close

माइक्रोसफ्टको ‘इम्याजिन कप जुनियर’ मा नेपाली टिम विजयी

टेकपाना टेकपाना

असार १५, २०७९ १२:५३

माइक्रोसफ्टको ‘इम्याजिन कप जुनियर’ मा नेपाली टिम विजयी

काठमाडौं । माइक्रोसफ्टले आयोजना गरेको इम्याजिन कप जुनियर २०२२ मा नेपालबाट प्रतिनिधित्व गरेको टिम ‘अराइज’ विजेता बन्न सफल भएको छ ।

माइक्रोसफ्टले गत फेब्रुअरी ३ मा १३ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाबाट इम्याजिन कप जुनियर २०२२ का लागि आवेदन माग गरेको थियो, जसमा विश्वभरबाट हजारौं टिम सहभागी भएका थिए ।

इम्याजिन क जुनियरका लागि नेपालबाट सहभागी टिम ‘अराइज’ शीर्ष १० मा छनाेट हुँदै विजेता घाेषित भएकाे हाे । याे टिमले माइक्रोसफ्टबाट १२ सय डलर बराबरको डिजिटल उपकरण र उपहार पाउने छ ।

त्यस्तै कार्यक्रममा छानिएका सबै ग्लाेबल विनर (विश्व विजेता) टिमबारे फोर्ब्स म्यागेजिनले ब्लगसमेत गरेको छ ।

माइक्रोसफ्टले विश्वभरबाट सहभागी हुने विद्यार्थीलाई प्रविधि (आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ, साइबर सेक्युरिटी आदि) प्रयोग गरी विश्वका विद्यमान चुनौतीको समाधान खोजी प्रस्तुति तयार पार्ने भनेको थियो ।

इम्याजिन कमा नेपालको तर्फबाट अराइज टिममात्र सहभागी थियो । याे टिममा आमोद पौडेलकाे नेतृत्वमा शालीनकुमार धिताल, विवश बस्नेत र आयुष बञ्जाडे छन् ।

उनीहरूले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरेर एप्लिकेसनका माध्यमबाट शारीरिक अपाङ्गता भएका व्यक्तिलाई केमेस्ट्री ल्याबमा मोसन र अग्मेन्टेड रियालिटीका माध्यमबाट पहुँच पुर्‍याउन सकिने याेजना प्रस्तुत गरेका थिए ।

त्यस्तै याे टिमले विश्वका विभिन्न ग्रामीण भेगमा कसरी वैज्ञानिक अध्ययनलाई अगाडि बढाउन सकिन्छ भन्ने योजना प्रस्तुत गरेकाे थियाे ।

टेकपानासँग कुरा गर्दै टिम अराइजका लिडर आमोद पौडेलले भने, ‘माइक्रोसफ्टले आवेदन खुलाएको बेला हामीले जलवायु परिवर्तनको समस्यामा प्रविधिको प्रयोग गरी कसरी समाधान गर्ने भन्नेबारे सोचेका थियौं । तर, पछि हाम्रो योजना परिवर्तन भयो । हामीले जो मानिसहरू भौतिक रूपमा केमेस्ट्री ल्याबमा उपस्थित भएर एक्सपेरिमेन्ट गर्न सक्दैनन्, उनीहरूका लागि त्यो अनुभव कसरी दिन सकिन्छ भन्ने सोच्न थाल्यौं । करिब एक महिनाको खोज तथा अनुसन्धानपछि एआईमार्फत हामीले के-के गर्न सकिन्छ भन्ने योजना बनाएर बुझायौं ।’

सो प्रतियाेगितामा विभिन्न देशका १० समूह अन्तिम चरणमा छानिएका छन् । जसमा हङकङको अटोक्र्याब, अष्ट्रेलियाको क्लिन अप क्रियू, बेलायतको अर्थटेरियन, फिल्लिपिन्सको ह्याक्कर, चीनको न्युस्पार्क, इन्डोनेसियाको सि वेस्ट स्काभेन्जर, भियतनामको स्काईलाइन ह्यूमानिटेरियन, भारतको टिम सेन्सरी मेटाभर्स र अमेरिकाको भोरा छन् ।

विजेता घाेषित भएका हरेक टिमका सदस्यले प्रति व्यक्ति ३०० डलर पाउनेछन् ।

सो कार्यक्रममा विजेता भएका टिमले माइक्रोसफ्टसँग सहकार्य गरेर आफ्नो योजना अनुरूपका काम गर्नसक्ने बताइएकाे छ ।

‘वास्तविक जीवनमा उपयोगी हुने गरी हाम्रो योजना कार्यान्वयनमा ल्याउन माइक्रोसफ्टले सहकार्य गर्ने प्रतिबद्धता जनाएकाे छ,’ पाैडेलले भने, ‘अब छिट्टै नै हामीलाई नेपालमा रहेको माइक्रोसफ्ट समूहले औपचारिक कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गर्ने छ ।’

Microsoft-techpana-photo

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३