close

लोकसेवा र विभिन्न विषयको प्रवेश परीक्षा तयारी गर्न सघाउने अनलाइन प्लेटफर्म ‘ज्ञानमार्क’

हिक्मत आचार्य हिक्मत आचार्य

असार १३, २०७९ ७:४१

लोकसेवा र विभिन्न विषयको प्रवेश परीक्षा तयारी गर्न सघाउने अनलाइन प्लेटफर्म ‘ज्ञानमार्क’

काठमाडौं । पोखरा विश्वविद्यालयमा अध्ययन गरिरहेकी प्रविना सुवेदीलाई नर्शिङको प्रवेश परीक्षा दिनुअघि त्यसमा आउने नमुना प्रश्नहरू अनलाइनबाटै भेटियोस् भन्ने चाहना थियो । त्यसका लागि उनले इन्टरनेटमा विभिन्न साइट खोजिन् । तर, उपयुक्त साइट कतै फेला पार्न सकिनन् ।

त्यसपछि उनलाई त्यस्तो प्लेटफर्मको आवश्यकता भएको महसुस भयो, जहाँ विभिन्न प्रवेशिका परीक्षाका लागि आवश्यक मल्टिपल च्वाइस काेइशन (एमसीक्यू) पढेर तयारी गर्न सकियोस् ।

‘मलाई नर्सिङ पढ्नुअघि दिनुपर्ने इन्ट्रान्स एक्जाममा के-कस्ता प्रश्न आउँछन् वा पहिलेका एक्जाममा आएका प्रश्न कस्ता थिए भन्ने जान्न धेरै नै आवश्यक थियो,’ सुवेदीले भनिन्, ‘अनलाइनमा त्यस्ता सामग्री खोज्दा भेटिनँ । त्यही बेलादेखि नै मलाई एउटा त्यस्तो प्लेटफर्मको बनाउने चाहना थियो, जहाँ प्रवेश परीक्षादेखि लोकसेवा आयोगका प्रश्नहरू समावेश भएका हुन् ।’

उनले पछि भौतिक रूपमा उपस्थित भई प्रवेश परीक्षा तयारी गर्नुपर्‍यो । प्रवेश परीक्षा तयारी गर्दा उनी आफूले पाएका प्रश्न, इन्टरनेट पुगेको ग्रामीण भेगका विद्यार्थीले पनि पाएको भए राहत पुग्ने महसुस भयो । नर्शिङमा नाम निकालेर उनी पोखरा विश्वविद्यालयमा स्नातक तह नर्सिङ अध्ययन गर्न थालिन् ।

क्याम्पस पढ्दै गर्दा उनी कलेजले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भइरहन्थिन् । त्यही समयमा उनको भेट इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढिरहेका सुवास पौडेलसँग भयो । उनले आफ्नो योजना सुवासलाई सुनाइन् ।

त्यसपछि सो परियोजनालाई अगाडि बढाउन उनीहरूले ज्ञानमार्कको अवधारणा कार्यान्वयनमा ल्याउन थाले ।

ज्ञानमार्क विशेषगरी हरेक तहका प्रवेश परीक्षाकाे तयारी गरिरहेका विद्यार्थीका लागि उपयुक्त हुने सुवेदीको भनाइ छ । ज्ञानमार्कमार्फत माध्यमिक तहदेखि विभिन्न विषयमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले प्रवेश परीक्षाका तयारी गर्न सक्छन् ।

‘यो विशेषगरी प्रवेश परीक्षा र लोकसेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरूका लागि निर्माण गरिएको हो,’ उनले भनिन्, ‘त्यसबाहेक पनि सूचना, प्रविधि तथा सञ्चार, विज्ञान, साहित्य, इतिहास, विश्व भूगोल लगायतका क्षेत्रको प्रश्नपत्र समावेश छन् ।’

प्रवेश परीक्षाका लागि हरेक तहका विद्यार्थीलाई निःशुल्क प्रश्नपत्र उपलब्ध गराउने यो प्लेटफर्म धेरैका लागि उपयुक्त हुने देखिन्छ । यसमा एसईई दिएका विद्यार्थीलाई कक्षा ११ वा प्राविधिक क्षेत्रका विज्ञान प्रवेश परीक्षा, सीटीईभीटी, पीसीएल, र ए लेभल प्रवेश परीक्षाका प्रश्न पत्र रहेका छन् ।

त्यस्तै उच्च माध्यमिक तह उत्तीर्ण गरिसकेका विद्यार्थीका लागि बीएससी सीएसआईटी, आईओई, कमन मेडिकल इन्ट्रान्स एक्जाम, सीम्याटका प्रश्नहरू समावेश छन् ।

सर्वसाधारणका लागि आवश्यक हुने सवारी चालक अनुमतिपत्रका लागि पनि महत्त्वपूर्ण प्रश्नहरू समावेश छन् । विभिन्न क्षेत्रहरू जस्तै इन्जिनियरिङ लोक सेवा तयारी, मेडिकल लोक सेवा तयारी र अन्य विभिन्न क्षेत्रका लोकसेवा सामग्री उपलब्ध छन् ।

त्यस्तै नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरीका विभिन्न पदका लागि प्रश्न उपलब्ध छन् । सार्वजनिक संस्थान अन्तर्गत नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक उड्यन प्राधिकरण, नेपाल आयल निगमका लागि विभिन्न पदका लागि आवश्यक प्रश्न उपलब्ध छन् ।

त्यस्तै लोकसेवा अन्तर्गतका अन्य तयारी कक्षा कम्प्युटर अपरेटर लोकसेवा तयारी, शिक्षक सेवा आयोगका नमुना प्रश्न पत्र, बैंकिङ सेवा आदिका पहिलेका प्रश्न, सम्भावित प्रश्न समावेश गरिएको सुवेदी बताउँछिन् ।

त्यसबाहेक इतिहास, भूगोल, राजनीति, राेचक तथ्य, रमाइला जानकारी, साहित्यतर्फ रूचि राख्ने हरेकका लागि विभिन्न प्रश्न समावेश छन् ।

वेबसाइटमा गइसकेपछि क्विज खेल्न सकिन्छ, जसले गर्दा आफूमा कुन क्षेत्रमा कति ज्ञान छ भन्ने कुराको जानकारी पाउन सकिने सुवेदीको भनाइ छ ।

माथि उल्लेखित कुनै पनि विधाको तयारी गरिरहेका वा त्यस क्षेत्रतर्फ जान चाहेका मानिसहरूले वेबसाइटमा गई आफूलाई उपयुक्त कोर्ष छान्न सक्छन् । त्यसमा गइसकेपछि आफू इच्छुक भएको विषय छान्नुपर्ने हुन्छ ।

त्यसपछि त्यहाँ विभिन्न प्रश्नहरू आउँछन्, जहाँ हरेक प्रश्न मुनि चारवटा उत्तर समावेश हुन्छन् जसलाई एमसीक्यू अर्थात मल्टिपल च्वाइस क्वाइसन भन्ने गरिन्छ ।

प्रश्न अनुसार सही उत्तर दिएइको खण्डमा त्यहाँ हरियो बक्स देखिन्छ । यदि गलत उत्तर छ भने त्यहाँ रातो बक्स देखिन्छ र सही उत्तरमा हरियो बक्स देखिन्छ ।

यसरी रमाउँदै हरेक तहका परीक्षार्थीले आफूले दिन लागेको परीक्षाको प्रश्नको प्रकृतिबारे पहिले नै जानकारी हुँदा जाँच दिँदा सहज हुने सुवेदीको भनाइ छ । त्यस्तै वेबसाइटमा भिडिओ सेक्सन पनि समावेश छ, जसका माध्यमबाट नेपालमा अध्ययन हुने विभिन्न फ्याकल्टीका स्कोपबारे जानकारी दिने, ती विषयका बारेमा विस्तृत जानकारी दिने उनले बताइन् ।

यस टिममा हाल विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेर सरकारी सेवामा आबद्ध व्यक्ति, अनुसन्धानरकर्मीहरू र विभिन्न कोर्ष अध्ययनरत विद्यार्थीको संलग्नता रहेको छ । जसका माध्यमबाट हरेक पटक उपयुक्त प्रश्नपत्र अपडेट भइरहने सुवेदीको भनाइ छ ।

यसमा हाल प्रादेशिक स्वस्थ प्रशिक्षण केन्द्र गण्डकीका जनस्वास्थ्य प्रशासक प्रविण शर्मा, ई. सुवास पौडेल, ई. संगीत लामिछाने, प्रविना सुवेदी, ई. नमनराज शाह, सङ्घर्ष लामिछाने, ई.देवेन्द्र यादवको समूह छ, जसले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन दिने गर्छन् ।

त्यस्तै यस वेबसाइटमा भएको ब्लग सेक्सनमा हाल विभिन्न तहका प्रश्न र उत्तर समावेश छन् । जहाँ परीक्षार्थीले प्रश्न र उत्तर पढ्न सक्छन् । पछिका दिनमा ब्लग सेक्सनमा नेपालमा अध्यापन गराइने विभिन्न विषय पढ्न के के गर्ने, पढेर के के गर्न सकिन्छ, जागिरको सम्भावना कस्तो रहन्छ जस्ता थुप्रै कुराको जानकारी दिने उनको भनाइ छ ।

हाल यस वेबसाइटमा आम्दानीको माध्यम गुगलको विज्ञापन हाे । विस्तारै धेरै विद्यार्थीमाझ पुगेर स्थानीय विज्ञापनमा बढी केन्द्रित हुने कम्पनीको योजना छ ।

हाल उनीहरू मोबाइल एप्लिकेसन विकासका क्रममा छन् । एप्लिकेसन आइसकेपछि थप सुविधा समावेश गर्ने योजना रहेको छ ।

‘हामी अहिले विभिन्न किसिमका तयारी कक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई निःशुल्क नमुना प्रश्नपत्र उपलब्ध गराउने कुरामा केन्द्रित छौं,’ उनले भनिन्, ‘पछिका दिनमा एप विकास गरेर त्यही अनुसारका फिचर समावेश गर्दै जाने योजना बनाएका छौं ।’

या टिमले हाल फेसबुक ग्रुपमार्फत पनि विभिन्न तहका परीक्षाबारे जानकारी दिइरहेकाे छ । लोकसेवा वा प्रवेश परीक्षा तयारी गरिरहेका जोकोहीले आफूलाई लागेका जिज्ञासा ग्रुपमा राख्नसक्ने सुवेदीले सुनाइन् ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १३:३५