close

विद्यार्थीले बनाए अनलाइनबाटै होस्टेल खोज्न मिल्ने प्लेटफर्म

हिक्मत आचार्य हिक्मत आचार्य

असार ९, २०७९ १७:५१

विद्यार्थीले बनाए अनलाइनबाटै होस्टेल खोज्न मिल्ने प्लेटफर्म

काठमाडौं । उच्च शिक्षाका लागि चितवनबाट आएका सागर क्षेत्रीलाई काठमाडौंमा उपयुक्त होस्टल पाउन गाह्रो भयो । केही साथीसँग सहकार्य गरेर कलेजनजिक होस्टेल फेला पारे ।

ट्रिनिटी कलेजमा बीएससी सीएसआईटी अध्ययनरत सागरलाई विभिन्न समस्याले होस्टेल परिवर्तन गर्ने बाध्यता आइरहन्थ्यो । त्यस्तै आफूले चिनेका गाउँका विद्यार्थी काठमाडौं आउँदा कुन होस्टेलमा बस्न उपयुक्त हुन्छ भनी सुझाव माग्थे ।

‘मलाई गाउँबाट काठमाडौं आउँदा आफूलाई उपयुक्त हुने होस्टेल कलेज नजिकै पाउनै गाह्रो भयो,’ सुरुवाती दिन सम्झिँदै  उनले भने, ‘साथीहरूको सहयोगले पाएको होस्टेल पनि विभिन्न कारणले छोड्नुपर्ने अवस्था आउँथ्यो । होस्टेल छोडिसकेपछि फेरि  कुन होस्टेल खोज्ने समस्या आइपर्थ्यो । त्यसपछि मैंले एउटा होस्टेल खोजिदिने प्लेटफर्मको आवश्यकता भएको महसुस गरेँ ।’

छैठौं सेमेस्टरमा पुग्दासम्म छ वटा होस्टेल सरेकाे अनुभव उनले सुनाए । यसरी बेलाबेलामा होस्टेल खोज्दा उपयुक्त होस्टेल पाउन गाह्रो भएपछि उनले स्नातक तह अध्ययनको पहिलो वर्ष नै एउटा प्लेटफर्मको कल्पना गरेका थिए ।

पछि आफूसँगै ट्रिनिटी कलेजमा अध्ययनरत साथीहरूसँग सहकार्य गरेर उनले ‘योर होस्टेल’ को योजना अगाडि बढाए । यो परियोजना धेरै पहिले सोचेको भएपनि कोभिड-१९ को महामारीले पछाडि परेको सागर बताउँछन् ।

एक वर्ष अघिबाट खोज तथा अनुसन्धान गर्दै निर्माण भएको ‘योर होस्टेल’ गत सोमबार इन्टरनेटमा लाइभ भएको छ ।

संस्थापक र प्रोजेक्ट मेनेजरका रूपमा सागर क्षेत्री रहेको यस परियोजनामा उनीसँग अध्ययनरत आदित्य खड्का, सन्नी शाक्य, साहिल भेटवाल, अम्गी श्रेष्ठ, आयुष खड्का, शब्द श्रेष्ठ, मिरोज राई, विमल श्रेष्ठले वेब तथा एप डेभेलपरको भूमिका निर्वाह गरेका छन् । त्यस्तै डिजिटल मार्केटरका रूपमा कुशल बस्नेत र नवीन भट्टराई रहेका छन् ।

यो प्लेटफर्मका माध्यमबाट होस्टेल आवश्यक पर्ने जोकोहीले देशका विभिन्न जिल्लामा आफूलाई उपयुक्त हुने होस्टेल निःशुल्क खोज्न सक्नेछन् । साथै होस्टेल हुनेहरूले आफ्नो होस्टेल निःशुल्क दर्ता गर्न सक्छन् ।

हाल ‘योर होस्टेल’ को मोबाइल एप्लिकेसन विकासकै क्रममा रहेकाले यसमा रहेका सुविधा वेबसाइटबाट हेर्न सकिन्छ ।

यसमा जोडिन चाहनेले कुनै किसिमको सेवा शुल्क तिर्नुनपर्ने क्षेत्रीको भनाइ छ । होस्टेल आवश्यक रहेका विद्यार्थीले वेबसाइटमा गई आफूलाई पायक पर्ने स्थान छान्नुपर्ने हुन्छ । ठाउँ छानिसकेपछि आफ्नो लिङ्ग छान्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ उपलब्ध भएका होस्टेलका नाम देखिन्छन् ।

होस्टेलका नामसँगै होस्टलको मासिक शुल्क, स्थान र रेटिङ (होस्टल कस्तो छ भनी अरूले दिएको प्रतिक्रिया) देख्न सकिन्छ । त्यसपछि कुनै एउटा होस्टेल क्लिक गर्‍यो भने त्यहाँ भएका सुविधा, कोठाको फोटो, लोकेसन र त्यस होस्टेलका विशेषता देख्न सकिन्छ ।

यदि होस्टेल उपयुक्त लागेको खण्डमा तल रहेको ‘बुक नाउ (Book Now)’ गई बुक गर्न सकिनेछ । हाल यो वेबसाइट विकासकै क्रममा भएकाले तत्काललाई बुक गर्न सकिँदैन ।

त्यस्तै होस्टेल भएका व्यवसायीहरूले वेबसाइटको तलतिरको भागमा रहेको रजिस्टर अ होस्टेल भन्ने अप्सनमा गई रजिस्टर गर्न सक्छन् । त्यहाँ ‘रजिस्टर’मा क्लिक गरिसकेपछि होस्टेलको जानकारी समावेश गर्नुपर्ने हुन्छ ।

त्यसपछि रजिस्टर हुन लागेको होस्टेललाई ‘योर होस्टेल’का टिमले भेरिफाई गरेर आधिकारिक रूपमा दर्ता गर्ने क्षेत्रीले बताएका छन् । देशका प्रमुख सहरमा भएका होस्टेलहरू एकैपटक समावेश गर्ने योजनामा होस्टेल संघ नेपालले सहकार्य नगरेको क्षेत्रीको भनाइ छ ।

‘हामी सबैभन्दा पहिले यो प्रस्ताव लिएर होटेल अशाेसियसन अफ नेपाल गएका थियौं’, उनले भने, ‘तर उहाँहरूले हाम्रो प्लेटफर्मलाई विश्वास नगरेको जस्तो देखियो । यदि उहाँहरू राजी भएको भए हामी छोटो समयमा सहरमा भएका होस्टेलको विवरण वेबसाइटमा राख्न सक्थ्यौँ ।’

हाल सो वेबसाइटमा १५० भन्दा बढी होस्टेलको जानकारी समावेश गरिसकेको क्षेत्री बताउँछन् । ‘यदि होस्टेल अशाेसियसन नेपालले सहकार्य गरेको भए हाल ६०० भन्दा बढी होस्टेल समावेश गरिसक्थ्याैं,’ उनले भने ।

यसरी देशभर उपलब्ध भएका होस्टल एउटै प्लेटफर्ममा उपलब्ध गराएर ‘योर होस्टेल’ प्लेटफर्मलाई होस्टेलको ओयो (Oyo (विभिन्न होटेलहरूको जानकारी समावेश भएको प्लेटफर्म) बनाउने उनको योजना रहेको छ ।

यसैलाई विकास गरेर पछिका दिनमा होस्टेल मेनेजमेन्ट सिस्टम विकास गरेर त्यहीँबाट आम्दानी गर्ने योजना भएको उनले बताए ।

‘योर होस्टेल’मा आवश्यक थप फिचररू समावेश गरिरहेकाले र विभिन्न स्थानमा भएका होस्टेल समावेश गर्न सुरुवाती अवस्थामा केही ढिलासुस्ती भएकाले एप सार्वजनिक हुन महिना लाग्न सक्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३