close

विद्युतीय कार किन्नुअघि ख्याल राख्नुहोस् यी ५ कुरा

टेकपाना टेकपाना

असार ८, २०७९ १५:२६

विद्युतीय कार किन्नुअघि ख्याल राख्नुहोस् यी ५ कुरा

काठमाडौं । पछिल्लो समयमा विद्युतीय गाडी निकै नै चर्चामा आइरहेको छ । केही समयअगाडि मात्र छलफलको विषय भएको विद्युतीय गाडीमा अहिले निर्मातादेखि प्रयोगकर्ता सबैजना भविष्य विद्युतीय गाडिको नै हो भनेर लागिपरेका छन् ।

विशेषगरी टेस्लाको व्यापक सफलतापछि फोर्ड, जीएम, बीएमडब्लू लगायतका ठूला गाडी निर्माता कम्पनीहरू विद्युतीय गाडी उत्पादनमा अगाडि सरेका छन् ।

नेपालमा पनि सार्वजनिकदेखि व्यक्तिगतसम्म विद्युतीय गाडीको प्रयोग सानो संख्यामा नै भएपनि बढिरहेको छ । सरकारले पनि विद्यु्तीय गाडीलाई प्रोत्साहन गर्नेगरी काम गरिरहेको छ ।

यदि तपाईं पनि विद्युतीय कार किन्ने सोचमा हुनुहुन्छ, तर इन्धन गाडीभन्दा यो फरक हुने भएकाले के कस्तो विशेषतामा ध्यान दिने भन्नेबारे सोच्दै हुनुहुन्छ भने यो लेख उपयाेगी हुन सक्छ । 

१. गाडीको रेन्ज

सामान्य रुपमा बुझ्नुपर्दा कुनै ग्यास, डिजेल वा पेट्रोल नभई ब्याट्रीको प्रयोग हुने सवारी साधान नै विद्युतीय गाडी हो । त्यसैगरी यसमा एक वा सो भन्दा बढि इलेक्ट्रिक मोटर प्रयोग गरिएको हुन्छ ।

यसैले पनि विद्युतीय गाडी खरिद गर्दा सबैभन्दा सुरुमा ध्यान दिनुपर्ने कुरा हो, ब्याट्रीको ड्युराबिलिटी अर्थात् एक पटकको फुल चार्जमा गाडी कति किलोमिटरसम्म गुड्न सक्छ भनेर थाहा पाउनु जरुरी छ ।

पछिल्लो समयमा कम्पनीहरूले यो रेन्जलाई बढाउँदै लगिरहेका छन् । यसमा नयाँ परीक्षणहरू पनि भइरहेका छन् । यद्यपि सामान्यतया केही गाडीमा २४१ किलोमिटर सम्म गुड्ने क्षमता हुन्छ भने केही गाडीमा त्योभन्दा नि कम क्षमता अर्थात १६१ किमीसम्म गुड्ने पनि हुन्छ ।

यदि तपाईं घरदेखि कार्यालय र कार्यालयदेखि घर सम्म पुग्नको लागि मात्र गाडी बढि प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि २४१ किलोमिटरसम्म गुड्न सक्ने क्षमता भएको विद्युतीय गाडी उपयुक्त हुन्छ । 

तर यदि तपाईं लामो यात्रा गर्न मन पराउनुहुन्छ अथवा तपाईंलाई समय-समयमा यात्रामा जानुपर्ने भइरहन्छ भने ३२२ किलोमिटरसम्म गुड्न सक्ने क्षमता गाडी उपयुक्त हुन्छ । अथवा बजारमा ४८३ किलोमिटरसम्म गुड्ने क्षमता भएको विद्युतीय गाडी पनि उपलब्ध छ ।

यद्यपि तपाईंको गाडी गुड्ने क्षमता ब्याट्रीको उपलब्धतामा भर पर्ने हुन्छ र ब्याट्री तपाईंको गाडीको तापक्रम अथवा तपाईंले प्रयोग गरिरहनु भएको एसीमा पनि निर्भर हुने हुँदा तपाईंको गाडी गुड्ने क्षमतालाई प्रभाव पार्न सक्छ । 

२. चार्जिङ स्ट्यान्डर्ड 

विद्युतीय गाडी खरिद गर्दा याद गर्नुपर्ने अर्को कुरा भनेको ‘चार्जिङ स्ट्यान्डर्ड’ हो । तपाईंले खरिद गर्न खोज्नु भएको गाडीले कस्तो चार्जिङ स्ट्यान्डर्ड सपोर्ट गर्छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ । यसले गर्दा पनि तपाईंको गाडीको क्षमतामा धेरै फरक पार्छ ।

त्यति मात्र भएर पुग्दैन, तपाईंको वरपर सो स्ट्यान्डर्डको चार्जिङ स्टेशन छ कि छैन भनेर ध्यान दिनु उत्तिकै जरुरी छ । सामान्यतया बजारमा अहिले चार प्रकारका चार्जिङ स्ट्यान्डर्ड छन्; जे१७७२ (J1772), सीएचएडेमो (CHAdeMO), सीसीएस (CCS) र टेस्ला सुपरचार्जर ।

जे१७७२ ले लेभल १ अर्थात १२० भोल्ट, अथवा २४० भोल्टको चार्जिङ सपोर्ट गर्छ । त्यस्तै सीएचएडेमो विशेषगरी जापानिज विद्युतीय गाडीहरूमा प्रयोग हुन्छ । यसले लेभल तीनको चार्जिङ सपोर्ट गर्छ ।

अमेरिकी र युरोपियन अटोमेकरमाझ चर्चित चार्जिङ सीसीएस हो । यसले लेभल एकदेखि लेभल तीन सम्मको चार्जिङ सपोर्ट गर्छ । टेस्ला सुपरचार्जर भने १५ मिनेटमै फूल चार्ज गर्न सक्ने क्षमता राख्छ र विश्वभर यो २,१०० वटा स्थानमा उपलब्ध छ । 

३. इन्फोटेन्मेन्ट सिस्टम 

विद्युतीय गाडीमा याद गर्नुपर्ने अर्को कुरा हो । धेरैजसो प्रयोगकर्ताले विद्युतीय कारमा एन्ड्रोइड अटो अथवा एप्पल कारप्ले प्रयोग गरिरहेका हुन्छन् । यसको सहायतामा प्रयोगकर्ताले गाडीसँग आफ्नो स्मार्टफोन कनेक्ट गरेर गीत बजाउने, पोडकास्ट सुन्ने, नेभिगेसन प्रयोग गर्ने लगायत काम गर्छन् । यी फिचर सबै विद्युतीय कारमा उपलब्ध नहुने हुँदा आफूले खरिद गर्दा ध्यान दिएर हेर्नुपर्छ । 

४. कार्गो क्षमता 

सामान्यतया गाडी खरिद गर्दा कार्गो क्षमता अर्थात सामान राख्ने ठाउँ हेरेर खरिद गरिन्छ । यद्यपि विद्युतीय गाडीमा यो कुरा अलि जटिल छ । हुन त इन्जिन नहुने भएका कारण विद्युतीय गाडीमा ठाउँ धेरै हुनसक्छ । तर सबै गाडीमा यो सुविधा हुँदैन । डिजाइनले पनि कार्गो क्षमता फरक पार्ने गर्छ । त्यसैले आफ्नो आवश्यकता अनुसार कार्गो क्षमता पनि हेर्नु जरुरी हुन्छ । 

५. बिक्रीपछिको सेवा 

कुनै पनि गाडी खरिद गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो बिक्री पछिको सेवा । अर्थात् तपाईंले खरिद गरेको गाडीको सर्भिस सेन्टरहरू तपाईं नजिक वरपर, अथवा तपाईंलाई पायक पार्ने स्थानमा छ वा छैन भनेर पनि ध्यान दिनुपर्छ ।      

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३