close

पूर्वाधार सहप्रयोगको कार्यविधि एक साताभित्र, घट्ला त इन्टरनेटको मूल्य ?

टेकपाना टेकपाना

असार १७, २०७९ १४:२०

पूर्वाधार सहप्रयोगको कार्यविधि एक साताभित्र, घट्ला त इन्टरनेटको मूल्य ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक साताभित्र पूर्वाधार सहप्रयोगका लागि कार्यविधि ल्याउने भएको छ ।

टेकपानाले शुक्रबार राजधानीमा गरेको ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले पूर्वाधार सहप्रयोगको कार्यविधि अन्तिम चरणमा रहेको जानकारी दिए ।

सेवा प्रदायकहरूलाई पूर्वाधार सहप्रयोगको मोडल सेवा प्रवाह गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यविधि ल्याउन लागेको उनले बताए ।

‘अबको मोडल भनेको पूर्वाधार सहप्रयोग नै हो । यसलाई कार्यान्वयन गरेर अगाडि बढ्दा पूर्वाधारको लागत पनि कम हुनेछ, जसले अन्ततः सेवाग्राहीलाई पनि सहुलियत दिनेछ,’ उनले भने ।

अहिले इन्टरनेट सेवा प्रदायकले इन्टरनेट काट्छु भने पनि, अथवा विद्युत प्राधिकरणले लाइन काट्छु भनेपनि प्रभावित हुने उपभोक्ता नै हो भन्दै उनले पूर्वाधारको कुरामा सहप्रयोगको नीति लागू गर्नुपर्नेमा जोड दिए ।

यो कार्यविधि लागू भएपछि इन्टरनेटको मूल्य पनि घट्ने, साथै तार व्यवस्थापनमा पनि सहज हुने उनको भनाइ छ ।

साथै कुनै पनि बहनामा सेवा प्रदायकले दूरसञ्चार सेवा बन्द गर्न नपाउने भन्दै उनले सम्बन्धित निकायहरूलाई सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३