close

५० बिजनेस/५० लगानीकर्ता कार्यक्रम: मुरारका समूहले रासन टेकमा लगानी गर्ने

टेकपाना टेकपाना

असार ९, २०७९ १८:५०

५० बिजनेस/५० लगानीकर्ता कार्यक्रम: मुरारका समूहले रासन टेकमा लगानी गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० बिजनेश/५० लगानीकर्ता कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुति दिएका छन् ।

महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र नवीनतम सोंच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूचि देखाएमा महासंघको स्टाट अप एण्ड इनोभेसन समितिले दुवैपक्षबीच सहजीकरण गर्नेछ ।

महासंघ आफैले आवेदन मार्फत छनाेट गरेका र महासंघको सहकार्यमा व्यावसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ शेशनमा भाग लिएका थिए ।

महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदनसमेत माग गरेको थियो । पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपीन, सूचना प्रविधि, सेवासँग सम्बन्धित बिजनेश योजना प्रस्तुत भएका थिए ।

महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत वर्ष चैत ९ गते ५० बिजनेश/५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो ।

पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनियरशिप, सर्भिस (नेम्स), अन्सु टेक्नोलोजि प्रालि, लुक्ला आउटडोर, पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपिन, स्वीट फिक्स, बिहे नेपाल, सारब, कारखाना, ग्लोकल एकेडेमी अफ स्किल, ह्यापी माइण्डस, टेका, बोआफ्रेश, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिस छन् ।

महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३