close

नेपाल ई-स्पोर्ट्स च्याम्पियनशिपमा फाइनल चरणको खेल हुँदै, विजेताले देशको प्रतिनिधित्व गर्न पाउने

टेकपाना टेकपाना

असार १५, २०७९ १८:२४

नेपाल ई-स्पोर्ट्स च्याम्पियनशिपमा फाइनल चरणको खेल हुँदै, विजेताले देशको प्रतिनिधित्व गर्न पाउने

काठमाडौँ । नेपाल ई-स्पोर्ट्स अशाेसियसन (नेसा) को आयोजनामा जुन १४ देखि नेपाल ई-स्पोर्ट्स च्याम्पियनशिप जारी छ । कूल पाँच विधाका खेल समावेश गरिएकाे यो प्रतियोगिताका सबै खेलको छनाेट चरण सम्पन्न भइसकेको छ ।

आयोजकका अनुसार पब्जीबाहेक सबै खेलको फाइनल खेल्ने टिमको टुङ्गो लागिसकेको छ ।

पब्जीमा अहिले पब्जी माेबाइल प्राे लिग (पीएमपीएल) लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकाे टिमसहित अन्य नयाँ टिम गरी कूल १६ टिमले सेमिफाइनलमा एक-अर्का विरुद्ध खेलिरहेका छन् । बिहीबारसम्म अन्तिम चरण (फाइनल) खेल्ने टिमको टुङ्गो लाग्ने जनाइएकाे छ ।

नेपाल ई-स्पोर्ट्स अशाेसियसनका अनुसार फाइनल खेल खेलाडीको प्रत्यक्ष उपस्थितिमा एपीवान टेलिभिजनकाे स्टुडियोमा जुलाई ७ देखि ९ सम्म हुनेछ ।

फाइनल जित्ने टिम/खेलाडीले इन्डोनेसियाको बालीमा नोभेम्बर २७ देखि डिसेम्बर ९ सम्म हुने वर्ल्ड ई-स्पोर्ट्स च्याम्पियनशिप २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । तर त्यसका लागि रिजनल क्वालिफायर (क्षेत्रीय छनाेट) जित्नुपर्ने हुन्छ, जुन दक्षिण एसियाली मुलुकबाट आएका टिमबीच हुनेछ ।

वर्ल्ड ई-स्पोर्ट्स च्याम्पियनशिप २०२२ मा भाग लिन नेपाल ई-स्पोर्ट्स अशाेसियसनले नेपाल ई-स्पोर्ट्स च्याम्पियनशिपमार्फत डोटा-२, काउन्टर स्ट्राइक गो, मोबाइल लेजेन्ड, टेकन-सेभेन र पब्जीमा खेलाडीहरु छनोट गरिरहेको छ ।

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडीले प्राइम कलेजमा बीबीए, बीएससी सीएसआईटी, बीसीए लगायतका कोर्षमा छात्रवृत्ति पाउने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३