close

मोबाइल टावरको रेडियसनले मानव जीवनमा पार्ने असरमाथि अध्ययन हुँदै, छानिए ६ कम्पनी

टेकपाना टेकपाना

असार ५, २०७९ १२:३२

मोबाइल टावरको रेडियसनले मानव जीवनमा पार्ने असरमाथि अध्ययन हुँदै, छानिए ६ कम्पनी

काठमाडौं । मोबाइल टावरको रेडियसनले मानव जीवनमा असर पार्छ/पार्दैन भन्ने विषयमा फरक-फरक राय आउने गरेका छन् । कतिपयले यो मानव जीवनका लागि हानिकारक छ भन्दै आएका छन् भने कसैले यसले कुनै असर नपार्ने दाबी गर्दै आएका छन् ।

जसका कारण पछिल्लो समय घर र बस्तीमा मोबाइल टावर निर्माण गर्न नदिने प्रवृत्तिसमेत देखापरेको छ । टावरबाट विकिरण उत्सर्जन हुने र यसले स्वास्थ्यमा असर गर्नेभन्दै धेरै ठाउँमा स्थानीयले टावर राख्न रूचि नदेखाएको गुनासो सेवा प्रदायकलाई गर्दै आएका छन् ।

यसैले पनि अघिल्लो वर्ष मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल टावरबाट निस्कने विकिरणले मानव स्वास्थ्यमा असर गर्छ कि गर्दैन वा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक अध्ययन गर्न निर्देशन दिएको थियो ।

साथै प्राधिकरणले यो विषयलाई आफ्नो चालू २०७८/०७९ को कार्यक्रममा समेत समावेश गरेको थियो । त्यसैका आधारमा प्राधिकरणले गएको पुसमा दुई ओटा प्याकेजमा अध्ययन प्रक्रिया अघि बढाएको थियो । पहिलो प्याकेज अन्तर्गत प्रदेश १ र मधेश प्रदेश समेटिएको छ ।

त्यस्तै दोस्रो प्याकेज अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको छ । प्राधिकरणले दुई प्याकेजमा आएका आवेदन मध्येयबाट पहिलो चरणमा ६-६ ओटा कम्पनी छनोट गरी छुट्टाछुट्टै प्रकाशित गरेको छ ।

तर, दुवै प्याकेजमा छनोट हुने कम्पनीहरु पनि एउटै रहेका छन् । छनोट हुनेमा ललितपुरको धापाखेलमा रहेको टेनजेन्ट कन्सल्टेन्ट ग्रुप, टेक्नोलोजी एण्ड सप्लायर्स, सीतापाइला रहेको इन्क्लुसिभ र एभरेस्टको जेभी रहेको छ ।

त्यस्तै ईटीसी र टीसीएनको जेभी, इन्टेलको डिशको जेभी र जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर कम्पनी रहेका छन् ।

पहिलो चरणमा छनोट भएको यी ६ कम्पनीसँग अब प्राधिकरणले आर्थिक र प्राविधिक प्रस्ताव माग गर्नेछ । उनीहरूबाट आएको आर्थिक र प्राविधिक प्रस्ताव अध्ययन गरी अन्त्तिम चरणमा दुई ओटा कम्पनीलाई प्रदेशअनुसार अध्ययनको जिम्मा दिने तयारी प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार पहिलो प्याकेजको अध्ययनमा थोरैमा पनि ६०० ओटा मोबाइल टावरको अध्ययनका लागि समेटिनुपर्ने जनाइएको छ । दोस्रो प्योजमा करिब ४०० मोबाइल टावर अध्ययनमा समेटिनु पर्ने प्रावधान राखिएको छ ।

विशेषगरी बजारमा टावरबाट उत्सर्जन हुने विकिरणका विषयमा देखिएको दुविधालाई निर्मूल गर्ने उद्देश्यले यो अध्ययन अघि बढाएको जनाएको छ । हुन त यसअघि प्राधिकरणले मोबाइल टावरबाट उत्सर्जन हुने विकिरण न्यूनीकरणका लागि मापदण्ड तयार पारेको थियो ।

मानिसको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्राधिकरणले हालै मोबाइल टावरबाट सिर्जित विद्युतीय चुम्बकीय विकिरण (ईएमआर) बाट सर्वसाधारण तथा कामदारको सुरक्षासम्बन्धी विनियमावलीमा, २०७६ जारी गरेको छ ।

यसअन्तर्गत मोबाइल टावर स्थापना र सञ्चालन गर्ने दूरसञ्चार सेवाप्रदायकले तोकिए बमोजिममात्र विद्युतीय चुम्बकीय विकिरण उत्सर्जन हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

नियमावलीअनुसार सामान्य मानिस र सो टावरमा काम गर्ने व्यक्तिका लागि भनेर फरक मापदण्ड तोकिएको छ । त्यस्तो विकिरण उत्सर्जनको मापदण्ड रेडियो फ्रिक्वेन्सी रेन्जअनुसार पनि फरक-फरक हुनुपर्ने उल्लेख गरिएको छ । नियमावलीअनुसार मोबाइलको बेस स्टेसनका लागि १० देखि ४०० मेगाहर्जको तहमा इलेक्ट्रिक फिल्ड स्ट्रेन्थ २८ भोल्ट प्रति मिटर हुनुपर्नेछ ।

म्याग्नेटिक फिल्ड स्ट्रेन्थ ०.०७३ एम्प्लि प्रतिमिटर र पावर डेन्सिटी २ वाट प्रतिमिटर स्क्वायर हुने पर्नेछ । त्यसैगरी, ४०० देखि २ हजार मेगाहर्ज, २ देखि ३०० गिगाहर्जको इलेक्ट्रिक फिल्ड स्ट्रेन्थ, म्याग्नेटिक फिल्ड स्ट्रेन्थ र पावर डेन्सिटी सामान्य मानिस र कामदारको फरक–फरक तोकिएको छ ।

जसअनुसार साधारण मानिस लागि कामदारको तुलनामा ५ गुणा कम विद्युतीय चुम्बकीय विकिरण उत्सर्जन गर्ने किसिमले टावरको स्थापना गर्नुपर्ने प्रावधान छ ।

यस्ता प्रावधानका बावजुद पनि घर तथा बस्तीमा मोबाइल टावर निर्माण गर्न नदिने प्रवृत्ति बढिरहेको भन्दै प्राधिकरणले यसको यथार्थ अध्ययन गर्न प्रक्रिया अघि बढाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३