close

अब फेसबुकमा पनि एनएफटी पोस्ट गर्न सकिने 

टेकपाना टेकपाना

असार १८, २०७९ १३:१९

अब फेसबुकमा पनि एनएफटी पोस्ट गर्न सकिने 

काठमाडौं । ट्वीटरपछि अब फेसबुकमा पनि नन-फन्जीबल टोकन (एनएफटी) पोस्ट गर्न सकिने भएको छ । मेटाले एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै अमेरिकाका सीमित प्रयोगकर्तालाई आफ्नो डिजिटल सामग्री अर्थात एनएफटी पोस्ट गर्न अनुमति दिइएको बताएको छ ।

यद्यपि यो फिचर सबै प्रयोगकर्तामाझ कहिले आउनेछ अथवा छैन भन्ने विषयमा भने अहिले नै कम्पनीले केही बताएको छैन । यसअघि नै मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीले एनएफटी परिक्षण गरिरहेको जानकारी दिएका थिए ।

मेटाका प्रडक्ट म्यानेजर नवदीप सिंहले आफ्नो ट्वीटरमा फेसबुकको एनएफटी कसरी प्रयोग हुन्छ भन्ने विषयमा पोस्ट गरेका छन् । उनकाे पोस्ट अनुसार प्रयोगकर्ताले आफ्नो स्टाटसजस्तै गरेर आफ्ना एनएफटीहरू पोस्ट गर्न सक्नेछन् ।

अन्य प्रयोगकर्ताले भने सो एनएफटीमा क्लिक गरेर यसबारे थप विवरण लिन सक्नेछन् । सुरुवाती चरणका लागि फेसबुकले इथेरियम र पोलिगनमा भएका एनएफटीमात्र सपोर्ट गर्ने बताइएको छ ।

आउने दिनमा भने यसले सोलोना र फ्लो एनएफटी पनि सपोर्ट गर्ने कम्पनीको भनाइ छ ।

यो फिचर नेपाली प्रयोगकर्ताको लागि भने त्यति आकर्षित नहुन सक्छ । नेपाली सरकारले डिजिटल मुद्रा तथा योसँग सम्बन्धित सबैप्रकारको कारोबारमा रोक लगाएका कारण यो फिचर नेपाली प्रयोगकर्ताका उपयुक्त हुनेछैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३