close

टेस्लाका सीईओ एलन मस्क ‘बेपत्ता’, ट्वीटर अकाउन्ट मौन

टेकपाना टेकपाना

असार १६, २०७९ १४:५२

टेस्लाका सीईओ एलन मस्क ‘बेपत्ता’,  ट्वीटर अकाउन्ट मौन

काठमाडौं । एउटा सक्रिय ट्वीटर प्रयोगकर्ता र सम्भवतः निकट भविष्यका ट्वीटर मालिक एलन मस्कले एक हप्तादेखि कुनै ट्वीट गरेका छैनन् । गत मंगलबार जन्मदिन परेका मस्क, १० करोड (१०० मिलियन) फलोअर पार गर्ने छैठो प्रयोगकर्ता बनेका छन् ।

मानिसहरूमाझ विभिन्न सवालहरू लिएर सामाजिक सञ्जाल ट्वीटरमा बढी सक्रिय हुने मस्क एक हप्तादेखि गुमनाम छन् । हालसम्म उनले ट्वीटरमा १९ हजार बढी ट्वीट गरिसकेका छन् ।

ट्वीटरमा उनीसँग सम्बन्धित कुनै कुरा आउँदा रिप्लाई गर्ने मस्क जन्मदिनमा पनि सक्रिय नहुँदा मानिसहरू अचम्मित भएका छन् । मानिसहरूले लामो समयसम्म मस्कको ट्वीट नदेखेपछि उनी एकाएक गायब भएको अनुमान गरिरहेका छन् ।

उनलाई मेन्सन गर्दै केहीले उनलाई ट्वीटरमा नदेखेकाले अचम्मित र चिन्तित भएको धाराणा राखेका छन् भने केहीले उनको ट्वीटर ह्याण्डलबाट हास्यास्पद सामग्री सम्झिरहेको भन्दै ट्वीट गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘एलन मस्क तपाईं कहाँ जानुभएको छ ? ट्विटरमा तपाईंलाई सम्झिरहेको छु ।’

एलन मस्कको स्वचालित ट्वीटर ह्याण्डल एलन जेटमा उनीले निजी जेटबाट जुन २४ मा अन्तिम फ्लाइट टेस्लाको हेडक्वार्टर भएको ठाउँ अस्टिन टेक्ससमा गरेको उल्लेख छ ।

केही मानिसहरूले उनी आफ्नो जन्मदिनमा मादक पदार्थ धेरै पिएको अनुमानसम्म गरेका छन् । तर, एलन मस्कको जीवनी लेखक एश्ली भेन्सले उनको जीवनीमा उनी धेरै मादक पदार्थ नपिउने उल्लेख गरेकी छिन् ।

त्यस्तै फोर्ब्सका वेल्थ रिपोर्टर म्याट डुरोटले एलन मस्कको सम्पत्तिमा लगातार गिरावट आइरहेको कुरा उल्लेख गरेका छन् । टेस्लाको शयेरमा भारी गिरावट आएपछि मस्कको कुल सम्पत्ति २२ अर्ब डलरमा झरेको छ ।

यही महिनामा मात्र टेस्लाको शयेर १३.७ प्रतिशतले घटेको एक्सप्रेस म्यागाजिनमा उल्लेख छ । डुरोटका अनुसार एलन मस्कले ट्वीटर खरिद गर्ने घोषणा गरेपछि उनको सम्पत्ति लगातार घटिरहेको छ । यसरी लगातार सम्पत्तिमा गिरावट आएका कारण पनि उनी ट्वीटरमा सक्रिय नभएको एक्सप्रेसमा उल्लेख छ ।

त्यस्तै हालै उनकी समलिङ्गी छोरीले लस एन्जलसको सर्वोच्च अदालतमा नयाँ लैङ्गिक पहिचान झल्काउन नाम परिवर्तन गर्न रिट दायर गरेकी छिन् । त्यही कुराको चिन्ताले उनी सामाजिक सञ्जाल ट्वीटरामा सक्रिय नभएको अनुमान गरिएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३