close

४५ मिनेटमै फुल चार्ज हुने बीवाईडी ‘एटो थ्री’ नेपाल आउँदै, सिंगल चार्जमा ४२० किमीसम्म गुड्ने

टेकपाना टेकपाना

असार १२, २०७९ १९:४१

४५ मिनेटमै फुल चार्ज हुने बीवाईडी ‘एटो थ्री’ नेपाल आउँदै, सिंगल चार्जमा ४२० किमीसम्म गुड्ने

काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ विद्युतीय कार ‘एटो थ्री’ भित्रिने भएकाे छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले साउन १३ मा कार नेपाल भित्र्याउने तयारी गरेकाे कम्पनीका बजार प्रबन्धक समिर श्रेष्ठले जानकारी दिए ।

यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवैलाई सपोर्ट गर्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यस्तै ५ इन्चको ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’ (मिटर रहेको भाग) सहित सिन्थेटिक लेदर अफहोलस्टेरेड सिट, ‘इलेक्ट्रिक पावर असिस्टेड स्टेरिङ ह्वील’ जस्ता फिचर उपलब्ध छन् ।

५०.१ किलोवाट आवर र ६०.४ किलोवाट आवर गरी दुई ओटा ब्याट्री विकल्पमा उपलब्ध हुने कारले अधिकतम २०० एचपी पावर दिने जनाइएको छ ।

कम्पनीले ८० किलोवाटको फास्ट चार्जरबाट ४५ मिनेटमै फुल चार्ज हुने दाबी गरेकाे छ । त्यस्तै यो कारले अधिकतम ३२० देखि ४२० किलोमिटरको रेन्ज प्रदान गर्ने बताइएकाे छ ।

एटो थ्री कारमा ३६० डिग्रीमा हेर्न मिल्ने (३६० भ्यू) क्यामेरा, १२ भोल्ट सकेट, वायरलेस फोन चार्जर, बिना चाबी गाडी सञ्चालन हुने तथा भित्र जान सकिने र एकपटक बटन थिचेकै भरमा ‘टेल गेट’ (पछाडिको ढोका) खुल्ने लगायतका फिचर उपलब्ध छन् ।

पाँच सिट क्षमता भएको कारमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

त्यस्तै, सिट बेल्टको प्रयोग गर्न अलर्ट गर्ने (सिट बेल्ट रिमाइन्डर), ‘हिल-डिसेन्ट कन्ट्रोल’, ‘ट्रयाक्सन कन्ट्रोल सिस्टम’, ‘टीपीएमएस’-टायर प्रेसर मनिटरिङ सिस्टम (टायरहरूमा सही प्रेसर छ कि छैन भनी जाँच गर्ने प्रविधि), ‘ईपीएस’ सहितको एन्टी-लक ब्रेकिङ सिस्टम जस्ता सुरक्षाका फिचर पनि यसमा समावेश गरिएकाे छ । 

नेपाली बजारमा याे कारकाे मूल्य निर्धारण भइनसकेकाे श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय बजारमा भने यो कारको मूल्य ४५ हजार डलरबाट सुरु हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३