close

भोलि होटेल सोल्टीमा स्टार्टअप फेस्ट आयोजना हुँदै, प्रवेश शुल्क ३०० रुपैयाँ

टेकपाना टेकपाना

असार १०, २०७९ १४:४६

भोलि होटेल सोल्टीमा स्टार्टअप फेस्ट आयोजना हुँदै, प्रवेश शुल्क ३०० रुपैयाँ

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले भोलि शनिबार नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा मेला आयोजना गर्न लागिएको हो ।

नेपालमा स्टार्टअपलाई अभियानको रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गको रुपमा स्थापित गराउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि नेपालको निजी क्षेत्रले रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ ।

व्यवसायका स्वरूपहरू परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरूमा काम गर्ने सम्भावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने आफ्नो अभियान रहेको नेपाल उद्योग परिसंघले जनाएको छ । नेपाल स्टार्टअप फेस्ट २०२२ मा स्टार्टअपहरूले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् ।

स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठ सम्मको समयावधि दिइएको थियो । जसअनुसार देशभरबाट तीन सय बढी परियोजना प्रस्ताव आएको बताइएको छ । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० ओटा प्रस्तावलाई कार्यक्रममा प्रस्तुतीको अवसर दिइनेछ ।

साथै पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति संयोजक आयुषी केसीले बताइन् । यो कार्यक्रबाट स्टार्टअपहरूलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ ।

युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसङ्घले युवा उद्यमी मञ्चमार्फत युवाहरूलाई थप प्रोत्साहन गर्न फेस्ट आयोजना गर्न लागिएको परिसङ्घका उपाध्यक्ष रोहित गुप्ताले बताए । यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरूलाई उत्साहित गर्ने परिसङ्घको विश्वास छ । स्टार्टअप फेस्ट मार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने बताइएको छ ।

टिम भेन्चर, ग्लोबल इक्विटी फन्ड, अध्यान्त फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेञ्चर पार्टनर प्रालिले फेस्ट मार्फत विभिन्न स्टार्टअपमा पूँजी लगानीको प्रतिबद्धता जनाइसकेका छन् । स्वदेशी एवं विदेशी विज्ञबाट स्टार्टअपको विषयमा प्रस्तुती हुने एक दिने कार्यक्रममा किनोट स्पिकर, प्यानल डिस्कसन, रोबोटिक फुटबल, रोबो वार, लाइभ म्युजिक कन्सर्ट समेत रहने बताइएको छ ।

साथै ४० भन्दा बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने मञ्चका मनिस श्रेष्ठले बताए ।  मञ्चका निवर्तमान अध्यक्ष चाङ अग्रवालले लगानीका लागि ३०० भन्दा बढी स्टार्टअपको आवेदन परेको जानकारी दिए । काठमाडौंस्थित सोल्टी होटेलमा शनिबार बिहान ९ः३० बजेदेखि सुरु हुने फेस्टमा सहभागी हुन ३०० रुपैयाँ टिकट शुल्क लाग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३