close

सिंगल चार्जमा २०० किलोमिटर गुड्ने इलेक्ट्रिक स्कुटर ‘जम्बो ब्राभो’ सार्वजनिक हुँदै

टेकपाना टेकपाना

असार ९, २०७९ १२:३७

सिंगल चार्जमा २०० किलोमिटर गुड्ने इलेक्ट्रिक स्कुटर ‘जम्बो ब्राभो’ सार्वजनिक हुँदै

काठमाडौं । नेपाली बजारमा चिनियाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जम्बो’ को ‘जम्बो ब्राभो’ इलेक्ट्रिक स्कुटर सार्वजनिक हुने भएको छ । स्कुटर आगामी साउन महिनाभित्र सार्वजनिक गर्ने तयारी रहेको नेपालका लागि आधिकारिक बिक्रेता जम्बो मोटर्सका निर्देशक विनोद न्यौपानेले जानकारी दिए ।

पहिलो चरणमा नेपाल ल्याएको स्कुटर परिक्षण सफल भएपछि कम्पनीले अब आधिकारिक रूपमै सार्वजनिक गर्ने न्यौपानेले बताए । तीन किलोवाट क्षमताको मोटर जडान गरिएको जम्बो ब्राभोमा दुई ओटा ब्याट्री विकल्प दिएको छ । जसअन्तर्गत, २० एम्पिएर ७२ भोल्ट र ४० एम्पिएर ७२ भोल्टको ब्याट्री उपलब्ध छ ।

रेट्रो डिजाइनमा तयार पारिएको यो विद्युतीय स्कुटरमा डबल ब्याट्री विकल्प समेत दिइएको छ । यदि प्रयोगकर्ताले चाहेको खण्डमा थप एउटा ब्याट्री राख्न सक्ने कम्पनीले जनाएको छ ।

स्कुटरले एक पटकको फुल चार्जमा सिङ्गल ब्याट्रीबाट १०० किलोमिटर रेन्ज दिन्छ भने डबल ब्याट्रीबाट २०० किलोमिटर प्रदान गर्ने कम्पनीको दावी छ । फास्ट चार्जिङ सपोर्ट गर्ने यो स्कुटर फुल चार्ज हुन दुई घण्टा लाग्छ । नर्मल चार्जरबाट भने चार घण्टा लाग्नेछ ।

कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एडभान्स ब्याट्री रहेको छ भने ब्याट्रीमा दुई वर्षको वारेन्टी समेत दिएको छ । यो स्कुटरमा टीएफटी डिस्प्ले, की लेस स्टार्ट, फराकिलो टायर, टेलिस्कोपिक सस्पेन्सन, एलईडी लाइट्स, डिस्क ब्रेकजस्ता अत्याधुनिक सुविधा रहेका छन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३