close

अनलाइनमा विवरण दिँदैनन् सहकारी, सफ्टवेयर चलाउन नजानेको हो वा सरकारलाई नटेरेको ?  

टेकपाना टेकपाना

असार १७, २०७९ १९:५७

अनलाइनमा विवरण दिँदैनन् सहकारी, सफ्टवेयर चलाउन नजानेको हो वा सरकारलाई नटेरेको ?  

काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारी संस्थाहरूले सरकारले व्यवस्था गरेको अनलाइन माध्यममा विवरण उपलब्ध गराउन नमानेको बताएका छन् । सहकारी संस्थाहरूले सफ्टवेयर चलाउन नजानेर सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा विवरण प्रविष्ट नगरेको भन्ने भनाईको रजिष्ट्रार पण्डितले खण्डन गरेका हुन् । 

विभागले सहकारीलाई कोपोमिसमा सामान्य विवरण मात्र प्रविष्ट गर्न आग्रह गरेको स्मरण गराउँदै उनले प्रतिप्रश्न गर्दै भने, “मोबाइलमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर चलाउन जान्ने, कोपोमिसमा विवरण भर्न नजान्ने ? कर कार्यालयमा कर चुक्ता लिनका लागि अनलाइन फारम भर्न सक्ने व्यक्तिले सहजै कोपोमिसमा विवरण भर्न सक्छन् ।’ 

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा ‘कोपोमिसमा समष्टिगत विवरण प्रविष्टिमा संघ/संस्थाहरूको भूमिका’ विषयमा आयोजना भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार पण्डितले कोपोमिसमा विवरण नभर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी पनि दिएका छन् । 

उनले सबै स्थानीय तहलाई नयाँ सहकारी संस्था दर्ता गर्दा कोपोमिसमा विवरण प्रविष्ट गरेर मात्र प्रमाणपत्र प्रदान गर्न अनुरोध समेत गरेका छन् । यसैगरी स्थानीय तहलाई व्यवसाय कर चुक्ता प्रमाणपत्र जारी गर्दा, सहकारीसँग साझेदारीमा काम गर्दा र सहकारीलाई अनुदान दिँदा पनि कोपोमिसमा अनिवार्य आवद्ध गर्न आग्रह गरेका छन् । 

यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सरकारले लागू गरेको कोपोमिसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सहकारीको वास्तविक तथ्याङ्क प्राप्त गर्न सकिने भए पनि सहकारीको तथ्याङ्क अहिले पनि अनुमानको भरमा भन्नुपर्ने अवस्था लाजमर्दो भएको अभिव्यक्ति दिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३