close

स्टार्टअप गर्न पैसा होइन, आइडिया र विश्वासमा दम चाहिन्छः विनोद चौधरी

टेकपाना टेकपाना

असार ११, २०७९ १२:९

स्टार्टअप गर्न पैसा होइन, आइडिया र विश्वासमा दम चाहिन्छः विनोद चौधरी

काठमाडौं । डलर अर्बपति तथा उद्योग परिसङ्घ नेपाल (सीएनआई) का पूर्व अध्यक्ष विनोद चौधरीले पैसा भएकाले नभएर विचारमा दम भएका युवाहरूले सुरु गर्ने व्यवसाय भएको बताएका छन् । शनिबार राजधानी स्थित सोल्टी होटेलमा आयोजित स्टार्टअप फेस्ट कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

“उद्यमशीलताको कुनै भौगोलिक वा सीमाना हुँदैन । विचार नयाँ वा आकर्षक भएपछि जो पनि उद्यमी हुन सक्छ,” उनले भने, “डिजिटल प्रविधिले माग र आपूर्तिलाई जोड्ने काम गरेको छ । मैले देखेका सपना पूरा नगरी म विश्राम लिँदैन भन्ने संकल्प हुनुपर्छ ।”

हरेक उद्यमीको सुरुवात स्टार्टअपबाट हुने गरेको भन्दै उनले स्टार्टअपलाई हरेक वित्तीय संस्थाले बिना धितो १० लाख रुपैयाँ ऋण दिनुपर्ने नीति रहेको औँल्याए । “सबै प्रदेशले स्टार्टअपका लागि बजेट विनियोजन पनि गरेका छन्,” उनले अगाडि भने, “विश्वमा स्टार्टअप पैसा भएकाले खोलेका छैनन्, उनीहरू आफ्नो विश्वासको दममा खुलेका हुन्, आफ्नो विचारमा दम भएर खुलेका छन् ।”

स्टार्टअपलाई पुँजीले रोक्न नसक्ने भन्दै चौधरीले व्यवसायिक सोच राम्रो भएको खण्डमा लगानी गर्ने एकसे एक भेटिने बताए । नबिल बैंकले समाज सेवाका लागि सातै प्रदेशमा स्कुल खोलेको र त्यहाँबाट उद्यमशीलताको यात्रामा विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य लिइएको जानकारी समेत उनले गराए ।

“सरकारका विभिन्न निकायमा सातवटा भन्दा बढी फण्डिङ योजना पेन्डिङमा छन्, जसलाई कसरी वा केमा लगानी गर्ने कुरा निश्चित छैन । स्टार्टअप आइडिया भएकाहरू हरेक कुराबाट प्रेरित हुन सक्छन् । पुँजी छैन केही छैन भन्ने होइन । विचार छ त सबथोक छ भन्ने ठान्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपलाई प्रोत्साहन गर्नैकै लागि आफूहरूले यो कार्यक्रम आयोजना गरिएको बताए ।

“यसबाट नवीनतम सोच लिनुका साथै, उनीहरूको विकासमा सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौँ,” उनले भने, “उद्यमशीलता र युवा व्यवसायीको विकास होस् भन्ने हाम्रो चाहना हो ।” स्टार्टअपलाई लिएर सरकारले नीति बनाए पनि त्यसको कार्यान्वयन हुन नसकेको उनको भनाई थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३