टिक वा काठका सामग्री निश्चित आकारमा काट्नका लागि प्रयोग गर्ने गरिन्छ ।

३. प्लाज्मा मसिन

यसको प्रयोग पनि धातु वा काठ निश्चित आकारमा काट्न गरिन्छ । मसिनले प्लाज्मा कटर टर्चको प्रयोग गर्छ । जुन कम्प्युटरबाट नियन्त्रित हुन्छ । लेजर कटिङ वा प्लाज्मा दुवै प्रक्रियालाई काम गर्न ग्यासको सहयोग आवश्यक पर्छ ।

४. लेथ (Lathe)

सीएनसी लेथ वा टर्निङ मसिन टर्निङ वा ड्रिलिङ गर्नका लागि प्रयोग गर्ने गरिन्छ । टर्निङ वा ड्रिलिङ मसिन विशेषतः स्लट (लामो, साँघुरो भाग जुन कुनैमा राख्ने गरिन्छ जस्तै नट) वा सिलिन्डर बनाउन प्रयोग गरिन्छ ।

५. ड्रिल

कुनै पनि सामग्रीमा प्वाल बनाउन ड्रिलको प्रयोग गर्ने गरिन्छ । जुन कुनै पनि सामग्री एसेम्बल गर्न प्रयोग गरिन्छ ।

कसरी काम गर्छ ?

कुनै पनि सीएनसी मसिनलाई कम्प्युटर सफ्टवेयरले नियन्त्रण गर्छ । त्यसैले सीएनसी मसिन प्रोग्राम अनुसारकै हुनुपर्ने हुन्छ । यदि प्रोग्रामिङ गतिलो भएन भने त्यसमा त्रुटि आउने, कमजोर सतह बन्ने, टुल टुट्ने जस्ता विभिन्न समस्या आउन सक्छन् ।

त्यसैले हरेक भागबाट सही परिणाम आउनका लागि प्रोग्रामर वा अपरेटर दुवैमा सीएनसी प्रोग्रामका बारेमा आधारभूत जानकारी हुन आवश्यक छ । सीएनसी मसिन विकास गर्ने तीन प्रमुख पद्धति छन्, म्यानुअल (Manual), कन्भर्सेसनल (conversational) र क्याम ( CAM-Computer Aided Manufacturing)

म्यानुअल प्रोग्रामिङमा अपरेटरले म्यानुअल्ली कोड इन्पुट गर्दछन् । जुन धेरै नै समय खपत गर्ने किसिमको हुन्छ । त्यसका लागि प्रोग्रामिङको ज्ञान धेरै हुन आवश्यक छ । कन्भर्सेसनल प्रोग्रामिङ तीव्र गतिमा प्रख्यात हुने विधि हो ।

जसमा ग्राफिक, मेनु ड्रिभन फङ्सन उपस्थित हुन्छ । यसमा अपरेटरले म्यानुअल प्रोग्रामिङको जस्तै प्रत्यक्ष सीएनसी मसिनमा कमाण्ड इन्पुट गर्दछन् । एउटा लिस्टबाट कुन काम गर्ने भन्ने छानिन्छ ।

त्यसपछि आवश्यक जानकारी प्लगइन गरिन्छ । त्यसैलाई मसिनले कार्यान्वयन गर्छ । क्याम सिस्टम प्रोग्रामिङ कन्भर्सेसनल विधि जस्तै भएपनि त्यसभन्दा उन्नत मानिन्छ । जसले गति बढाउनुका साथसाथै जटिलता कम गर्न निकै सहयोग गर्छ ।

क्याम सिस्टममा सफ्टवेयर, टुल, पाथ, स्ट्राटिजीका साथ एक उन्नत जीयूआई (ग्राफिकल युजर इन्टरफेस) उपलब्ध गराउँछ । जसले गर्दा अपरेटरले सजिलैसँग प्रोग्राम तयार गरेर उत्पन्न गराउन सक्छन् ।

यसले त्यहाँ म्यानुअल प्रोग्रामिङ गर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । यसरी निर्माण गरिएको प्रोग्राम सोझै सीएनसी मसिनमा प्रयोग गरिन्छ । यि सबै सीएनसी प्रोग्रामिङ मसिनको प्रोग्रामिङ विधिमा जी-कोड र एम-कोड प्रयोग गर्ने गरिन्छ ।

१. जी-कोड

जी-कोड त्यस्तो प्रोग्रामिङ ल्याङ्वेज हो, जसले सीएनसी मसिनलाई के गर्ने भन्ने निर्देशन दिन्छ ।

२. एम-कोड

एम-कोडले सीएनसी मसिनको हरेक कार्यलाई नियन्त्रण गर्छ । जस्तै स्पेन्डल रोटेसनलाई स्टार्ट र अफ । त्यस्तै एम-कोड कस्टमाइजेबल हुन्छ र मसिन अनुसार फरक-फरक हुने गर्छ । त्यसैले अपरेटर र प्रोग्रामरले धेरै पटक जाँच गरेर मात्र सही फङ्सनलाई इन्पुट गर्नुपर्ने हुन्छ ।

कस्ता उद्योगहरूमा बढी प्रयोग हुन्छ सीएनसी ल्याङ्ग्वेज ?

सीएनसी मसिनले धेरै उद्योगहरूमा निकै महत्त्वपूर्ण  भूमिका निभाउने गर्छ । जस्तै यो अटोमोबाइल उद्योगमा बढी प्रयोग हुने गर्छ । सीएनसी मसिनको प्रयोग विशेषतः इन्जिनको भाग सिलिन्डर हेड, वाल ट्रेट्स कम्पोनेन्ट, पुल्ली, ब्राकेट्, अटोमोटिभ इन्टेरियर, एक्सटेरियर कम्पोनेन्ट आदिमा प्रयोग हुन्छ । 

त्यस्तै मेडिकल क्षेत्रमा सीएनसी मसिन मेडिकल उद्योगका लागि आवश्यक विभिन्न उपकरण बनाउन प्रयोग गरिन्छ । जसमा एमआरआई मसिन, मेडिकल टुल, रिसर्च सामग्री लगायतका विभिन्न सामग्री बनाउन प्रयोग गरिन्छ ।

त्यस्तै सीएनसी मसिन एरोस्पेस उद्योगमा पनि हवाईजहाजका विभिन्न पार्टपुर्जा बनाउन प्रयोग गरिन्छ । यसमा विशेषगरी इन्जिनका सामग्री, इलेक्ट्रिकल कनेक्टर, ल्यान्डिङ गियरका भाग, सेन्सर आदि निर्माण गर्न प्रयोग गरिन्छ ।

त्यस्तै ऊर्जा उत्पादन उद्योगका विभिन्न सामग्री जस्तै कुलिङ ब्लेड, इनलेट फ्यान (Inlet fan), रोटरी सपोर्ट गर्ने डिभाइस आदि बनाउन प्रयोग गरिन्छ । त्यस बाहेक पनि सीएनसी मसिन सैन्य प्रतिरक्षा, इलेक्ट्रोनिक्स, सामुन्द्रिक उद्योग जस्ता विभिन्न उद्योगमा काम लाग्ने गर्छ ।

सीएनसी मसिनमा प्रोग्रामिङ प्रयोग गरिन्छ । त्यस्तै प्रायः हाइ टेक टुल जस्तै थ्रीडी प्रिन्टर पनि यसैको प्रक्रियाबाट बन्ने गर्छ । यति जानकारी पाएपछि भविष्यमा अथवा वर्तमानमा पनि सीएनसी मसिनको उपयोगिता कति छ भन्ने कुरा थाहा पाउनु भयो होला । अब लागौँ एउटा सीएनसी प्रोग्रामरले के-के गर्छ भन्ने तर्फ ।

सीएनसी मसिन निकै कम्पेलेक्स (जटिल) हुन्छन् भन्ने कुरा त माथि उल्लेख गरिएका उदाहरणबाट पनि थाहा पाउनु भयो होला । यति जटिल सामग्रीमा काम गर्ने मान्छे पनि दक्ष हुनै पर्‍यो ।

एउटा सीएनसी प्रोग्रामरलाई एउटा विशेष कम्पोनेन्टको प्रिन्ट अथवा मोडेल आवश्यक पर्छ । त्यसपछि उक्त कम्पोनेन्ट मसिनलाई सुचारू गर्ने सबैभन्दा उपयुक्त तरिका कुन हो भन्ने कुरा निर्धारण गर्नुपर्छ । यो कार्यमा प्रोग्रामरलाई धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

जस्तो कुनै पनि भाग काट्नका लागि कुन मसिन वा टुल प्रयोग गर्ने भन्ने कुरामा बढी संवेदनशिल हुन आवश्यक छ । प्रोग्रामरले कुनै पार्टलाई लिएर क्याम (CAM) सफ्टवेयरमा राखेर जी-कोड निर्माण गर्न टुल पाथ उपयोग गर्छन् । जी कोड त्यो विशेष ल्याङ्ग्वेज हो, जसको माध्यमबाट मसिनले सम्पर्क गर्ने गर्छ ।

यो पेसामा आवद्ध प्रोग्रामरको विशेषता के हुन्छ भने उनीहरूले कुनै पनि सामान्य तत्वलाई जटिल भागमा परिणत गर्न सक्छन् । यस्ता जटिल सामग्रीहरू कार, प्लेन र सैन्य सुरक्षाका लागि आवश्यक हतियार निर्माण गर्न प्रयोग हुन्छन् ।

यो पेसामा चुनौतीहरू पनि उत्तिकै हुने गर्छन् । यो पेसामा आवद्ध भइसकेपछि विभिन्न मसिनका त्यस्ता जटिल भागहरू पनि बनाउन पर्ने हुन्छ, जुन आफैँमा निकै जटिल हुने गर्छन् । यसमा आवद्ध हुने मान्छेको यो क्षेत्रप्रति जति लगाव हुन्छ, त्यो भन्दा कैयौं गुणा बढी सीप हुन आवश्यक छ ।

एउटा सीएनसी प्रोग्रामसँग हुनुपर्ने महत्त्वपूर्ण सीप हो, जीडी एण्ड टी एनोसियसन (GD&T Annotation) र ब्लु प्रिन्टलाई बुझ्न सक्ने क्षमता । सीएनसी मसिनले कसरी काम गर्छ र त्यसलाई कस्ता कमाण्ड दिने भन्ने कुराको आधारभूतदेखि उच्च तहको ज्ञान हुन आवश्यक छ ।

त्यस्तै उनीहरूमा उच्च गणितीय ज्ञान, डकुमेन्टेसन र रचनात्मक लेखन शैली पनि आवश्यक पर्छ । सीएनसी त्यति विस्तृत रूपमा लेख्नुपर्छ, जसलाई अपरेटरले सहजै बुझ्न सकून् ।

त्यस्तै अपरेटरमा सीएनसी प्रोग्रामिङको ज्ञान र त्यस क्षेत्रमा लामो अनुभव चाहिन्छ । सीएनसी प्रोग्रामर विशेषगरी अन्य प्रोग्रामर जसरी नै आफ्नो कार्यक्षेत्र (मसिनसँगै) मा सक्रिय भइरहन्छन् ।

उनीहरूमा फरक के हुन्छ भने सीएनसी प्रोग्रामर जटिल मसिनमा बढी केन्द्रित हुन्छन् । सीएनसी प्रोग्रामर एउटा सीएएमएस (CAMS-Computer Aided Manufacturing System Programming) सफ्टवेयरको प्रयोग गरी प्रोग्रामिङ गर्नुपर्ने हुन्छ ।

एउटा प्रोग्रामरको पेसामा डकुमेन्टेसनले निकै महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । त्यस्तै प्रोग्रामर हुनका लागि सीप, तालिम, जागिरको अनुभव एकदमै आवश्यक हुन्छ । सीएनसी प्रोग्रामिङको क्षेत्रमा वर्षौँको अनुभव भएको हुनु पर्छ ।

सीएनसी प्रोग्राम बन्नका लागि वर्षौँको तालिम, परिश्रम र लगाव उत्तिकै आवश्यक पर्छ । सीएनसी प्रोग्रामर बन्नका लागि कम्तिमा पाँच वर्षको समय लाग्ने गर्छ । यो क्षेत्रमा सफलता पाउन टुलिङ, मसिनरी एप्लिकेसन र सही ठाउँमा सही टुल प्रयोग गर्ने विषयमा गहन किसिमको ज्ञान हुनु आवश्यक छ ।

सीएनसी प्रोग्रामिङका बारेमा यति चर्चा गरिसकेपछि तपाईँलाई सीएनसी प्रोग्रामिङ सिक्न गाह्रो हुन्छ भन्ने लाग्न सक्छ । वास्तवमा कुनै पनि काम तपाईंले कसरी लिनुहुन्छ भन्ने कुराले उक्त काम सजिलो वा गाह्रो भन्ने कुराको निर्धारण गर्छ ।

यस क्षेत्रमा लगाव हुनुका साथै आधारभूत र उच्च तहको गणितीय ज्ञान हुनु पर्छ । कुनै पनि जटिल मसिनले कसरी लाम गर्छ भन्ने बारे विस्तृत जानकारी हुन आवश्यक हुन्छ । यति कुरा बुझेपछि सीएनसी प्रोग्रामिङ तपाईंले सोचेको जति गाह्रो पनि हुँदैन ।

यति जान्दैमा सहज हुन्छ भन्ने पनि छैन । यसमा समय दिएको खण्डमा सीएनसी प्रोग्रामिङ  सिक्न सहज नै हुन्छ । मध्यम तहको सीएनसी प्रोग्रामिङ सिक्न अन्य सीप भएको अवस्थामा एकदेखि दुई वर्ष लाग्छ भन्ने एड्भान्स तहको सीएनसी प्रोग्रामिङ सिक्नका लागि भने वर्षौँसम्म लाग्न सक्छ ।

सीएनसी प्रोग्रामिङ तपाईंले अनलाइन साइटहरू जस्तै कोर्षेरा (Coursera), यूडेमी (Udemy), जीएआरसी (GARC) आदिको माध्यमबाट सिक्न सक्नुहुन्छ । त्यस्तै सीएनसी प्रोग्रामिङ सिक्नका लागि केही पुस्तकहरू पनि उपलब्ध छन् ।

जस्तै गेटिङ स्टार्टेड विथ सीएनसी (Getting started with CNC), सीएनसी प्रोग्रामिङ ह्याण्डबुक (CNC programming handbook) । सीएनसी प्रोग्रामिङ गरेपछि तपाईंले विभिन्न संस्थाबाट अनुभव, ज्ञान र सीपका आधारमा सीएनसी प्रमाणपत्र जस्तै सीएनसी सर्टिफिकेसन प्रोग्राम, निम सर्टिफिकेसन आदि पाउन सक्नुहुन्छ ।

यति जानिसकेपछि तलबको कुरा त आउने नै भयो । सीएनसी प्रोग्रामरको न्यूनतम तलब वार्षिक ५ लाख रुपैयाँ भन्दा बढी हुने गर्छ । यदि सीएनसी प्रोग्रामर इन्ट्री लेभलको छ भने वार्षिक चार लाखबाट सुरु हुन्छ ।

अनुभवी सीएनसी प्रोग्रामरले वार्षिक २० लाख रुपैयाँसम्म कमाउन सक्छन् । यसमा राम्रो सम्भावना हुनुका साथै सामाजिक प्रतिष्ठा पनि उत्तिकै हुन्छ । यी सबै कुरा विश्लेषण गरेर तपाईंले उपयुक्त लागेको खण्डमा यसैमा आफ्नो भविष्य बनाउन पनि सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३