close

आज ‘स्टार्टअप फेस्ट’ हुँदै, ५० करोड बराबरको लगानी प्रतिबद्धता आउने

टेकपाना टेकपाना

असार ११, २०७९ ७:३

आज ‘स्टार्टअप फेस्ट’ हुँदै, ५० करोड बराबरको लगानी प्रतिबद्धता आउने

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आज ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्दैछ । सोल्टी होटेलमा बिहान ९ः३० बजेदेखि सुरु हुने फेस्ट नेपालमा स्टार्टअपलाई अभियानको रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गको रुपमा स्थापित गराउने उद्देश्यका गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा मेला आयोजना गर्न लागिएको हो ।

स्टार्टअप फेस्टमा स्टार्टअपहरूले लगानीका लागि परियोजनासहित प्रस्ताव पेश गरेका छन् ।

स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठ सम्मको समयावधि दिइएको थियो । जसअनुसार देशभरबाट तीन सय बढी परियोजना प्रस्ताव आएको बताइएको छ । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० ओटा प्रस्तावलाई कार्यक्रममा प्रस्तुतिको अवसर दिइनेछ ।

साथै पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति संयोजक आयुषी केसीले बताइन् ।

यो कार्यक्रबाट स्टार्टअपहरूलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ ।

युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसङ्घले युवा उद्यमी मञ्चमार्फत युवाहरूलाई थप प्रोत्साहन गर्न फेस्ट आयोजना गर्न लागिएको परिसङ्घका उपाध्यक्ष रोहित गुप्ताले बताए ।

स्टार्टअप फेस्ट मार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने बताइएको छ । टिम भेन्चर, ग्लोबल इक्विटी फन्ड, अध्यान्त फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेञ्चर पार्टनर प्रालिले फेस्टमार्फत विभिन्न स्टार्टअपमा पूँजी लगानीको प्रतिबद्धता जनाइसकेका छन् ।

देशी एवं विदेशी विज्ञबाट स्टार्टअपको विषयमा प्रस्तुती हुने एक दिने कार्यक्रममा किनोट स्पिकर, प्यानल डिस्कसन, रोबोटिक फुटबल, रोबो वार, लाइभ म्युजिक कन्सर्ट समेत रहने बताइएको छ ।

साथै ४० भन्दा बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने मञ्चका मनिस श्रेष्ठले बताए ।  मञ्चका निवर्तमान अध्यक्ष चाङ अग्रवालले लगानीका लागि ३०० भन्दा बढी स्टार्टअपको आवेदन परेको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३