close

अप्टिकल फाइबरमार्फत दुर्गम बस्तीमा टेलिकमको सेवा

टेकपाना टेकपाना

असार १२, २०७९ १६:३५

अप्टिकल फाइबरमार्फत दुर्गम बस्तीमा टेलिकमको सेवा

थम्मन थापा/-
बागलुङ । नेपाल टेलिकमले तमानखोला गाउँपालिका-४ लाममेलामा पहिलो पटक मोबाइल सेवा पुर्‍याएको छ । ग्रामीण र दूरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप त्यहाँ मोबाइल सेवा विस्तार गरी सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा उपलब्ध गराउन प्राविधिक हिसाबले सम्भव नभएपछि तमानमा रहेको बीटीएस टावरबाट अप्टिकल फाइबरमार्फत लिङ्क गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख ई. केशव शर्माले जानकारी दिए ।

बागलुङ र म्याग्दी जिल्लाको संगमस्थल पर्यटकीय स्थल सोलेडाँडासँगै लाममेला गाउँका झन्डै तीन सय घरधुरीलाई लक्षित गरी सेवा सञ्चालन गरिएको उनले बताए ।

‘अहिलेसम्म उक्त गाउँमा कुनै पनि मोबाइल सेवा थिएन । हामीले दुर्गम र विकट गाउँका जनतालाई सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले अस्थायी टावर निर्माण गरी अप्टिकल फाइबरमार्फत सेवा प्रवाह गरेका छौं । टावर नहुँदा उहाँहरुले कठिनाइ भोग्दै आउनुभएको थियो । अब मोबाइल सेवा सञ्चालनमा आएपछि सहजता भएको छ,’ उनले भने ।

भौगोलिक विकटतासँगै बर्खायाम सुरु भइसकेकोले त्यहाँ सामग्री ढुवानी र प्राविधिकलाई पुग्न समस्या भएपनि टेलिकमले त्यहाँका जनप्रतिनिधि र स्थानीयको सहकार्यमा सेवा विस्तार गर्न सफल भएको शर्माको भनाइ छ ।

निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको इन्टरनेटसहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोबाइल सेवा विस्तार गर्ने गृहकार्यमा रहेको पनि उनले जानकारी दिए ।

तमानखोला गाउँपालिका वडा-४ का वडा अध्यक्ष छप्रसाद श्रीपालीले भने ‘विकट भूगोलमा मोबाइल सेवा नहुँदा यहाँका नागरिक र हामी जनप्रतिनिधिलाई समेत सूचना आदानप्रदान गर्न निकै कठिन भइरहेको थियो । त्यस क्षेत्रमा मोबाइल सेवा विस्तारको लागि रेडियो लिङ्क गर्न समस्या भएकाले अप्टिकल फाइबर तार व्यवस्था गरका छौं ।’

यस क्षेत्रमा पहिलो पटक मोबाइल सेवा पुगेपछि दुर्गमका ग्राहकहरु थ्रीजी मोबाइलको भ्वाइस र डेटामार्फत लाभान्वित हुने बताइएकाे छ ।

समुद्री सतहदेखि झन्डै दुई हजार ६०० मिटरको उचाइमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि वडासहित गाउँपालिकामा हुने हरेक कामकाज र स्थानीयको दैनिकीलाई मोबाइल सेवाले थप सजिलो बनाएको छ ।

माेबाइल सेवालाई नागरिकसमक्ष सहजता प्रदान गर्न आफनो सेवा विस्तारसँगै गुणस्तरीय सेवा उपलब्ध गराउन टेलिकमले आफ्नो सेवाको विस्तार कार्यलाई तीव्रता दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३