close

आगामी चुनावमा विद्युतीय मतदानको तयारी, साउनसम्म मसिन उपलब्ध गराउन आयोगको माग

टेकपाना टेकपाना

असार १६, २०७९ १८:२२

आगामी चुनावमा विद्युतीय मतदानको तयारी, साउनसम्म मसिन उपलब्ध गराउन आयोगको माग

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि साउन मसान्तभित्र विद्युतीय भोटिङ मसिन उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतविदेन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्दै आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गर्ने भए साउनभित्र मसिन उपलब्ध गराउन माग गरेको हो ।

आगामी निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको प्रयोग र कार्यन्वयन सम्बन्धी गठन भएको समितिले प्रतिवेदन तयार पारेको थियो ।

सो प्रतिवेदनमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोगबारे उल्लेख छ । निर्वाचन आयोगले मन्त्रिपरिषद्लाई लेखी पठाएको निवेदनमा स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन गर्न नसकेकाे अवस्थामा साउन मसान्तसम्म अन्य देशमा बनेका विद्युतीय मतदान यन्त्र प्रबन्ध गरिदिन उल्लेख गरिएको छ ।

विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भएको थियो ।

सो समितिको सिफारिस अनुसार विद्युतीय मसिनको स्पेसिफिकेसन, मेसिनको गुणस्तर चेकजाँच, विश्वसनियता परीक्षण गर्ने र त्यससम्बन्धी उठ्ने जिज्ञासा उल्लेख थिए ।

संविधान तथा संघीय कानून बमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्नसक्ने कानूनी व्यवस्था रहेको छ ।

०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छवटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्रको प्रयोग गरेको थियो । त्यस्तै २०७१ सालको संविधानसभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं र कैलाली लगायत पाँच निर्वाचन क्षेत्रमा सफलतापूर्वक विद्युतीय मतदान यन्त्रको प्रयोग गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३