close

के तपाईंलाई थाहा छ, डाउनलोड स्पिडभन्दा किन कम हुन्छ अपलोड स्पिड ?

टेकपाना टेकपाना

असार ६, २०७९ १७:१४

के तपाईंलाई थाहा छ, डाउनलोड स्पिडभन्दा किन कम हुन्छ अपलोड स्पिड ?

काठमाडौं । कहिलेकाहीँ घर अथवा कार्यालयमा इन्टरनेटको स्पिड चेक गर्दा एउटै स्पिड देखाउँदैन । यो कुरा तपाईंले याद गर्नुभएको होला । इन्टरनेटको स्पिड चेक गर्दा प्रायः सधैं डाउनलोड स्पिड र अपलोड स्पिड भनेर दुई फरक स्पिड देखाउने गर्छ ।

अनि यी दुईमध्ये प्रायजसो डाउनलोड स्पिडभन्दा अपलोड स्पिड कम देखाएको हुन्छ । सेवा प्रदायकले इन्टरनेट बिक्री गर्ने समयमा नै डाउनलोड स्पिडभन्दा अपलोड स्पिड कम गरेर नै बिक्री गर्ने गर्छन् ।

केही सेवा प्रदायकले भने डाउनलोड र अपलोड दुवै स्पिड बराबर पनि दिनसक्छन् । तर नेपालमा भने डाउनलोडभन्दा अपलोड स्पिड कम दिने अभ्यास नै भइरहेको छ ।

किन यस्तो गर्छन् त सेवा प्रदायकले ? कहिले सोच्नुभएको छ आखिर डाउनलोड स्पिडभन्दा अपलोड स्पिड किन कम हुनेगर्छ ? 

के हो डाउनलोड स्पिड र अपलोड स्पिड ? 

डाउनलोड स्पिड र अपलोड स्पिडबीचको अन्तरबारे थाहा पाउनुअगाडि यी दुई कुरा के-के हुन् भनेर बुझ्नु आवश्यक छ । सामान्य भाषामा बुझ्दा इन्टरनेटमार्फत कुनै पनि सामग्री हेर्नका लागि सो फाइल ब्राउजरमा डाउनलोड हुनुपर्ने हुन्छ, चाहे त्यो कुनै वेबसाइट होस्, तस्वीर होस् अथवा अरु कुनै प्लेटफर्म ।

कुनै पनि फाइल डाउनलोड हुन लाग्ने समय एमबीपीएसले मापन गर्छ । जति धेरै ब्यान्डविथ भयो, त्यति छिटो फाइल पनि डाउनलोड हुन्छ । त्यस्तै कुनै सामग्री अनलाइनमा अपलोड गर्दा लाग्ने समय नै अपलोड स्पिड हो ।

प्रायजसो कुनै ठूलो साइजको भिडिओहरू अपलोड गर्दा इन्टरनेटको अपलोड स्पिड थाहा हुन्छ । अन्य समयमा भन्दा ठूला साइजको भिडिओ अपलोड गर्न जति धेरै एमबीपीएस हुन्छ, त्यति नै छिटो भिडिओ अपलोड हुन्छ ।

डाउनलोड स्पिडभन्दा अपलोड स्पिड किन कम हुन्छ ?

विश्वको अभ्यासलाई हेर्ने हो भने इन्टरनेट प्रयोगकर्ताले अपलोडभन्दा डाउनलोडको लागि धेरै इन्टरनेट खपत गर्ने हुँदा अपलोड स्पिडको तुलनामा डाउनलोड स्पिड कम हुने गर्छ । यद्यपि यो अन्तरलाई इन्टरनेट सेवा प्रदायकहरूले प्रयोग गर्ने प्रविधिले पनि असर गर्ने वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत समित जन थिङको भनाइ छ ।

‘डाउनलोड स्पिड र अपलोड स्पिड फरक हुनुमा धेरै कारणहरू छन् । जसमध्ये सबैभन्दा मुख्य कारण एफटीटीएच सेवा दिने सेवा प्रदायकहरूले प्रयोग गर्ने जिपअन प्रविधि पनि हो,’ उनले भने, ‘नेपालका एफटीटीएच सेवा प्रदायकहरूले जिपअन प्रविधि प्रयोग गर्छन् जसको इन्टरनेट वितरण मापदण्ड नै अपलोड स्पिडभन्दा डाउनलोड स्पिड धेरै दिने भन्ने हुन्छ ।’

जिपन नयाँ प्रकारको अप्टिकल पहुँच नेटवर्क टेक्नोलोजी हो, जसले इथरनेटमा विभिन्न सेवा प्रदान गर्न पोइन्ट-टु-मल्टिपोइन्ट आर्किटेक्चर र निष्क्रिय अप्टिकल फाइबर ट्रान्समिसन प्रयोग गर्दछ । अर्थात् एउटा पोइन्टबाट अर्को पोइन्टहरूमा इन्टरनेटको सेवा प्रवाह गर्ने तरिका हो ।

उदाहरणका लागि नेपालमा इन्टरनेट सेवा प्रदायकहरूले प्रदान गर्ने इन्टरनेट एउटा मुख्य पोइन्टबाट एक पोलदेखि अर्को पोलमा जोडेर प्रयोगकर्ताको घरसम्म पुग्ने गर्छ ।

यसमा सेवा प्रदायकले सेवा दिने एउटा पोइन्टदेखि सेवाग्राहीको घरसम्म पुग्दा इन्टरनेट प्रवाह हुने तारबाट असमान रुपमा नै डाउनलोड र अपलोड स्पिड प्रवाह हुने उनको भनाइ छ ।

‘प्राविधिक रुपमा हेर्ने हो भने दुवै स्पिड बराबर पनि दिन सकिन्छ । तर एकातिर जिपअन स्ट्यान्डर्डले अपलोड स्पिड कम देऊ भन्छ, अर्कोतिर अपलोडको काम डाउनलोडको तुलनामा कम हुने कारण पनि यसलाई कम दिइने गरिन्छ,’ उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३