close

कुलमान घिसिङ भन्छन- एक-अर्कालाई लान्छना लगाएर पोल भाडाको समस्या समाधान हुँदैन

टेकपाना टेकपाना

असार १७, २०७९ १३:१८

कुलमान घिसिङ भन्छन- एक-अर्कालाई लान्छना लगाएर पोल भाडाको समस्या समाधान हुँदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल भाडा तथा पूर्वाधार प्रयोगमा उठेको विवाद एक-अर्कालाई लान्छना लगाएर समाधान नहुने बताएका छन् ।

टेकपानाले शुक्रबार राजधानीमा आयोजना गरेको ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै घिसिङले निजी क्षेत्र र सरकारी निकायले एक-अर्कालाई दोष लगाएरभन्दा पनि आ-आफ्नो क्षेत्रबाट काम गरेर याे समस्या समाधान गर्नुपर्ने कुरामा जोड दिए ।

‘एक-अर्कालाई दोष दिएर समस्या समाधान हुँदैन । हाम्रो पूर्वाधार प्रयोग गरेर सेवा प्रदायकले इन्टरनेट सेवा प्रवाह गरिरहेका छन् । यो कुरामा उहाँहरूको पनि दुई मत छैन । हामीले पनि उहाँहरूले प्रवाह गरिरहनु भएको सेवा प्रयोग गरिरहेका छौं । यस्तोमा एक-अर्काको पूरक भएर काम गर्नु उपयुक्त हुन्छ,’ उनले भने ।

पोल भाडाको विषयमा प्राधिकरणले जायज ‘रेट’ नै तोकेको पनि उनकाे दाबी छ ।

‘हामीले ल्याएको प्रति किलोमिटर रेट पनि पैसा कमाउन होइन । पूर्वाधार विकास र सुधार गर्नको लागि ल्याएका थियौं । पछि बढी भयो भनेपछि घटाउन बाध्य भयौं । यस विषयमा थप काम गरिरहेका छौं ,’ उनले बताए ।

तर यहाँ छलफल गर्नेभन्दा पनि एक-अर्कालाई लान्छना लगाउने काम भएका कारण समस्याले समाधान पाउन नसकेकाे उनले टिप्पणी गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३