close

मतगणनाको सीसीटिभीमा मिलेमतो गर्ने बिध ल्याबका सञ्चालक विरुद्ध अख्तियारको मुद्दा 

टेकपाना टेकपाना

असार ४, २०७९ १०:३२

मतगणनाको सीसीटिभीमा मिलेमतो गर्ने बिध ल्याबका सञ्चालक विरुद्ध अख्तियारको मुद्दा 

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुगमन गर्न भन्दै देशभरका स्थानीय तहमा राखिएका सीसीटिभी क्यामेरामा सेटिङ मिलाउने बीके भण्डारी उर्फ भीमकान्त भण्डारी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । 

ठेक्कापट्टा तथा सेटिङमा कुख्यात ओम्नी ग्रुपको आडमा निर्वाचन आयोगका कर्मचारीसँगको मिलेमतोमा बिना टेन्डर सीसीटिभीको करोडौँको ठेक्का हत्याएको बिध ल्याबका सञ्चालक भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

२०७३ असोज २१ मा नासु सरहको पदबाट सरकारी सेवामा प्रवेश गरेका गुल्मी मालिका गाउँपालिका-५ का ३० वर्षीय बीके भण्डारीले चार वर्षमै राजीनामा दिएका थिए । तर त्यसयता उनले सवा छ करोड रुपैयाँभन्दा अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको कान्तिपुरमा उल्लेख छ ।

भण्डारीले आफू सञ्चालक रहेका पाँच ओटा कम्पनीका नाममा दुई करोड ९५ लाख २५ हजार रुपैयाँ लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले बिध म्यानेजमेन्ट प्रालिमा २०७६ बाट कारोबार गरेको देखिन्छ । कोरोना महामारीकालमा सरकारले गर्दै आएको कोरोना परीक्षणको दायरा बढाएर ओम्नी समूहको समेत संलग्नता रहेको ठानिएको बिध ल्याबलाई घुसाएका थिए ।  

स्वास्थ्य क्षेत्रमा काम गर्नेगरी सञ्चालनमा आएको बिध म्यानेजमेन्ट प्रालिले आफ्नो दायरा बढाउँदै आईटी (हार्डवेयर तथा सफ्टवेयर) क्षेत्रमा समेत सेटिङ मिलाउन थालेको समाचार टेकपानाले यस अघि नै प्रकाशित गरिसकेको छ । (टेकपानामा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्)

निर्वाचन आयोगले २०७८ चैत २ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचारमार्फत सम्पूर्ण स्थानीय तहलाई परिपत्र गरिदिन अनुरोध गरेको थियो । जसमा मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणना कार्यको अनुगमन आयोग परिसरबाटै गर्ने उद्देश्यले मतगणना स्थल दृश्य अवलोकन प्रणाली (भोट काउन्टिङ भिडिओ म्यानेजमेन्ट सिस्टम-भीसीभीएमएस) को प्रयोग गर्ने निर्णयले भएको उल्लेख छ ।

सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरी आफ्नै खर्चमा यस्तो प्रणाली राख्ने योजना बनाइएको थियो । तर त्यसका लागि आवश्यक स्पेसिफिकेसनमा ओम्नी समूहको लगानी रहेको बिध म्यानेजमेन्ट मात्र अटाउने प्रावधान घुसाइएको थियो ।

यसरी आयोगले बिध म्यानेजमेन्टसँगको मिलेमतोमा एउटा निश्चित कम्पनीको सामग्रीसँग मात्र मेल खानेगरी बिना टेन्डर करिब ३८ करोड रुपैयाँको सेटिङ मिलाएको खुलासा टेकपानाले गरेको  थियो । दहुवा टेक्नोलोजीको वितरकको रुपमा रहेको बिध म्यानेजमेन्टले प्रत्येक मत गणना स्थलमा आवश्यक पर्ने सामग्रीका लागि करिब पाँच लाख रुपैयाँको प्याकेज बनाएको थियो । 

आयोगले त्यसका लागि तयार पारेको स्पेसिफिकेसनमा सर्भिलेन्स हार्ड ड्राइभ आवश्यक पर्ने र त्यसका लागि दहुवा स्काईहक वा सो सरको स्पेसिफिकेसन हुनुपर्ने उल्लेख छ । सीसीटिभी ब्रान्ड दहुवाका लागि बिध ल्याब पछिल्लो समय नेपालको आधिकारिक वितरक बनेको थियो ।

यति मात्र होइन, भिडिओ म्यानेजमेन्ट सिस्टमका लागि समेत दहुवाकै १६ भिडिओ च्यानल सहितको डीएसएस प्रोफेसनल भी८ भिडिओ सर्भिलेन्समा आधारित प्याकेज हुनुपर्ने र डीएसएस प्रोफेसनल भी८ का लागि भिडिओ च्यानल एक्सपान्सन लाइसेन्स समेत स्पेसिफिकेसनमा उल्लेख छ । जब कि सरकारी खरिद प्रक्रियामा तयार पारिने यस्ता स्पेसिफिकेसनमा कुनै निश्चित कम्पनी वा ब्रान्डको नाम उल्लेख गर्न पाइँदैन ।

डीएसएस अर्थात डिजिटल सर्भिलेन्स सिस्टम दहुवा टेक्नोलोजीकै भीएमएस (भिडिओ म्यानेजमेन्ट सिस्टम) सफ्टवेयर हो ।  यही सिस्टम कन्ट्रोलमार्फत नेपालमा रहेका दहुवाकै अन्य बिक्रेतालाई मतगणना स्थलमा सीसीटिभी राख्ने कार्यबाट निषेध गरिएको थियो । 

जग्गा खरिदमा ३ करोड ३५ लाख ३० हजार, रजिस्ट्रेसन दस्तुर १६ लाख ६९ हजार १ सय, बिध म्यानेजमेन्टमा एक करोड, बिध अटो मोबाइलमा ४० लाख, माडी खनिजमा १ करोड, बीएन डेभलपर्समा ५२ लाख ५० हजार, सेवा रेमिटमा २ लाख ७५ हजार, शेयर खरिदमा २ लाख ४५ हजार ८ सय ५० र बैंक मौज्दात ९५ हजार ६ सय २२ गरी भण्डारीको कुल लगानी ६ करोड ५० लाख ६५ हजार ४ सय ४२ रुपैयाँ रहेको उल्लेख छ ।

तर स्रोत खुल्ने सम्पत्ति भने २६ लाख ६१ हजार ६३६ रुपैयाँ मात्र छ । अख्तियार स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले बाँकी सबै सम्पत्ति अकुत आर्जन वा कसैले कालो धन लगानी गर्न दिएको हुन सक्ने बताएको छ । 

अनुसन्धानका क्रममा भण्डारी र पत्नी विमला पन्थीका नाममा काठमाडौं र ललितपुरमा ३ करोड ३५ लाख ३० हजार रुपैयाँमा घरजग्गा खरिद गरेको देखिन्छ । तर, स्वआर्जन भनिए पनि त्यसको स्रोत नखुल्ने अख्तियारले जनाएको छ ।

त्यस्तै ४५ वटा संस्थामा १ हजार ४ सय ७८ कित्ता शेयर खरिद गरेको र उनको नाममा मात्रै १८ संस्थामा शेयर रहेको देखिन्छ । बाँकी शेयर श्रीमती र परिवारका अन्य सदस्यका नाममा रहेको देखिन्छ । अख्तियारले उक्त शेयरको मूल्य दुई लाख ४५ हजार ८५० रुपैयाँ कायम गरेको छ ।

कस्तो कम्पनी हो बिध म्यानेजमेन्ट ?

वास्तवमा बिध म्यानेजमेन्ट रिसर्च अर्थात अनुसन्धान गर्न खोलिएको कम्पनी हो । कोरोना महामारीको समयमा ओम्नीले ल्याएका स्वास्थ्य सामग्री गुणस्तरहीन देखिएपछि भन्सारमा रोकिए । त्यसपछि रातारात बिध म्यानेजमेन्टको बिधान परिवर्तन गरी ओम्नीका रोकिएका उपकरण नेपाल भित्र्याइएको थियो । 

लगत्तै बिध म्यानेजमेन्टले बिध ल्याबको नाममा स्वास्थ्य सेवा विभागबाट कोभिड परीक्षणका लागि अनुमति समेत पायो । यो कम्पनीमा ओम्नी इन्टरनेसनलका विवादित व्यवसायी तुलहरिसिँह र होटल हिमालयका सञ्चालक नवीन तुलाधरको समेत संलग्नता रहेको स्रोतले बताएको छ । 

त्यसो त ओम्नी समूहको निर्वाचन आयोगसँगको संलग्नता पुरानै हो । यसअघिको निर्वाचनमा मतपत्र छपाईको जिम्मा पाएको यो कम्पनीले पछि त्यसमा प्रयोग भएका मसिन समेत आयोगलाई नै बिक्री गरी दोहोरो लाभ उठाएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३