close

चार्जिङ स्टेसन राख्नेलाई निःशुल्क ट्रान्सफर्मरसहित थ्री फेज लाइन दिँदै विद्युत प्राधिकरण

टेकपाना टेकपाना

असार १७, २०७९ १८:२८

चार्जिङ स्टेसन राख्नेलाई निःशुल्क ट्रान्सफर्मरसहित थ्री फेज लाइन दिँदै विद्युत प्राधिकरण

काठमाडौं । विद्युत प्राधिकरणले चार्जिङ स्टेसन राख्न चाहनेहरूका लागि आवश्यक ट्रान्सफर्मर निःशुल्क उपलब्ध गराउन थालेको छ । टेकपानाको सहजीकरणमा शुक्रबार राजधानीको होटेल र्‍याडिसनमा आयोजित ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका निर्देशक मनोज सिलवालले यस्तो जानकारी दिएका हुन् ।

“चार्जिङ स्टेसनको हकमा २०० केभीएसम्मको ट्रान्सफर्मर प्राधिकरणले निःशुल्क उपलब्ध गराउँदै आएका छ,” सिलवालले भने, “उहाँहरूलाई आवश्यक पर्ने एक डेढ किलोमिटर लाइनसमेत प्राधिकरणले नै राखिदिनेछ ।” विद्युत खपत बढाउने उद्देश्यका साथ यस्तो नीति लिइएको निर्देशक सिलवालले बताए ।

“यतिबेला हाम्रो लक्ष्य देशभित्रै विद्युत खपत बढाउनु हो,” उनले भने, “त्यसका लागि सेवा वितरण र भरपर्दो सेवामा हामी केन्द्रित छौँ । त्यसै अन्तर्गत प्राधिकरणले थ्री फेज लाइनमा हुँदै आएको ढिलाई कम गर्न अनलाइनमा रूपान्तरण गरिसकेको छ ।”

“यसले थ्रिफेज लाइन लिनका लागि आवश्यक पर्ने समय ३० दिनबाट १०–१२ दिनमा झरेको छ । सिंगल फेजको हकमा २–३ दिनभित्रै उपलब्ध गराइरहेको छौँ ।”

त्यतिमात्र नभएर यसअघि कसैले ५० केभीए भन्दा बढीको ट्रान्सफर्मर माग्दा आफैँले राख्नुपर्ने बाध्यता रहेकोमा अब भने १०० केभीएसम्मको ट्रान्सफर्मर प्राधिकरण आफैँले उपलब्ध गराउन थालेको छ । यसले आईटीसँग सम्बन्धित काम गर्ने व्यवसायलाई पनि सहयोग पुर्‍याउने उनको भनाई थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३