close

यसरी संसारकै धनी बने एलन मस्क

टेकपाना टेकपाना

असार १४, २०७९ १४:५५

यसरी संसारकै धनी बने एलन मस्क

काठमाडौं । एउटा कम्प्युटर गेमबाट १२ वर्षको उमेरमै पाँच सय अमेरिकी डलर कमाएका एलन मस्क आजदेखि ५१ वर्ष पुगेका छन् । याे अवधिमा उनी संसारकै धनी व्यक्ति बन्न सफल भएका छन् ।

सन् १९७१, जून २८ तारिखमा दक्षिण अफ्रिकामा जन्मेका मस्कको सफलताको कथा बाल्यकालदेखि नै सुरु हुन्छ ।

सन् १९८४ मा आफूले बनाएको पहिलो कम्प्युटर गेम ‘ब्लास्टर’ को कोड पाँच सय अमेरिकी डलरमा म्यागेजिन पीसी एण्ड अफिस टेक्नलोजीलाई उनले बेचेका थिए । अन्तरिक्ष प्रेमीका रुपमा पनि चिनिने मस्कको सो ब्लास्टर गेम अन्तरिक्ष सम्बन्धी नै थियो ।

बायोग्राफी पोर्टलमा प्रकाशन भएको एउटा लेखमा उल्लेख गरिएअनुसार सफ्टवेयर बनाएर बेच्न सक्यो भने पैसा कमाउन सकिने भन्ने थाहा पाएपछि उनले आफ्नो पहिलो गेम बनाएका थिए । त्यतिखेर कमाएको पैसाले उनले नयाँ कम्प्युटर किनेका थिए ।

त्यसपछि ९० दशकको मध्यतिर उनले आफ्नो भाइ किम्बलसँग मिलेर ‘जिप२’ (Zip2) सफ्टवेयरको विकास गरेका थिए, जसलाई सन् १९९९ मा कमप्याक नामको कम्पनीले ३०५ अमेरिकी डलरमा खरिद गरेको थियो ।

पैसाको महत्त्व राम्रोसँग बुझेका मस्कले सो सफ्टेयर बेचेको एक महिनापछि नै अनलाइन पेमेन्ट कम्पनी ‘एक्स डट कम’ (X.com) को सुरुवात गरे, जुन आजको दिनमा पेपालको नामले परिचित छ ।

त्यो समयमा इबे (eBay) सबैभन्दा ठूलो अनलाइन पेमेन्ट कम्पनी थियो । एक्स डट कम सुरु भएको दुई वर्षपछि नै इबेले एक अर्ब ५० करोडमा पेपाल खरिद गरेर इबे र पेपालको सेवालाई मर्ज गरेको थियो ।

Elon-musk-techpana

सफ्टवेयरहरुको काममा अगाडि बढिरहेका मस्कको भने एउटै लक्ष्य थियो ‘अन्तरिक्ष’ । उनी मान्छेहरुको माझमा अन्तरिक्ष एक्सप्लोरेशनको आकर्षण बढाउन चाहन्थे । यही सिलसिलामा उनी रूस पुगे, जहाँको प्रक्रिया उनले सोचेभन्दा धेरै गाह्रो निक्लियो । त्यहाँबाट अन्तरिक्षयान किनेर उनी त्यसलाई मंगल ग्रहमा पुर्‍याउन चाहन्थे । तर रसियनहरुले उनलाई पहिलो भन्दा दोस्रो भेटको अवसर नै दिएनन् ।

अनि त्यसपछि मस्कले उही गरे, जे उनले गर्दै आएका थिए । अन्तरिक्षयान किन्ने उनको सपना पुरा नभएपछि उनी लागे अन्तरिक्षयान बनाउनतिर । अनि सुरु भयो स्पेसएक्स (SpaceX) ।

सन् २००२ मा निजि स्पेस एक्स्प्लोरेशन कम्पनी स्पेसएक्सको जन्म भयो । कम्पनीले निर्माण गरेको पहिलो अन्तरिक्षयान ‘फाल्कन वान’ को अर्विटसम्म पुग्ने तीनवटा प्रयास असफल भएपछि सन् २००८ को सेप्टेम्बर महिनामा गरिएको चौंथौ प्रयासमा फाल्कन अर्विटमा पुग्न सफल भयो ।

तीन पटकको प्रयासमा असफल भएको स्पेसएक्स कि त अब बन्छ, कि नभए यो सधैंको लागि भत्कन्छ भन्ने सोचका साथ मस्कले गरेको चौंथौ प्रयास सफल भयो ।

यो प्रयासले स्पेसएक्सलाई विश्वको पहिलो निजी कम्पनी बनायो, जसले आफैंले अन्तरिक्षयान बनाएर सफलतापूर्वक अर्विट पुर्‍याएको थियो । यसबीच नासाले पनि स्पेसएक्सलाई एक अर्ब ६० करोड अमेरिकी डलरको आर्थिक सहयोग गरेको थियो ।

स्पेसएक्सको ‘फाल्कन ९’ मान्छेहरुकै क्रु सहित केनेडी स्पेस सेन्टरमा पुगेको थियो । करिब १८ वर्षको यात्रामा स्पेसएक्स एउटा सोचबाट विकसित हुँदै स्पेस एक्सप्लोरेशनको क्षेत्रमा एक चर्चित नाम बन्न पुगेको छ ।

मस्क विश्वमा चर्चित हुनुमा उनको अर्को एउटा कम्पनी टेस्ला पनि हो । सन् २००२ मा सुरु भएको यो कार कम्पनी मार्टिन एबरहार्ड र मार्क टार्पेनिङले अगाडि बढाउनका लागि फण्डिङ खोजिरहँदा मस्कले सन् २००४ मा यस कम्पनीलाई फण्डिङ गरेका थिए ।

त्यो बेलादेखि आजसम्म आउँदा टेस्लाले विद्युतीय गाडीहरुको बजारलाई थुप्रै राम्रा गाडीहरु उपलब्ध गराएको छ । झन् वातावरणीय हिसाबले बढ्दै गएको विद्युतीय गाडीको मागका कारण टेस्लाले आजको मितिमा राम्रो बजार बनाउन सफल भएको छ ।

यही टेस्लाको कारण आज मस्क विश्वकै धनी व्यक्ति बन्न पनि सफल भएका छन् । उनको हालको सम्पत्ति करिब २३४.५ अर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ ।

आफू पहिलाे पटक विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा रहेको खबर पाएपछि उनले आफ्नो ट्वीटरमा लेखेका थिए, ‘मैले कमाएको पैसामध्ये आधा पैसा यो पृथ्वीको समस्या समाधान गर्नको लागि खर्चनेछु भने बाँकी आधा पैसा केही गरी पृथ्वीमा मानव बस्ती संकटमा पर्‍यो भने मंगल ग्रहमा मानव बस्ती बसाल्नको लागि प्रयोग गर्नेछु ।’

मस्कले आफ्नो जीन्दगीबाट सधैं धेरै नै चाहे, जुन स्वभावले गर्दा आज उनलाई यो स्थानमा ल्याउन मद्दत गरेको छ । यद्यपि उनको यात्राले भने अझै विश्राम लिइसकेको छैन ।

सबै ग्रहहरुलाई माया गर्ने उनीले पृथ्वीवासीका लागि स्टारलिंक इन्टरनेटको परियोजनामा व्यस्त छन् । स्पेसएक्सको सन २०२७ सम्म लो–अर्थ अर्बिटमा ४२ सय स्याटलाइट राख्ने योजना छ रहेको यसले विश्वभर इन्टरनेट दिनसक्ने क्षमता राख्दछ । यही शनिबार ट्वीट गर्दै मस्कले बताएका थिए, ‘स्टारलिंकको सेवा लिने कम्पनीहरुको संख्या ६९,४२० भन्दा पनि माथि पुगेको छ ।’

व्यावसायिक क्षेत्रमा मात्र होइन मस्क पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा पनि निकै नै लोकप्रिय बन्दै गएका छन् । उनका फलोअरहरु उनले शेयर गरेका रमाइला पोस्टहरुमा रमाउने गर्छन् ।

सामाजिक सञ्जालप्रतिकाे माेहकै कारण उनले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झाैता गरिसकेका छन् । ट्वीटरमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिसमा जुटेका उनी बारम्बार गसिपकाे पात्र पनि बनिरहेका छन् ।

Elon Musk car tesla in india

याे पनि पढ्नुहाेस् : संसारकै धनी एलन मस्कका यी ६ रहस्य, जुन धेरैलाई थाहा नहुन सक्छ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३