close

ई-बिलिङका लागि उपयोगी नेपाली सफ्टवेयर

टेकपाना टेकपाना

असार १५, २०७९ ११:२

ई-बिलिङका लागि उपयोगी नेपाली सफ्टवेयर

काठमाडौं । मूल्य अभिवृद्धि कर ऐन अन्तर्गत नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी विभिन्न व्यवसाय गर्दै आएका करदातालाई विद्युतीय माध्यमबाट बीजक (बिल) जारी गर्नुपर्ने प्रावधान ल्याएको छ ।

यसका लागि सहयाेग पुर्‍याउने उद्देश्यले एसएमटेक टेक्नोलोजीले ई-बिलिङ सफ्टवेयर प्रवर्द्धन गरिरहेकाे छ ।

निजी तथा सरकारी कार्यालयका लागि उपयोग हुने सफ्टवेयर तथा प्रविधिको विकास गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश पाण्डेले जानकारी दिए ।

सन् २०१३ मा स्थापना भएको यो कम्पनी विशेषगरी सूचना प्रविधि तथा सफ्वेयर डेभलपमेन्टमा सक्रिय छ । यसअन्तर्गत कम्पनीले ई-बिलिङ, ‌ई-इन्भोइस, पीओएस (पोइन्ट अन सेल), अकाउन्टिङ सिस्टम लगायतमा काम गर्दै आएको छ ।

‘नेपालमा वर्षैपिच्छे नयाँ-नयाँ नीति आइरहेको हुन्छ, जसमा डिजिटल प्रणालीलाई बढी प्राथमिकता दिइएको पाइन्छ,’ पाण्डे भन्छन्, ‘हाल सरकारले ल्याएकाे नयाँ नीतिमा आर्थिक वर्ष ०७९/८० बाट सम्पूर्ण व्यावसायिक करदातालाई विद्युतीय बीजक प्रयोग गर्नुपर्ने भनिएको छ । नेपालको सन्दर्भमा निजी व्यवसाय गर्नेहरूलाई त्यसबारे जानकारी नहुनसक्छ । त्यसैले हामी नेपाली टिमले विकास गरेका सफ्टवेयर प्रयोग गर्न आह्वान गर्छाैं ।’

‘हरेक व्यवसायीको व्यापार मोडल एउटै नहुने भएकाले व्यवसाय व्यवस्थापनका लागि विशेष फिचर भएका सफ्टवेयर आवश्यक पर्छ । त्यही कुरालाई मध्यनजर गर्दै हामीले कस्टमाइजेबल सफ्टवेयर ल्याएका छाैं,’ उनी अगाडि थप्छन्, ‘हाम्रो देशका व्यवसायमा हरेक साना साना कामहरू पनि विदेशी सफ्टवेयरका माध्यमबाट सम्पन्न गर्ने गरिन्छ । यदि व्यवसाय व्यवस्थापनसँग सम्बन्धित काम गर्ने स्वदेशी सफ्टवेयर छन् भने किन प्रयोग नगर्ने ?’

के हाे ई-बिलिङ ?

ई-बिलिङ वा ई-इन्भोइसिङ भनेको कम्प्युटराइज बिलिङ हो । हातले बिल काटिरहेको प्रणालीलाई कम्प्युटरका माध्यमबाट बिल काट्ने प्रणाली पुर्‍याउनु नै ई-बिलिङ भएको बताउँदै पाण्डेले यसबाट व्यवसाय छिटो, छरिटो, र वैज्ञानिक रूपमा अगाडि बढाउन सकिने उनको भनाइ राखे ।

‘अब हरेक व्यवसायी डिजिटलाइज हुन जरुरी छ । सबै कम्प्युटर सिस्टमबाट सञ्चालन हुन आवश्यक छ । यति गरिसकेपछि उनीहरूले आफ्नो व्यवसायको सही विश्लेषण गर्न सक्छन्,’ उनले भने ।

यसरी विद्युतीय प्रणाली लागू गरेको खण्डमा नाफा-नोक्सानको सही पहिचान गर्न सकिने, विभिन्न सामाग्रीको विवरण (मूल्य, उत्पादन मिति) सही तरिकाले राख्न सकिने, अगाडि कस्ता कुराहरू ल्याउने भन्ने कुरा सही तरिकाले व्यवस्थापन गर्न सकिने उनी बताउँछन् ।

कम्पनी स्थापना भएको करिब ९ वर्षमा याे सफ्टवेयर राजधानीका ४०० बढी कम्पनीले प्रयोग गरेका छन् । कम्पनीसँग हाल २० हजारदेखि १ लाख मूल्यसम्मका सफ्टवेयर उपलब्ध छन् ।

व्यवसायीले आफूलाई उपयुक्त लागेका फिचरहरू कस्टमाइज गरी सफ्टवेयर खरिद गर्न सक्छन् । सफ्टवयेर खरिद गरिसकेपछि उनीहरूलाई कम्पनीले नै मोबाइल एप उपलब्ध गराउने पाण्डेले जानकारी दिए ।

यस सफ्टवेयरले साना खुद्रा व्यापारीदेखि ठूला व्यवसायीले प्रयोग गर्नसक्ने उनकाे भनाइ छ ।

‘कर नतिर्ने साना व्यवसायीले पनि आफ्नो व्यवसायमा भएका हरेक सामग्रीको विवरण राख्न सक्छन् । वार्षिक कारोबार पाँच करोड वा १० करोडभन्दा बढी आम्दानी हुने व्यवसायीलाई त यस्तो सफ्टवेयर प्रयोग गर्नु अनिवार्य नै छ । उनीहरूले लाखौंमा हुने करको कारोबार व्यवस्थित तरिकाले अगाडि बढाउन सक्छन्,’ उनले भने ।

यो सफ्टवेयर आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न मिल्ने बनाइएकाे छ । यसका लागि मासिक न्यूनतम पाँच सयदेखि पाँच हजारसम्मको सब्स्क्रिप्सन मोडेल रहेको छ ।

एसएमटेक कम्पनीसँग हाल रेस्टुरेन्ट मेनेजमेन्ट सिस्टम, इन्टरप्राइज रिसोर्स प्लानिङ, कस्टुमर रिलेसनशिप मेनेजमेन्ट, अकाउन्टिङ सफ्टवेयर, रिटेल मेनेजमेन्ट लगायतका सेवा उपलब्ध गराउने सफ्टवेयर रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३