close

तपाईंको फेसबुक र गुगल अकाउन्ट अरू कसैले त चलाइरहेका छैनन् ?

टेकपाना टेकपाना

असार ९, २०७९ १३:२०

तपाईंको फेसबुक र गुगल अकाउन्ट अरू कसैले त चलाइरहेका छैनन् ?

काठमाडौं । इन्टरनेटको दुनियाँ फैलिरहँदा जोखिम पनि उत्तिकै बढ्दो छ । इन्टरनेटमा जोडिन हामीलाई ईमेलदेखि सामाजिक सञ्जालसम्म आफ्नै अकाउन्ट चाहिन्छ ।

कतिपय अवस्थामा सुरक्षा सावधानी अपनाउँदा अपनाउँदै पनि हामी ह्याकिङको जालोमा पर्न सक्छौं । वा, हाम्रा संवेदनशील सूचना इन्टरनेटमार्फत चुहिरहेको हुनसक्छ ।

आज हामी तपाईंको गुगल र फेसबुक अकाउन्ट अरू कसैले दुरूपयोग त गरिरहेका छैनन् भन्ने विषयमा जानकारी दिँदैछौं ।

तपाईंको गुगल अकाउन्टमा के के कनेक्ट भएका छन् यसरी हेर्नुहोस्

अहिले गुगल अकाउन्ट हाम्रो दैनिकीको एक महत्त्वपूर्ण अंश बनेको छ । ईमेल, कन्ट्याक्ट, लोकेसन हिस्ट्री, सर्च, फोटोज लगायत अन्य थुप्रै सेवामा गुगल अकाउन्टको प्रयोग भएको हुन्छ ।

यदि कसैले तपाईंको गुगल अकाउन्टको युजरनेम र पासवर्ड पत्ता लगाएको खण्डमा धेरै कुरामा हानी पुग्नसक्छ । तपाईंले तल भनिएको प्रक्रिया अपनाई आफ्नो गुगल अकाउन्ट कुन-कुन डिभाइसमा लगईन भएको छ हेर्न सक्नुहुन्छ ।

-सबैभन्दा पहिले यस लिङ्कमा गएर साइनअप गर्नुहोस् । यदि पहिले नै साइनइन गर्नुभएको छ भने साइनइन गर्नु परेन ।

-त्यसपछि तपाईंले त्यहाँ आफ्नो अकाउन्ट कुन-कुन डिभाइसमा कनेक्ट छ भन्ने कुराको जानकारी पाउन सक्नुहुन्छ  ।

यदि तपाईंले त्यहाँ धेरै डिभाइस देख्नुभयो भने नआत्तिनुहोस् किनभने उही डिभाइसलाई त्यहाँ धेरै पटक देखाइएको हुन्छ । तपाईंले अन्य ब्राउजरमा त्यो अकाउन्ट प्रयोग गर्नुभएको हुनसक्छ । वा कुनै अन्य डिभाइसमा कनेक्ट गर्नुभएको हुनसक्छ ।

यदि त्यसमा देखाइएको डिभाइस आफ्नो होइन जस्तो लागेको खण्डमा तत्कालै हटाई अकाउन्टकाे पासवर्ड परिवर्तन गर्नुहाेस् ।

फेसबुकमा लगईन भएका डिभाइस यसरी हटाउनुहोस्

तपाईंले कतिपय अवस्थामा आफ्नो फेसबुक अकाउन्ट अनधिकारिक साइटमा गइसकेपछि अन्य डिभाइसमा लगईन भयो कि भन्ने डर हुनसक्छ ।

तपाईंले तल दिइएको प्रक्रियाबाट आफ्नो फेसबुक अकाउन्ट कुन-कुन डिभाइसमा कनेक्ट भइरहेको छ भन्ने कुराकाे जानकारी पाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि तीनवटा बारमा ट्याप गर्नुहोस् ।
  • अब सेटिङ एण्ड प्राइभेसीमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ गएपछि पासवर्ड एन्ड सेक्युरिटीमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ ह्वेयर यू आर लग्ड इन (Where you’re logged in) भन्ने सेक्सनको छेउमा सी अल (See all) भन्ने अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ कनेक्ट भएका विभिन्न साइट तथा एपहरू देख्न सक्नुहुन्छ ।

यदि त्यहाँ तपाईंलाई कुनै साइटमा शङ्का लाग्यो भने छेउमा रहेको तीनवटा डटमा ट्याप गरेर लगआउट गरी पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३