close

अमेरिकीलाई ठग्न नेपालमा कल सेन्टर

टेकपाना टेकपाना

असार ५, २०७९ १९:१४

अमेरिकीलाई ठग्न नेपालमा कल सेन्टर

काठमाडौं । सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको धुम्बाराहीस्थित अर्बिट नेक्सस प्राइभेट लिमिटेड संस्थाका मुख्य सञ्चालक ३३ वर्षीय विजय श्रेष्ठ, सामाखुसी बस्ने दुई भारतीय नागरिक ३२ वर्षीय निशान खैरे र २४ वर्षीय मनिष तिवारी लगायत साे कम्पनीमा कार्यरत अन्य व्यक्ति छन् ।

यसअन्तर्गत काठमाडौं-२९ रानीबारी बस्ने २२ वर्षीय आमिन खड्का, लमजुङ घर भई हाल काठमाडौं-२९ बस्ने २२ वर्षीय करण गुरुङ, काभ्रे घर भई हाल भक्तपुर राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा, उदयपुर घर भई हाल काठमाडौं जिल्लाको कालोपुल बस्ने २० वर्षीया आरुषी राई रहेका छन् ।

त्यसैगरी नुवाकोट घर भई हाल काठमाडौं बानियाँटार बस्ने २१ वर्षीया युविना तामाङ, काठमाडौंको रानीबारी बस्ने २३ वर्षीय आरस तुलाधार, दोलखा घर भई हाल काठमाडौं डल्लुमा बस्ने २६ वर्षीया सपना मगराँती, सुर्खेत घर भई भक्तपुर ठिमीमा बस्ने १९ वर्षीया टिका राउत, झापा घर भई हाल काठमाडौं सिफलमा बस्ने २४ वर्षीया सुनिता राउत र नुवाकोट घर भई हाल काठमाडौं रानीबारी बस्ने १९ वर्षीय सागर श्रेष्ठ पनि पक्राउ परेका छन् ।

उनीहरूले अमेरिकी तथा क्यानडाली नागरिकहरूलाई लक्षित गरी ‘क्लाइन्ट एक्सेस’ लिएर उनीहरूको डाइरेक्टरी फाइलमा आफ्नो पहुँच बनाई ‘योर आईपी एड्रेस इज ह्याक्ड एन्ड योर नेटवर्क इज कम्प्रमाइज्ड’ (Your IP Address is hacked and your network is compromised) अर्थात् तपाईंको आईपी एड्रेस ह्याक भएर तपाईंको नेटवर्क कम्प्रमाइज भएको सन्देश पठाउने गरेको पाइएको छ ।

उनीहरूले विशेषगरी प्रयोगकर्ताको डिभाइस ट्रयाक गरेर डिभाइसमा अलर्ट पठाउँथे, जुन् भारतीय समूहले तयार पारेकाे पाइएकाे साइबर ब्युराेले जानकारी दिएकाे छ ।

त्यसपछि त्यहाँ आएको समस्या समाधानका लागि माइक्रोसफ्टको जस्तो नक्कली सम्पर्क नम्बर उपलब्ध गराउँथे । ती कल नेपालको धुम्बाराही, काठमाडौंमा उठ्ने गर्थ्याे ।

त्यसमा उनीहरूले पीडितलाई समाधानका उपाय सिकाउने विभिन्न प्रक्रिया अपनाउन लगाउँछन्, जसले गर्दा उनीहरूको एक्सेस ह्याकर (कल सेन्टर) मा पुग्छ ।

त्यसपछि उनीहरूले प्रयोगकर्ताबाट ठगी सुरु गर्छन् । यस्तो घटनामा विदेशी सेवा निवृत्त व्यक्तिहरू धेरै फसेको साइबर ब्युराेको अध्ययनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३