close

सातदोबाटोदेखि गोदावरीसम्मको क्षेत्रलाई वैज्ञानिक सहर बनाइने

टेकपाना टेकपाना

असार १२, २०७९ २१:१३

सातदोबाटोदेखि गोदावरीसम्मको क्षेत्रलाई वैज्ञानिक सहर बनाइने

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले ललितपुरकाे सातदोबाटोदेखि गोदावरीसम्मको क्षेत्रलाई वैज्ञानिक सहर बनाउने घोषणा गरेको छ । नास्टकाे आयाेजनामा आइतबारदेखि सुरु भएको नवौँ राष्ट्रिय वैज्ञानिक सम्मेलनमा याे क्षेत्रलाई वैज्ञानिक सहर बनाउने घाेषणा गरिएकाे हाे ।

यसअन्तर्गत सातदोबाटोदेखि गोदावरीसम्मको ११ किलोमिटर क्षेत्रलाई वैज्ञानिक सहरले समेटिने नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए । उनका अनुसार यस्ताे सहरभित्र विज्ञान तथा प्रविधि पार्कको निमार्ण गरिनुका साथै अनुसन्धान केन्द्रहरु खाेलिने छ ।

त्यस्तै ‍‌एक ठाँउबाट अर्को ठाँउमा जान विद्युतीय सवारी तथा केबलकारको प्रयोग गरिने छ । श्रेष्ठका अनुसार याे क्षेत्रभित्र परम्परागत शैलीका वैज्ञानिक गाँउ (साइन्टिफिक भिलेज) समेत निर्माण गरिने बताइएकाे छ ।

यो क्षेत्रलाई विज्ञान तथा प्रविधिमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्मी तथा सर्वसाधारणकाे अवलोकन, अन्वेषण तथा ज्ञान आदानप्रदान गर्ने थलोको रुपमा विस्तार गर्ने नास्टकाे लक्ष्य छ ।

नास्टले यो योजनालाई सन् २०३० सम्म पुरा गरिसक्ने बताएको छ ।

‘समाजका लागि विज्ञान तथा समृद्धिको लागि नवप्रवर्तन’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे ।

नाष्टका कुलपतिसमेत रहेका प्रम देउवाले साे अवसरमा बाेल्दै मुलुकको विकासका लागि विज्ञान तथा प्रविधि महत्त्वपूर्ण रहेको धारणा राखे ।

यस क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नास्टकाे वैज्ञानिक सहर निर्माण नास्टको योजनालाई सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालसँगै नौ मुलुकका वैज्ञानिक, अनुसन्धानर्मी, विद्यार्थी लगायतको उपस्थिति एवं प्रस्तुति रहनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३