close

नेपाल टेलिकमका थ्रीजीभन्दा फोरजी ग्राहक धेरै, पार गर्‍यो करोडको आँकडा

टेकपाना टेकपाना

असार १०, २०७९ १७:३

नेपाल टेलिकमका थ्रीजीभन्दा फोरजी ग्राहक धेरै, पार गर्‍यो करोडको आँकडा

काठमाडौं । सरकारी स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकमका फोरजी ग्राहक एक करोड नाघेका छन् । योसँगै पहिलो पटक कम्पनीको फोरजी ग्राहक थ्रीजीका भन्दा धेरै भएका छन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको गत चैत महिनासम्मको तथ्याङ्क अनुसार टेलिकमका फोरजी ग्राहक एक करोड चार लाख २१ हजारभन्दा बढी छन् । सँगै कम्पनीका थ्रीजी ग्राहक ९४ लाखमात्रै छन् ।

थ्रीजीका ग्राहक घट्ने र फोरजीका ग्राहक बढ्ने क्रम चलिरहेको छ । यसअघि अर्थात् फागुनमा टेलिकमका थ्रीजी ग्राहक ९९ लाख ४३ हजार भन्दा बढी थिए । त्यस्तै फोरजी ग्राहक ९८ लाख ९३ हजार थिए ।

चैतमा आइपुग्दा फोरजी ग्राहक बढेर एक करोड पार गर्दा थ्रीजी प्रयोगकर्ता पाँच लाखले घटेका छन् । हुन त पछिल्लो समय नेपालमा द्रुत गतिको मोबाइल इन्टरनेट सेवा फोरजीका प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको अवस्था छ ।

दूरसञ्चार सेवा प्रदायकबीच फोरजी ग्राहक बढाउने प्रतिस्पर्धा र देशव्यापी रुपमा भइरहेको नेटवर्क विस्तारको प्रतिफल थ्रीजीभन्दा फोरजी प्रयोग गर्नेको संख्या धेरै छन् । हाल नेपालमा कूल फोरजी प्रयोगकर्ताको संख्या एक करोड ७१ लाख तीन हजारभन्दा बढी छन् ।

यता थ्रीजी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख छ । त्यसमा अर्को दूरसञ्चार कम्पनी एनसेलका पनि फोरजी ग्राहक नै धेरै छन् । चैतसम्म एनसेलका फोरजी प्रयोगकर्ता ६५ लाख २२ हजार भन्दा बढी रहेका छन् भने थ्रीजी प्रयोगकर्ता जम्मा २० लाख रहेका छन् ।

तेस्रो ठूलो दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५९ हजारमात्रै रहेका छन् ।

यसरी फोरजी प्रयोगकर्ता बढ्दै जाँदा नेपालको कूल जनसंख्याको १२८.८६ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट पहुँच पुगेको छ । जसमा मोबाइल इन्टरनेटको हिस्सा ९८.४६ प्रतिशत रहेको छ भने फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको पहुँच ३० प्रतिशत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३