close

उद्योग विभागको नयाँ सफ्टवेयर सार्वजनिक, अब घरमै बसी उद्योग दर्ता र नवीकरण गर्न सकिने

टेकपाना टेकपाना

असार १६, २०७९ ८:४१

उद्योग विभागको नयाँ सफ्टवेयर सार्वजनिक, अब घरमै बसी उद्योग दर्ता र नवीकरण गर्न सकिने

काठमाडौं । नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ । उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो ।

विभागलाई ‘डिजिटलाइजेसन’मा लैजाने प्रक्रियाअन्तर्गत ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) सफ्टवेयर सार्वजनिक गरिएको खबर गाेरखापत्रले छापेकाे छ ।

सो सफ्टवेयरमार्फत नयाँ उद्योग दर्तादेखि स्वीकृति लिनेसम्म अनलाइनबाटै गर्न सकिनेछ भने पुराना उद्योगको नवीकरण, अद्यावधिक, पुँजी वृद्धिलगायतका कार्य पनि गर्न सकिनेछ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवालाई आधुनिक र प्रविधियुक्त बनाउन परीक्षणका रूपमा आईएमआईएस सफ्टवेयर प्रणाली शुभारम्भ गरिएको जानकारी दिए ।

‘प्रारम्भिक रूपमा अहिले सुरु गरेका छौँ । एक/डेढ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आउनेछ,’ उनले भने ।

नयाँ उद्योग दर्ता, नवीकरण, प्रशासनिक काम, निर्यातमा नगद अनुदान, स्वदेशी विदेशी लगानी स्वीकृतदेखि विभागबाट हुने सबै काम अनलाइनबाटै गरिने उनले स्पष्ट पारे ।

परीक्षणका रूपमा काम सुरु गरिएकाले केही समस्या आए तत्काल समाधान गरिने र केन्द्रमा सफल भएपछि दोस्रो चरणमा प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयलाई एकीकृत रूपमा अनलाइनमा जोडिने उनले जानकारी दिए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घको उद्योग समितिका सभापति भरत आचार्यले अनलाइन प्रणाली कार्यान्वयन गर्न सहयोग गर्ने बताए । सरकारी कार्यालयमा सेवा अनलाइन गरे पनि कागजात लिएर कार्यालय नै धाउनुपर्ने अवस्था सिर्जना भएको उनकाे भनाइ थियाे ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले लघु तथा घरेलु उद्योगी व्यवसायीलाई सहज हुनेगरी सेवा विस्तार गर्नुपर्ने धारणा राखे । अनलाइन प्रविधिलाई आवश्यक पर्ने पूर्वाधार तयार गरी प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३