close

इन्टरनेमा एमबीपीएस के हो, अनि कसरी गर्छ काम ?

टेकपाना टेकपाना

असार ४, २०७९ २१:२५

इन्टरनेमा एमबीपीएस के हो, अनि कसरी गर्छ काम ?

काठमाडौं । इन्टरनेट अथवा मोबाइल डेटाको कुरा आउने वित्तिकै हामी एमबीपीएस/एमबी अथवा जीबीपीएस र जीबीको बारेमा कुरा गर्ने गर्छौं । हामीले प्रयोग गर्ने इन्टरनेट सेवामा फरक फरक एमबीपीएसहरू देख्ने गर्छौं ।

दैनिक रुपमा हामीले प्रयोग गर्ने यी शब्दहरू आखिर के हुन् त ? अनि यो एमबीपीएसले हामीले प्रयोग गर्ने इन्टरनेटमा कसरी असर गर्छ ।

यो विषयमा धेरैजनालाई जानकारी नहुन सक्छ । यद्यपि यो के हो, कति एमबीपीएस सम्मको इन्टरनेट कहाँ आवश्यक हुन्छ लगायतका विषयमा जान्न निकै नै जरुरी छ । 

के हो एमबीपीएस ?

एमबीपीएस मेगाबिट्स फर सेकेन्ड (megabits per second) को छोटो रुप हो । एमबीपीएसले इन्टरनेट ब्यान्डविथको मापन गर्ने गर्छ । जसरी हामी तरकारी खरिद गर्न जाँदा किलोमा मापन गर्ने गर्छौं त्यसरी नै इन्टरनेट ब्यान्डविथको मापन मेगाबाइट्सले गर्ने  गर्छ ।

सामान्य भाषामा बुझ्दा एमबीपीएस भनेको इन्टरनेट कनेक्सनको डाउनलोड रेट हो । जस्तै हामीले कुनै गीत डाउनलोड गर्नुपर्‍यो भने हाम्रो ब्यान्डविथको स्पिडको आधारमा सो गीत छिटो अथवा ढिलो डाउनलोड हुन्छ । अनि सो ब्यान्डविथको स्पिड कति छ भन्ने कुरा एमबीपीएसले मापन गर्ने गर्छ ।

यसरी जति नै धेरै एमबीपीएस हुन्छ इन्टरनेट पनि त्यति नै छिटो चल्ने गर्छ । यसको अर्थ हो तपाईंको डिभाइसमा फाइलहरू छिटो डाउनलोड हुन्छ । तर फाइल डाउनलोड हुनुको अर्थ कुनै गीत अथवा चलचित्र वेबसाइटबाट कम्प्युटरमा डाउनलोड हुने भन्ने मात्र बुझिँदैन ।

तपाईंले इन्टरनेट मार्फत कुनै पनि कुरा हेर्नको लागि सो फाइल तपाईंको ब्राउजरमा डाउनलोड हुनुपर्ने हुन्छ, चाहे त्यो कुनै वेबसाइट होस्, तस्बिर होस् अथवा अरु कुनै प्लेटफर्म ।

कुनै पनि फाइल डाउनलोड हुन लाग्ने समय एमबीपीएसले मापन गर्छ । जति धेरै एमबीपीएसको ब्यान्डविथ भयो त्यति छिटो तपाईंको फाइल पनि डाउनलोड हुन्छ ।

साथै जति धेरै एमबीपीएस भयो त्यति नै छिटो अपलोड पनि हुन्छ । प्रायजसो कुनै ठूलो साइजको भिडिओहरू अपलोड गर्दा इन्टरनेटको अपलोड स्पिड थाहा हुन्छ । अन्य समयमा भन्दा ठूला साइजको भिडिओ अपलोड गर्न जति धेरै एमबीपीएस हुन्छ त्यति नै छिटो भिडिओ अपलोड हुन्छ ।

हामीले बुझ्नुपर्ने कुरा भनेको डाउनलोड स्पिड र अपलोड स्पिड फरक-फरक हुने गर्छ । यसैले ब्यान्डविथ जडान गर्दा अपलोड स्पिड र डाउनलोड स्पिड दुवै जाँच गर्नु उपयुक्त हुन्छ ।

धेरैजसो इन्टरनेट सेवा प्रदायक‍ले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड कम दिने गर्छन् । केहि सिमित सेवा प्रदायकले भने अपलोड र डाउनलोड दुवै स्पिड बराबर पनि दिने गर्छन् । 

एमबीपीएसले कसरी काम गर्छ ?

इन्टरनेट स्पिडमा एमबीपीएसको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने विषयमा माथि उल्लेख गरिएको छ । अब कुरा गरौं यसले काम गर्छ भन्ने बारेमा । इन्टरनेट स्पिडमा एमबीपीएसको कुरा गर्दै गर्दा इन्टरनेट सेवा प्रदायकले खेल्ने भनेको अंकहरूमा हो ।

उदाहरणका लागि एउटा सेवा प्रदायकले ५० एमबीपीएस इन्टरनेट उपलब्ध गराइरहेको हुन्छ भने अर्कोले १०० एमबीपीएस दिइरहेको हुनसक्छ । यो अंकले डेटा ट्रान्सफरमा काम गर्छ ।

डेटाको सबैभन्दा सानो इकाईलाई ‘बिट’ भनिन्छ र डेटा ट्रान्सफरको मापन भने सेकेन्डमा हुने गर्छ । यसको अर्थ हो, सुस्त गतिको इन्टरनेटमा प्रति सेकेन्ड एक बिट डेटा ट्रान्सफर भइरहेको छ ।

यसरी एक-एक बिट मिलेर १००० बिट हुँदा त्यो एक किलोबिट हुन्छ । प्रति सेकेन्ड एक किलोबिट डेटा ट्रान्सफर भइरहेको भन्नुको अर्थ हो एक सेकेन्डमा १००० बिट डेटा ट्रान्सफर भइरहेको छ ।

यसैगरी १००० किलोबिट मिलेर १ मेगाबिट हुन्छ । यसको अर्थ हो, एक मेगाबिटमा १० लाख वटा बिट्स हुन्छन् । त्यस्तै १००० मेगाबिट्स मिलेर एक गिगाबिट हुन्छ जसको अर्थ हो एक सेकेन्डमा एक अर्ब बिट्स डेटा ट्रान्सफर भइरहेको छ ।

समग्रमा एक एमबीपीएसमा प्रति सेकेन्ड १० लाख बिट्स ट्रान्सफर भइरहेको हुन्छ । यदि तपाईंले ५० एमबीपीसको इन्टरनेट प्रयोग गरिरहनु भएको छ भने यसको अर्थ हो भने प्रति सेकेन्ड ५० लाख बिट्स ट्रान्सफर भइरहेको छ ।

बिट र बाइटमा के फरक छ ?

सामान्यतया मानिसहरू बिट्स, किलोबिट्स र मेगाबिट्सलाई बाइट भन्ने शब्दको रुपमा लिने गर्छन् । जबकि बिट्स र बाइट नितान्त फरक शब्दहरू हुन् ।

कसैले किलोबिट्स र मेगाबिट्स वा किलोबाइट र मेगाबाइट भनेको सुन्ने गरिन्छ । यसमा बोल्ने लवज फरक भने पक्कै होइन । यी कुरा फरक फरक हुन् ।

एमबीपीएस अङ्ग्रेजी वर्णमालाको लोअर केस र अपर केस अर्थात साना अक्षर र ठूला अक्षरमा आधारित हुन्छ । यदि सानो अक्षरमा एमबीपीएस (mbps) लेखिएको छ भने यसलाई मेगाबि्टस पर सेकेन्ड भनेर बुझिन्छ ।

त्यस्तै यदि एमबीपीएस ठूला अक्षरमा (MBps) लेखिएको छ भने यसलाई मेगाबाइट्स पर सेकेन्ड भनेर बुझिन्छ । बिट्सको अर्थ इथरनेटको एउटा मात्र सिग्नल भनेर बुझिन्छ जबकी बाइट्समा आठवटा बिट्स हुने गर्छ अथवा आठ वटा सिग्नल हुने गर्छ । 

यसको अर्थ हो एक किलो बाइट कसैले भन्दा भने यसलाई ८ किलोबिट भनेर बुझ्न सकिन्छ भने १ मेगाबाइटमा ८ मेगाबिट हुन्छ भनेर बुझ्न सकिन्छ ।

अब यसलाई डाउनलोड र अपलोडमा जोडेर हेर्नुपर्दा एक एमबीपीएसमा (1 mbps) ८ मेगाबाइट (8 MB) प्रतिसेकेन्ड डेटा ट्रान्सफर भइरहेको हुन्छ । यसको अर्थ यदि तपाईं १६ एमबी (16 MB) को कुनै फाइल डाउनलोड गर्दै हुनुहुन्छ भने उक्त फाइल डाउनलोड हुन दुई सेकेन्ड लाग्छ ।

यसरी तपाईंले आफ्नो आवश्यकता अनुसार इन्टरनेट खरिद गर्न सक्नुहुन्छ । आफ्नो लागि कति इन्टरनेट स्पिड सही हुन्छ भनेर थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३